
२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मदेवारको बन्द सूचीबाट नाम फिर्ता गर्न आवेदन दिएकी कुसुम महर्जनले रुपन्देही–३ का जनताको चाहना अनुरुप रास्वपाले उम्मेदवार छान्ने प्रक्रियामा संलग्न भएको बताएकी छन् ।
रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनका लागि २१ साउन (भोलि) सम्म उम्मेदवार हुन इच्छुकले आवेदन दिन रास्वपाले खुला गरेको छ ।
समानुपातिकतर्फको बन्द सूचीमा रहेर प्रत्यक्षतर्फ उम्मेदवार हुन नसक्ने हुँदा महर्जनले निर्वाचन आयोगबाट नाम फिर्ताको लागि आवेदन दिएकी छन् ।
रास्वपाको केन्द्रीय सदस्य समेत रहेकी महर्जन रुपन्देही–३ को स्थानीय बासिन्दा हुन् । उनको घर सिद्धार्थनगर–८ मा पर्दछ ।
स्थानीय जनताहरुको आग्रह अनुसार रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन लागेको महर्जनले अनलाइनखबरसँग बताइन् । ‘केन्द्रीय नेताहरुको भन्दा पनि स्थानीयहरुको आग्रहले गर्दा उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन लागेकी हुँ’, महर्जनले अनलाइनखबरसँग भनिन्, ‘उम्मेदवार हुन इच्छा राख्ने सबैले प्रक्रियामा भाग लिनैपर्दछ । केन्द्रीय सदस्यलाई विशेष भन्ने हुँदैन ।’
रास्वपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक मतदान मार्फत छनोट गर्ने विधि बनाएको छ । उम्मेदवार नाम १५ भदौमा सार्वजनिक गर्ने कार्यतालिका रास्वपाले बनाएको छ ।
प्रतिक्रिया 4