+

टप एण्ड टी–२० सिरिज खेल्ने बंगलादेश ‘ए’ को टोली घोषणा

२०८२ साउन  २० गते १२:१८ २०८२ साउन २० गते १२:१८
टप एण्ड टी–२० सिरिज खेल्ने बंगलादेश ‘ए’ को टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश क्रिकेट बोर्डले अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिज २०२५ का लागि बंगलादेश ए टोली घोषणा गरेको छ।
  • बंगलादेश ए ले नेपालसँग १६ अगस्टमा खेल्नेछ।
  • नेपालले उक्त सिरिजमा कम्तीमा ६ खेल खेल्नेछ।

२० साउन, काठमाडौं । बंगलादेश क्रिकेट बोर्डले अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिज २०२५ का लागि बंगलादेश ‘ए’ टोलीको घोषणा गरेको छ।

बंगलादेश यस प्रतियोगितामा सन् २०२४ मा पहिलोपटक सहभागी भएको थियो र यसपटक दोस्रोपटक सहभागिता जनाउँदैछ। टोलीको नेतृत्व विकेटकिपर ब्याटर नुरुल हसन सोहानले गर्नेछन्। टोली  ७ अगस्टको साँझ ढाकाबाट अस्ट्रेलियातर्फ प्रस्थान गर्नेछ।

घोषित टोलीमा नुरुल हसन सोहान (कप्तान), मोहम्मद सैफ हसन, मोहम्मद नइम, जिशान आलम, महिदुल इस्लाम भुइयाँ, यासिर अली चौधरी, अफिफ हुसैन ध्रुवो, तुफायल अहमद, मोहम्मद मृत्युन्जय चौधरी, रकिबुल हसन, महफुजुर रहमान रब्बी, नईम हसन, मुस्फिक हसन, रिपन मण्डल, र हसन महमुद रहेका छन्। यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरू पनि समावेश छन्, जसले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

यस सिरिजमा नेपाली टोलीले पनि खेल्दै छ। त्यसमा सहभागी हुने नेपाली टोलीको पनि सोमबार घोषणा भइसकेको छ ।

नेपालसहित कुल ११ टोली सहभागी हुने यो प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। पहिलो खेल नेपालले १५ अगस्टमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।

दोस्रो खेल १६ अगस्टमा बंगलादेश ‘ए’ विरुद्ध हुनेछ, जुन बंगलादेशी टिमसँग नेपालको सीधा प्रतिस्पर्धा हुने प्रमुख खेलमध्ये एक हो। त्यसपछि नेपालले १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबार्ट हुरिकेन्स, २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।

प्रतियोगितामा नेपाल, बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), अमेरिका बाट शिकागो किङ्समेन, र अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टिमहरू — होबार्ट हुरिकेन्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एडिलेड स्ट्राइकर्स, र पर्थ स्कोर्चर्स — साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक सहभागी हुनेछन्।

प्रतियोगिताको लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् र त्यसपछि विजेता टुंगो लाग्ने फाइनल हुनेछ। नेपाल फाइनलसम्म पुग्न सफल भएमा उसले कुल ८ खेल खेल्नेछ।

नेपाली टोलीले यो प्रतियोगितालाई आगामी अक्टोबरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्दैछ ।

नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी-२०आई शृंखला खेल्दैछ ।

टप एण्ड टी–२० सिरिज बंगलादेश ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय