+
+
Shares
विचार :

माओवादीमा प्रचण्ड : झन् बलिया, झन् प्रश्नविहीन

प्रचण्ड पार्टीभित्र प्रश्न र प्रशंसाविहीन दुवै थिएनन् । उनले पार्टीलाई विधिसम्मत नचलाएको भन्दै जनार्दनले प्रश्न त उठाए, तर माओवादीको ठूलो पंक्तिले प्रचण्डमाथि प्रहार गरेर माओवादीलाई कमजोर बनाउने प्रयास बुझ्यो ।

झलक सुवेदी झलक सुवेदी
२०८२ साउन २० गते १८:३९

नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक हिजो सकियो । साउन ६ गते पुष्पलाल स्मृति दिवसका सन्दर्भमा स्कूल अफ मार्क्सिजमले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डका विषयमा उठाएका प्रश्न र लगाएका आक्षेपले माओवादी पंक्तिलाई भित्रभित्रै तरङ्गित गरेको बेला यो बैठक आयोजना भएको थियो ।

बैठकका कार्यसूची र भएका छलफलबारे आमवृत्तमा पनि चासो देखिएको थियो । राजनीतिक वृत्तमा माओवादीभित्र केही नयाँ भइपो हाल्छ कि भनेर कान टाठा गरिएको थियो । तर बैठक अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको र तत्कालका लागि अन्तरविरोधहरूलाई खरानीमुनि घुसार्न सफल भएको सन्देश दिएर सकिए जस्तो छ ।

सार्वजनिक भएका भनाइ र समाचारहरूका आधारमा यहाँ माओवादी बैठकका केही पक्षबारे सामान्य समीक्षा गरिनेछ ।

थप शक्तिशाली प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३६ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । २०४६ को आन्दोलन, २०५२ देखि २०६३ सम्मको सशस्त्र युद्ध, सात दलसँगको सम्झौता र शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका पछिल्ला वर्षहरू मूलतः उनको विचार र नेतृत्वमा माओवादी शक्ति हाँकिएको थियो ।

यसबीचमा माओवादीले अजङ्गका उपलब्धि पनि पायो, संसद्को पहिलो शक्ति बन्यो र हेर्दाहेर्दै हिउँदे खोलो सुक्दा झैं सुकेको पनि देखियो । यी अवधिमा प्रचण्डका नीति र नेतृत्वसँग असहमति जनाउँदै माओवादीका स्थापित नेताहरूको बहिर्गमनको एउटा सिलसिला पनि चल्यो।

तर जतिले छोडे पनि र जति कमजोर भए पनि माओवादी युद्ध र राजनीतिको ‘लिगेसी’ प्रचण्ड जता छन् त्यतै गयो । ‘जनयुद्ध’का उपलब्धिको जस र त्यसको बैठानपछिका राजनीतिक अपजसको भारी पनि प्रचण्डकै थाप्लोमा पर्न गए । त्यसको जे–जति नैतिक जिम्मेवारी थिए, त्यसलाई पनि उनैले बोके ।

तर उनी प्रश्नविहीन थिएनन् । प्रशंसाविहीन पनि थिएनन् । कहिले चर्को र कहिले सुषुप्त रूपमा उनको आलोचना पनि पार्टीभित्र हुने गरेकै थियो । त्यस्ता प्रश्नको मुख्य जगमा थियो पार्टीलाई विधिसम्मत ढंगले चलाउन उनले देखाएको अनिच्छा ।

स्थायी समितिको बैठक सकिंदा प्रचण्ड पार्टीमा थप शक्तिशाली बन्न पुगे । उनको पक्षमा पार्टीको मुख्य हिस्सा दह्रोसँग उभियो । कमरेड राम कार्कीलगायत केही सदस्यहरूले जनार्दनका प्रश्नलाई उचित ठहर्‍याउन प्रयास गरे पनि त्यो सार्वजनिक खपतका लागि मात्र काम लाग्यो ।

यसलाई लिएर पछिल्लो पटक पार्टीका एक जना नेता जनार्दन शर्माले सार्वजनिक रूपमा प्रश्न उठाए । त्यसका केही पृष्ठभूमि पहिले नै तयार भएको भए पनि उनले सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति चाहिं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा दिएका थिए। त्यसबाट समग्र माओवादी पंक्तिलाई उद्वेलित भएको बुझ्न सकिन्थ्यो ।

त्यसलाई पार्टीको ठूलो पंक्तिले प्रचण्डमाथि प्रहार गरेर माओवादीलाई कमजोर बनाउन गरिएको प्रयासका रूपमा बुझ्यो । उक्त कार्यक्रमका मुख्य तीन जना वक्ताले नयाँ ध्रुवीकरणका लागि पनि अपिल गरेको सन्दर्भमा जनार्दन, विप्लव र घनश्याम भूसालको नयाँ समूह बन्ने पो हो कि भन्ने अनुमान पनि चल्यो ।

स्थायी समितिको बैठकसम्म पुग्दा जनार्दनका प्रश्नहरू पार्टीलाई कमजोर बनाउन उचालिएको र यो गलत रहेको भन्ने तर्कले माओवादी पंक्तिभित्र तागत हासिल गरेको देखियो । यस्तो स्थिति बन्नुमा केही वर्षयता पार्टीभित्र जनार्दनले खेलेको भूमिका र प्रचण्डले उनका प्रति अपनाएको दृष्टिकोणले पनि काम गरेको हुँदो हो ।

स्थायी समितिको बैठक सकिंदा प्रचण्ड पार्टीमा थप शक्तिशाली बन्न पुगे । उनको पक्षमा पार्टीको मुख्य हिस्सा दह्रोसँग उभियो । कमरेड राम कार्कीलगायत केही सदस्यहरूले जनार्दनका प्रश्नलाई उचित ठहर्‍याउन प्रयास गरे पनि त्यो सार्वजनिक खपतका लागि मात्र काम लाग्यो ।

कमसेकम अहिलेलाई माओवादी आन्दोलनको ‘लिगेसी’ पनि प्रचण्डसँगै रहेको र नेतृत्वमा उनको विकल्प खोज्ने बेला पनि नभएको सन्देश दियो । यसरी बैठकले प्रचण्डलाई थप शक्तिशाली बनायो।

जनार्दनले नपुर्‍याएको ढंग

यतिबेला नेपाली समाज छटपटी र निराशामा छ । मानिसहरू लामो समयदेखि आफूले खोजे अनुसारको परिवर्तन नभएको, आर्थिक शिथिलताले परिवार परिवारलाई समस्याग्रस्त बनाउँदै लगेको, विकासको गति निकै ढिला भएको, नेता र जनताका बीच दूरी बढ्दै गएको भन्दै असन्तुष्ट छन् ।

यसका लागि आम रूपमा (कांग्रेस, एमाले र माओवादी कार्यकर्ताहरु या मतदाताहरु पनि) मानिसहरु मुख्य तीन दलका नेताहरूलाई दोष दिन्छन् । सार्वजनिक चौतारा, पाटी, चियापसल, कामका थलोहरू र सामाजिक सञ्जालमा कुरा सुन्ने जोकोहीलाई यसको छनक छ ।

नेताको आलोचनालाई आफ्नो लोकप्रियताको आधार बनाउने उद्योग पनि जारी छ । त्यो पार्टी भित्रै विकल्प निर्माण खोज्नेहरूमा पनि छ र बाहिर पनि । यस्तो स्वाभाविक पनि हो । तर पार्टी आफैंमा एउटा भीड मात्र होइन । त्यो एउटा परिवार संस्थाका भौतिक तथा भावनात्मक सम्बन्धहरू जस्तै एउटा भौतिक र भावनात्मक सम्बन्ध र संस्कृतिले बनेको हुन्छ । त्यसैले यसका विचारधारा, यसको विघटन या पुनर्गठन, नेतृत्व निर्माण र विस्थापन, झगडा र एकता, समूहहरू बन्नु र भत्कनुका केही ऐतिहासिक प्रक्रियाहरू हुन्छन् जुन त्यसको अस्तित्वसँगै निर्माण हुँदै गएका हुन्छन् ।

आम वृत्तका असन्तोष र पार्टी भित्र भिन्न मत राख्नेहरूले निर्माण गर्ने न्यारेटिभ उस्तै हुँदैनन् । विद्या भण्डारी या ईश्वर पोखरेल, जनार्दन या राम कार्की, गगन या शेखर कोइरालाले नेतृत्वलाई चुनौती दिंदा पार्टीको कमसेकम उल्लेख्य हिस्साको समर्थन हासिल गरेको हुनुपर्छ । जनार्दनले सार्वजनिक अभिव्यक्ति दिएर प्रचण्ड विरुद्ध मोर्चा खोल्दा त्यसतर्फ पर्याप्त ध्यान दिएको जस्तो देखिएन ।

जनार्दन शर्माले पार्टीले सामना गरेका चुनौती र हरेक पछिल्लो निर्वाचनमा हुँदै गएको कमजोर प्रदर्शनका लागि व्यक्ति प्रचण्डलाई दोष दिएर उनलाई कमजोर बनाउने र आफूले शक्ति आर्जन गर्ने प्रयास गरेको जस्तो देखिन्थ्यो ।

जनार्दन शर्माले पार्टीले सामना गरेका चुनौती र हरेक पछिल्लो निर्वाचनमा हुँदै गएको कमजोर प्रदर्शनका लागि व्यक्ति प्रचण्डलाई दोष दिएर उनलाई कमजोर बनाउने र आफूले शक्ति आर्जन गर्ने प्रयास गरेको जस्तो देखिन्थ्यो ।

अवश्‍य पनि यसमा अध्यक्षका रूपमा प्रचण्ड निर्णायक हुन् । त्यो पनि एकाएक भएको होइन, उहिलेदेखि थिग्रिएका समस्याको एकुमुलेसन हो विचार, नीति र संगठन सबै क्षेत्रमा । पार्टीभित्रको अन्तरसंघर्ष र विरोधले प्रचण्डलाई गलाउन नसकेपछि जनार्दनले सार्वजनिक अपिल गर्ने बाटो समातेका थिए । थपमा माओवादीले सामना गरेका समस्याका बारे पार्टी भित्र भएको बहसलाई ‘पर्सनल इगो’को विषय बनाएको जस्तो पनि देखियो ।

मेरो विचारमा चाहिं प्रचण्डमाथि प्रश्न उठाउन व्यक्तिगत आरोप र मानमर्दनको सहारा लिएर जनार्दनले गल्ती गरेका छन् । उनले चियापसलका गफहरू जस्तै प्रचण्डलाई भ्रष्टाचार गरेर लुटेको भन्दै आक्षेप लगाए । आम मान्छेले भन्ने भाषा हो त्यो, कुनै पनि दलको नेताले आफ्नो नेता मात्र होइन अर्को दलको नेतालाई पनि यस्तो आरोप लगाउँदा पर्याप्त तथ्यहरू सहित लगाउनुपर्छ ।

यस्ता तथ्यहरू राज्यको विद्यमान कानून र कानून कार्यान्वयन गर्ने निकायले प्रमाणित गरेको पनि हुनुपर्छ । उहिले २०५७ सालतिर प्रदीप नेपाललाई अगाडि सारेर एमालेले टुँडिखेलमा विशेष सभा आयोजना गरेरै वामदेव गौतमलाई एक नम्बरको भ्रष्टाचारी घोषणा गरेको थियो । त्यसको दुई वर्ष निबित्दै आरोप लगाउनेहरूले नै गौतमलाई पार्टीको उपाध्यक्ष बनाउन पुगे ।

कसैले पनि ओलीको सरकार हुँदा या ओलीले नेतृत्व गर्दा देशमा भ्रष्टचार बढ्यो भन्न सक्छ, तर व्यक्ति ओलीले भ्रष्टाचार गरे भन्ने हो भने चैं त्यसको प्रमाण दिनुपर्छ । व्यक्तिलाई दोष दिनु आम रूपमा नेताहरु भ्रष्टाचारी छन् भने जस्तो होइन भन्ने पनि उनले बुझेनन् ।

यसो गर्दा उनले मुख्यतया आफ्नो पार्टीको स्वत्वमाथि आक्रमण गरेको भनेर पार्टी पंक्तिलाई पर्न गयो । यो केवल प्रचण्डलाई दोषी देखाएर आफू चोखिन खोजेको भन्ने रूपमा आम पार्टी पंक्तिले बुझ्न जाँदा जनार्दनप्रति नकारात्मक धारणा बन्न पुग्यो । उनले आफ्नै अभिव्यक्तिले खारा मोर्चा दोहोर्‍याए ।

वास्तवमा उनले विचारधारात्मक रूपमा प्रचण्ड कहाँनिर गलत छन् भन्ने प्रश्नबाट बहस सुरु गर्नुपर्थ्यो । बैठक सकिंदा पनि जनार्दनले आफ्ना अडान नछोडेको त जनाएका छन् तर त्यसले उनलाई पार्टीमा थप सीमान्तीकरण गर्ने सम्भावना बढाइदिएको छ । सीपी मैनाली यस्तो प्रकारको दुःखान्तका जिउँदा प्रमाण हुन् ।

आफ्ना सार्वजनिक अभिव्यक्तिलाई सन्तुलित गर्न नजान्दा सीपी एमालेमा सीमान्तीकरणमा पर्दै बहिर्गमनमा पुगेका थिए र अहिले पनि राष्ट्रिय राजनीतिकै किनारामा उभिएर उँघिरहेका छन् । यो उनको इगो र शैली दुवैको परिणाम थियो कि उनलाई माया गर्नेहरु समेत आजित भएर साथ छाड्दै गएका थिए ।

माओवादी इतिहास हेर्दा पनि विभाजित भएर जाने आफैं सीमान्तीकरणमा परेका छन् । जनार्दन माओवादी केन्द्रभित्र भावी नेतृत्वका लागि सम्भावना बोकेका र युद्धको लिगेसीमा हिस्सेदारी भएका व्यक्ति हुन् । आफूलाई आफैं लगाम लगाएर बचाउनु र माओवादी केन्द्रमै बसेर भावी नेतृत्वका लागि प्रतिस्पर्धीका रूपमा तयार पार्नु उनको राजनीतिको सफल बैठान हुनसक्छ ।

विप्लवलाई उत्तर, आलोचकलाई दबाब

लामो समयदेखि वामपन्थी दलहरु विभाजन र एकताका सयौं शृंखलाबाट गुज्रेका छन् । अधिकांश समयमा नेताहरूको इगो र व्यक्तित्व टकरावका कारण विभाजन हुने गरेका वामपन्थी दलहरू हितहरू मिल्दा एकीकृत हुने गरेका पनि छन् ।

२०६८ मा प्रचण्ड बाबुराम समूहको विचारमा असहमत हुँदै विभाजित भएर मोहन वैद्य बादलहरूसँगै बाहिरिएका विप्लव पछिल्लो समय आफ्ना सारा उत्तेजना र बचकाना भड्काउबाट सम्हालिंदै एउटा सानो तर समर्पित समूहको नेता बनेका छन् । सानो भए पनि यसमा समर्पण र त्यागको मनोविज्ञान देखिन्छ ।

हतियार बिसाएको घोषणा गर्दै सार्वजनिक भएको यतिका वर्षसम्म पनि विप्लवको संगठनले गति लिन सकेको छैन । विभाजनको रोगबाट मुक्त भएको पनि छैन । यस्तो बेला उनी शक्ति आर्जनका लागि अरू वामपन्थी समूहसँग एकता या सहकार्यको प्रयास पनि गरिरहेका छन् । उनको पहिलो प्राथमिकतामा चाहिं माओवादी केन्द्र नै परेको देखिन्छ । यद्यपि, उनी समाजवादी मोर्चामा पनि छन्, एमालेका नेताहरुसँग संवादमा पनि छन् ।

प्रचण्डले विप्लवसँग एकताको प्रयासलाई संस्थागत रूप दिएर जनार्दन लगायत आफ्नो दलभित्रको असन्तुष्ट समूहलाई दबाबमा पारिदिएका छन्, एकीकृत समाजवादीभित्र आकार लिंदै गरेको ध्रुवीकरणलाई पनि एउटा सन्देश दिन खोजेका छन् ।

पछिल्लो पटक माओवादी केन्द्रसँग एकताको लागि भएका प्रयास माओवादीकै आन्तरिक कारणले अघि नबढेको भन्दै विप्लवले गुनासो पनि गरिरहेका थिए । विभिन्न फोरमहरुमा आफ्ना धारणा पनि राख्ने र एकताका लागि विकल्पहरु खोज्दै हिंडेका विप्लव भड्किन नपाउन भनेर होला माओवादी केन्द्रले उनको समूहसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय गरेछ । यो निर्णयले साकार रूप लिंदा माओवादी र विप्लव दुवैलाई राजनीतिक लाभ हासिल हुनेछ । वामपन्थीहरु ध्रुवीकृत हुनुपर्छ भन्ने आम वृत्तलाई पनि उत्साहित गराउने छ।

प्रचण्डले विप्लवसँग एकताको प्रयासलाई संस्थागत रूप दिएर जनार्दन लगायत आफ्नो दलभित्रको असन्तुष्ट समूहलाई दबाबमा पारिदिएका छन्, एकीकृत समाजवादीभित्र आकार लिंदै गरेको ध्रुवीकरणलाई पनि एउटा सन्देश दिन खोजेका छन् ।

समग्रमा जस्तो माहोलमा माओवादी स्थायी समितिको बैठक बसेको थियो त्यसले माओवादीमा विग्रहको थप सम्भावनातिर संकेत गरेको थियो । बैठकले माओवादी केन्द्रभित्र प्रचण्डलाई कमजोर बनाउने अनुमान गर्न थालिएको थियो । तर बैठक सकिएर पेरिसडाँडाबाट निस्कँदै गर्दा प्रचण्ड थप शक्तिशाली बनेको सन्देश दिएर यो बैठक सकिएको छ ।

ठीक त्यसरी नै जसरी विद्या भण्डारीको पार्टी प्रवेशलाई रोक लगाएर एमालेमा केपी ओली पछिल्लो केन्द्रीय कमिटीको बैठक पछि थप बलियो देखिएका छन् । दुवैतिरको अँगेनामा खरानीमुनि फिलिंगो सहितको तातो छ कि केवल राप बाँकी छ, त्यो भने समयले बताउला ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?