+
+
Shares

माओवादी र समाजवादीका अध्यक्षबीच पार्टी एकताको छलफल, अरू बेखबर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका विषयमा आइतबार र सोमबार घनिभूत छलफल भएको छ।
  • माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले चुनौति दिएपछि दाहालले पार्टीभित्र संकट महसुस गरिरहेका छन् भने नेपालले अख्तियारले मुद्दा दर्ता गरेपछि सहज छैनन्।
  • गत माघमा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो तर एकीकृत समाजवादीले एकता नहुने प्रस्ताव पारित गरेको छ।

१३, साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाबारेमा छलफल भएको छ। आइतबार र सोमबार भेटघाट गरेका अध्यक्षद्वयले पार्टी एकताका बारेमा घनिभूत छलफल गरेको उनीहरू निकट स्रोतले जानकारी दियो।

उनीहरूले यस्तो छलफलमा पार्टीका दोस्रो तहका नेताहरूलाई भने मिसाउने गरेका छैनन। ‘यो अध्यक्षहरूको तहको छलफल हो,’ स्रोतले भन्यो, ‘उहाँहरूबीच एउटा समझदारी बन्यो भने तल पनि सर्कुलेशन होला।’

पार्टीका उपमहासचिव जनार्दन शर्माले खुलेआम चुनौति दिन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र संकट महसुस गरिरहेका छन् । समाजवादीका अध्यक्ष नेपालले पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि सहज मानिरहेका छैनन्।

सरकार परिवर्तनका लागि गरिएको प्रयास समेत असफल भएपछि दुबै नेताहरूले सरकार र प्रतिपक्षी दुवैतिरको मोर्चामा आफूलाई कमजोर ठानेकाले पार्टी एकताको प्रयासस्वरूप छलफललाई घनिभूत बनाएको एक नेताले बताए। ‘शेखर कोइरालाको पछि लागेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि उहाँहरूसँग सन्तुष्ट हुनुहुन्न,’ ती नेताले अनलाईनखबरसँग भने, ‘समाजवादी मोर्चामा पनि यी दुबै नेताबाट अभियान अघि बढाउन कुनै अपिल हुन सक्दैन भनेर विप्लवजीले भन्दै आउनुभएको छ। पार्टीभित्र र बाहिरको प्रहारबाट बच्न नेताहरूले पार्टी एकताबारे छलफल गर्दै आएका छन्।’

गत माघमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले विप्लवले नेतृत्व गरेको नेकपा, नेपाल समाजवादी लगायत पूर्व माओवादी घटकसँग तुरून्तै पार्टी एकता गर्ने र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल गर्ने निर्णय गरेको थियो।

एकीकृत समाजवादीले भने महाधिवेशनबाटै माओवादी केन्द्रसँग एकता हुन नसक्ने प्रस्ताव पारित गरेको थियो। तर केन्द्रीय कमिटी बैठकपछि कुनै पहल नगरेको भन्दै नेकपाले माओवादी केन्द्रसँग एकताको संभावना सकिएको निष्कर्ष निकालेको छ। नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाको औचित्य नभएको भन्दै विघटन गर्न प्रस्ताव गरेपछि नेताहरू झस्किएका थिए। त्यसपछि उनीहरूले पार्टी एकताको छलफललाई तीब्रता दिएका हुन्।

यसैबीच, समाजवाद मोर्चाको बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?