
१९ साउन, काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।
हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।
यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।
यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।
श्रद्धालुहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले सोमबार पशुपतिनाथका चारै ढोका खुला गर्ने गरिएको छ ।
यस वर्षदेखि साउने सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेहरूका लागि चक्रपथमा नि:शुल्क बसको व्यवस्थासमेत गरिएको छ ।
पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबार बाहेकका दिन पनि निरन्तर हुने समाजले जनाएको छ ।
प्रतिक्रिया 4