
२२ साउन, काठमाडौं । सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवाले ज्यान गुमाएको घटनामा छानबिन गर्न समिति बन्ने भएको छ ।
मृतक सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको परिवार र प्रशासनबीच आज बिहीबार सहमति भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले घटनाको छानबिन गर्न तयार रहेको बताइएपछि सहमती भएको बताए ।
उनका अनुसार घटनाबारे छानबिन गर्न समिति बनाउने सहमति भएको छ । अहिले समिति भने बनिसकेको छैन । त्यसपछि घटनामा खटिएका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई उक्त ठाउँको जिम्मेवारीबाट हटाउने पनि सहमति भएको छ ।
यो सहमति भएपछि आफन्त शव बुझ्न तयार भएका छन् । पोष्टमार्टम सकाएर आफन्तले शव बुझ्ने बताइएको छ । बुधबार दिनभर मृतकका आफन्तहरुले विभिन्न माग राख्दै राजविराजमा प्रदर्शन समेत गरेका थिए ।
नेपाल–भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरबाट भारततर्फ मदिरा तस्करी हुन लागेको सूचना पाएपछि मंगलबार राति प्रहरी पुगेको थियो । सो क्रममा झडप समेत भएको बताइएको छ । प्रहरीले चलाएको गोली लागेर लालुको ज्यान गएको थियो ।
प्रहरीले अनावश्यक रुपमा गोली चलाएकाले मृतकका पक्षले आरोप लगाउँदै आएका छन् । यता प्रहरीले भने आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरेको थियो ।
प्रतिक्रिया 4