
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको सहभागिता जम्मा ७.८८ प्रतिशत मात्र छ र नेतृत्व तहमा १९.५५ प्रतिशत महिलाहरू छन्।
- डब्लुआईआईटीको रिपोर्टअनुसार आईटी क्षेत्रमा महिलामाथि लिङ्गका आधारमा भेदभाव हुने र मार्गदर्शन गर्ने महिला रोल मोडलको कमी छ।
- आईसीटी कम्पनीहरूको ५५ प्रतिशतले मात्र महिलालाई लक्षित विशेष बिदा दिने व्यवस्था गरेका छन् र प्रसूति बिदा कानुन व्यवहारमा कमजोर लागू भइरहेको छ।
२५ साउन, काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईटी) क्षेत्र द्रुत गतिमा विस्तार भइरहेको छ । डिजिटल अर्थतन्त्र, स्टार्टअप, र टेक कम्पनीहरूको उदयले यो क्षेत्रलाई आर्थिक विकासको लागि प्राथमिकताका साथ हेरिएको छ । तर, यस क्षेत्रमा पनि महिलाहरूको सहभागिता र अवस्था सोचेजस्तो राम्रो देखिँदैन ।
‘वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी)’ को एक अध्ययनका अनुसार क्षेत्रगत हिसाबले सबैभन्दा आधुनिक मानिएको आईटी क्षेत्रले पनि महिलामाथि हुने विभेद रोक्न सकेको छैन ।
४०२ आईटी कम्पनी, ४०० प्रविधि प्रयोग गर्ने कम्पनी, ४३० महिला आईटी पेशेवर, आठवटा समूहगत छलफल र आठ नेतृत्वदायी महिलासँगको अन्तर्वार्तामा आधारित अध्ययन रिपोर्टले नेपालको आईटी क्षेत्रमा महिलाले भोगिरहेका अवसर, चुनौती, र प्रणालीगत अवरोधबारे विश्लेषण गरेको छ ।
रिपोर्टअनुसार यो क्षेत्रमा महिलालाई जागिर पाउँदा वा बढुवा हुँदा लिङ्गका आधारमा भेदभाव हुने गर्छ । उनीहरूलाई कम योग्य ठान्ने गरिएको पाइन्छ । त्यस्तै, मार्गदर्शन गर्ने व्यक्ति वा प्रेरणादायी महिला रोल मोडलको कमी यो क्षेत्रमा छ, जसले गर्दा धेरै महिलालाई यो क्षेत्रमा अघि बढ्न गाह्रो भएको देखाउँछ ।
जागिर र घर–परिवारको जिम्मेवारी एकसाथ सम्हाल्नुपर्दा धेरै महिलालाई सकस परिरहेको रिपोर्टमा देखिन्छ । यद्यपि, केही सकारात्मक कुरा पनि उक्त अध्ययनमा उल्लेख गरिएको छ । उदाहरणका लागि, तलबको कुरामा नेपालको आईसीटी क्षेत्रमा खासै असमानता देखिएको छैन । ८७.९ प्रतिशत महिलाले पुरुषले जत्तिकै तलब पाएको बताएका छन् ।
साथै, ७१.१ प्रतिशत कम्पनीले यो क्षेत्र बिस्तारै महिलामैत्री बन्दै गएको बताएका छन्, जुन लैंगिक समानताको लागि आशाको किरण हो । ‘यदि यस्तै सुधार हुँदै गयो भने, भविष्यमा यो क्षेत्रमा महिलाको स्थान अझ बलियो हुनसक्छ । अहिलेको विभेदको खाडल कम हुनसक्ने अपेक्षा गर्न सकिन्छ,’ डब्लुआईआईटी रिपोर्टमा लेखिएको छ ।
इन्टरनेटको पहुँचमै असमानता
जीएसएमए मोबाइल कनेक्टिभिटी सूचकांक २०२४ अनुसार महिलाले मोबाइल इन्टरनेट प्रयोग गर्न पाउने पहुँचमा पनि लैंगिक असमानता देखिएको छ ।
नेपालले यस सूचकांकमा महिलाका लागि ६७.२ अंक प्राप्त गरेको छ, जुन विश्वको औसत ७६.५ भन्दा कम हो ।
‘यस तथ्यांकले देखाउँछ कि डिजिटल पहुँचमा भएको यो खाडललाई हटाउन तुरुन्तै समावेशी नीति र लक्षित कार्यक्रम आवश्यक छ,’ डब्लुआईआईटीको रिपोर्टमा उल्लखे छ, ‘विशेष गरी महिलाको सूचना प्रविधिमा नेतृत्वको भूमिका बढाउन र निर्णय प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न जरूरी छ ।’
यदि यस्ता प्रणालीगत समस्या समाधान गरियो भने नेपालले लैंगिक समानता प्रवर्द्धन मात्र नभएर विश्वव्यापी डिजिटल अर्थतन्त्रमा पनि आफ्नो स्थान मजबुत बनाउने विश्लेषण उक्त रिपोर्टको छ ।
विश्वविद्यालयमा धेरै, कार्यक्षेत्रमा थोरै महिला
डब्लुआईआईटीको रिपोर्टमा उल्लेख भएअनुसार नेपालको आईसीटी क्षेत्रमा महिलाको सहभागिता निकै कम छ । आईसीटी कम्पनीहरूमा महिलाको सहभागिता जम्मा ७.८८ प्रतिशत मात्र छ, त्यो पनि मुख्य प्राविधिक जिम्मेवारीहरूमा । प्रविधि प्रयोग गर्ने अन्य कम्पनीहरूमा त झनै कम महिला सहभागिता छ । त्यस्ता कम्पनीमा केवल ०.५१ प्रतिशत महिलाहरू मात्रै काम गरिरहेका छन् ।
आईटी क्षेत्रको नेतृत्व तहमा पनि महिला कम मात्रामा छन् । यो क्षेत्रमा काम गर्ने ती ७.८८ प्रतिशत महिलामध्ये मात्र १९.५५ प्रतिशत महिलाहरू व्यवस्थापन तह वा उच्च जिम्मेवारीमा छन् ।
आईसीटी क्षेत्रमा महिलाको सहभागिता अहिले पनि विश्वभरि नै कम देखिन्छ, विशेष गरी नेपालमा यो अवस्था झन् कमजोर देखिएको हो । जबकी नेपालको कुल जनसंख्याको ५१.०२ प्रतिशत महिला छन् (केन्द्रीय तथ्यांक विभाग, २०२१) र विश्वविद्यालयमा महिलाको भर्ना दर पुरुषभन्दा उच्च छ । तर, आर्थिक रूपमा सक्रिय आईसीटी क्षेत्रमा भने महिलाको सहभागिता न्यून छ ।
‘महिलाको प्राविधिक शिक्षामा पहुँच कम हुनु, कार्यक्षेत्रमा भेदभाव, जागिर र व्यक्तिगत जीवनको सन्तुलन गर्न कठिनाई, साथै परम्परागत सोच र गहिरो सामाजिक–सांस्कृतिक मान्यताहरूले महिलालाई यो क्षेत्रमा अघि बढ्न नदिएको हो,’ रिपोर्टमा उल्लेख छ ।
युवा उमेर समूहका महिला धेरै
डब्लुआईआईटी अध्ययनले देखाउँछ-नेपालका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा कार्यरत महिलाहरूको ठूलो हिस्सा १८ देखि ३५ वर्ष उमेर समूहमा पर्छन् । यो समूहले कुल महिला आईसीटी पेशेवरमध्ये ८९.२२ प्रतिशत हिस्सा ओगटेका छन् ।
३५ वर्षभन्दा माथिको उमेर समूहमा भने महिलाको सहभागिता उल्लेखनीय रूपमा घटेको पाइन्छ । यसलाई विवाह, सन्तान पालनपोषण जस्ता सामाजिक अपेक्षासँग जोडिएको रिपोर्टमा उल्लेख छ ।
यस्तो प्रवृत्ति नेपालमा मात्र होइन, अन्य दक्षिण एसियाली देशहरूमा पनि देखिन्छ । त्यहाँ पनि सांस्कृतिक मान्यता र पारिवारिक जिम्मेवारीका कारण महिलाहरूको पेशागत यात्रा प्रभावित हुने गरेको छ, जसले उमेर बढेसँगै रोजगारीमा उनीहरूको सहभागिता घटाउने गर्दछ ।
नेतृत्वमा थोरै महिला, त्यही पनि बजारले गन्दैन !
नेपालमा उच्च तथा मध्यम व्यवस्थापन तहमा महिला कर्मचारीहरूको सहभागिता विश्वका अन्य मुलुकहरूमध्ये सबैभन्दा कम स्तरमा छ (विश्व बैंक, २०१७) । यो कुरा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा पनि लागू हुन्छ ।
यस अध्ययनकाअनुसार आईसीटी क्षेत्रमा कार्यरत महिला पेशेवरहरू जम्मा ७.८८ प्रतिशत छन्, र तीमध्ये पनि मात्र १९.५५ प्रतिशत महिलाहरू उच्च तहको जिम्मेवारी (प्रबन्धक वा शीर्ष पद) मा कार्यरत छन् ।
आईसीटी क्षेत्रमा पनि शीर्ष प्राविधिक पदहरूमा पुरुषलाई प्राथमिकता दिने गरेको देखिन्छ, जसले गर्दा महिलासँग उस्तै सीप र ज्ञान हुँदा पनि पछि पार्ने गरिएको रिपोर्टमा उल्लेख छ ।
सबैभन्दा दुखद् पक्ष त नेतृत्वको जिम्मेवारीमा पुगेका महिलाहरूले पनि बाह्य वातावरणबाट खासै मान्यता नपाएको अनुभव सुनाएका छन् । विशेष गरी उच्च तहका सरकारी अधिकारी वा राजनीतिज्ञहरूसँगको अन्तरक्रियामा महिलाहरूले अझै पनि परम्परागत सोच र पूर्वाग्रहको सामना गर्नुपरेको बताइएको छ ।
यो समस्या विश्वव्यापी रूपमा पनि आईसीटी क्षेत्रमा देखिन्छ । जस्तै, डिजिटल व्यापार नीतिमा महत्वपूर्ण भूमिका खेल्ने चिफ इन्फरमेसन अफिसरमध्ये विश्वभरि मात्र ११ प्रतिशत महिलाहरू छन् । ‘नेपालका व्यक्तिगत महिला आईसीटी पेशेवरहरूको तथ्यांकअनुसार अनुसार पनि केवल १३.५ प्रतिशत महिलाहरू मात्र कार्यकारी, निर्देशक वा वरिष्ठ व्यवस्थापक तहमा पुग्न सफल भएका छन्,’ रिपोर्टमा उल्लेख छ ।
२०.९५ प्रतिशत महिला स्नातकोत्तर
आईसीटी क्षेत्रमा कार्यरत महिलाहरूको शैक्षिक योग्यता हेर्दा, ६७.११ प्रतिशत महिलाहरूले स्नातक तह पूरा गरेका छन् भने २०.९५ प्रतिशत महिलाहरूले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।
तर, थाइल्यान्ड र फिलिपिन्सजस्ता देशहरूमा प्रविधि क्षेत्रमा महिलाको शैक्षिक सहभागिता अझै उच्च देखिन्छ । ती देशमा प्रविधिमा स्नातक गर्ने महिलाको प्रतिशत ४८ प्रतिशत रहेको छ (बीसीजी, २०२०) ।
यसबाट देखिन्छ कि नेपालमा महिलाहरूको शैक्षिक योग्यता राम्रो भए पनि क्षेत्रीय स्तरका अगुवा देशहरूजस्तो बनाउने सम्भावना अझै बाँकी छ । त्यसैले आईसीटी क्षेत्रमा अझ धेरै महिला विद्यार्थीलाई प्रोत्साहन गर्न जरुरी देखिएको यस अध्ययनले देखाएको छ ।
क्षेत्रीय असमानता
यो अध्ययनले नेपालका ७७ मध्ये ३५ जिल्लालाई समेटेको थियो । तर, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को पहुँच र रोजगारीमा क्षेत्रीय असमानता अझै कायम छ, जुन दक्षिण एसियाका धेरै देशहरूमा देखिने साझा समस्या हो ।
शहरी क्षेत्रमा आईसीटीका अवसरहरू बढी हुने भएकाले त्यहाँ पेशेवरहरूको जमघट देखिन्छ, जबकि ग्रामीण क्षेत्रहरूमा महिला र पुरुष दुवैको सहभागिता कम देखिन्छ ।
शहर र गाउँबीचको यो खाडल अझै ठूलो चुनौती बनेको उक्त अध्ययनको ठहर छ । अन्य देशहरूले यस असमानता घटाउन नीति निर्माण र पूर्वाधार विकासमार्फत सुधार ल्याउने प्रयास गरिरहेका छन् । ‘नेपालमा पनि यस्तो प्रयास आवश्यक छ, ताकि गाउँका जनताले पनि डिजिटल अवसरमा समान पहुँच पाउन सकून्,’ अध्ययनमा समेटिएको छ ।
दलित महिलाको न्यून सहभागिता
नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा कार्यरत महिलाहरूको जातीय विवरण हेर्दा, सबैभन्दा धेरै ४४.८८ प्रतिशत महिलाहरू ब्राह्मण÷क्षेत्री समुदायका छन् । त्यसपछि ४२.४६ प्रतिशत जनजाति महिलाहरू छन् । दलित समुदायबाट भने जम्मा ५.३९ प्रतिशत महिलाहरूको प्रतिनिधित्व देखिन्छ ।
छिमेकी देशहरूको तथ्यांक हेर्दा पनि, सीमान्तकृत समुदायहरूले आईसीटी क्षेत्रमा पेशागत रूपमा सहभागी हुन विभिन्न प्रणालीगत अवरोधहरू झेल्नु परेको देखिन्छ । जसको कारण उनीहरूको उपस्थिति न्यून रहेको यस अध्ययनले देखाएको छ ।
प्रसूतिमा पनि पाउँदैनन् सहज विदा
नेपालका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कम्पनीहरूमा महिलालाई लक्षित गरेर छुट्टै बिदा दिने व्यवस्था सबै ठाउँमा छैन । अध्ययनअनुसार ५५ प्रतिशत कम्पनीहरूले महिलाका लागि विशेष बिदा दिने गरेका छन् भने ४५ प्रतिशत कम्पनीमा त्यस्तो सुविधा छैन ।
विशेष बिदा दिने कम्पनीहरूमध्ये सबैभन्दा धेरैले महिनावारीको समयमा ‘लचिलो काम गर्न दिने’ व्यवस्था गरेका छन् (८७.५ प्रतिशत) । तर, यस्तो सुविधा भए पनि केवल १६.३ प्रतिशत महिलाहरूले मात्र यसबाट लाभ लिएका छन् । यसले देखाउँछ कि कानुनमा महिलामैत्री व्यवस्था भए पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन ।
प्रसूति बिदाको हकमा पनि अवस्था मिलिजुलो छ । अध्ययनअनुसार ३८ प्रतिशत कम्पनीहरूले ४५–६० दिनको तलबसहित बिदा दिने गरेका छन् । त्यस्तै, २५.७ प्रतिशत कम्पनीले ४५ दिनभन्दा कम मात्र छुट्टी दिन्छन् भने कानुनले तोकेको ९८ दिनको पूर्ण तलबसहित बिदा दिने कम्पनी त केवल ५.९ प्रतिशत मात्र छन् । यसले प्रसूति बिदा कानुनमा भए पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको देखाउँछ ।
त्यस्तै, पितालाई सन्तान जन्मेको बेला दिइने सुत्केरी स्याहार विदा पनि लैंगिक समानताका लागि आवश्यक मानिन्छ । तर, अध्ययन अनुसार ३४.७ प्रतिशत कम्पनीले कुनै यस्तो विदा नै दिएका छैनन् । ३४.२ प्रतिशत कम्पनीले १५ दिनभन्दा कम बिदा दिएका छन् भने ३१.१ प्रतिशत कम्पनीले मात्रै कानुनी रूपमा तोकिएको १५ दिनको बिदा दिएका छन् ।
‘नयाँ पुस्ताका महिलालाई ‘करिअर काउन्सिल’ आवश्यक छ’
नेपाल दूरसञ्चार प्राधिकरणकी निर्देशक एवं गर्ल्स इन आईसीटी नेपालकी संयोजक रोशा किरण बसुकलाले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महिलाको सहभागिता बढाउन आवश्यक रहेको बताउँछिन् । आफूहरुले यो रिसर्चको लागि काम गर्दा पनि महिलाको संख्या एकदमै कम र नेतृत्व तहमा पुर्याउन अझ नचाहने प्रवृति व्यापक रुपमा देखेको उनको भनाइ छ ।
‘हामीले अस्ति फेब्रुअरीमा यो रिपोर्ट निकाल्यौँ । यसले महिलाको सहभागिता यो आइटी क्षेत्रमा धेरै कम रहेको पायौँ । भएकालाई पनि त्यति विश्वास नगर्ने, शंकाको दृष्टिले हेर्ने प्रवृत्ति धेरै छ। जुन दुखद कुरा हो,’ उनी भन्छिन् ।
तर, अब महिला सहभागिता यो क्षेत्रमा बढाउन सबै तहबाट काम थाल्न ढिला गर्नुनहुने उनको तर्क छ । यसको लागि नयाँ पुस्ताका महिलालाई ‘करिअर काउन्सिल’ गर्न आवश्यक रहेको उनी औँल्याउँछिन् ।
‘कोडिङदेखि अन्य आईटीका तालिम दिएर महिलालाई यस क्षेत्रमा आउन प्रोत्साहन दिनुपर्छ । त्यसका साथै प्राविधिक शिक्षामा छात्रवृत्ति, ग्रामीण क्षेत्रमा डिजिटल पूर्वाधार, र महिलामैत्री नीतिको कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनी थप्छिन्, ‘पहिला कसरी महिलालाई यता आकर्षित गर्ने भनेर काम गर्नुपर्छ । सँगसँगै यस क्षेत्र भित्रको माहोल महिलामैत्री कसरी बनाउने भन्नेमा पनि उत्तिकै सचेत हुन आवश्यक छ । यी प्रयासले मात्र कानुनमा उल्लेख भएझैँ नेपालको आईटी क्षेत्रमा लैंगिक समानता र समावेशीको आधार बलियो बनाउनसक्छ।’
यस्तै यो रिसर्चमा नेतृत्वदायी भूमिका खेलेकी अमृता शर्मा आफूहरूले महिलाको मुख्य चुनौती भनेको परिवार र करियरको सन्तुलन मिलाउनु देखेको बताउँछिन् । ‘अझ प्रविधिको क्षेत्रमा निरन्तर अपडेट रहनुपर्ने दबाबले महिलालाई पछाडि धकेल्छ, किनभने समय दिन त्यति भ्याइरहेका हुँदैनन्,’ उनी भन्छिन्, ‘त्यसैले यो समस्या समाधान गर्न र सहभागिता बढाउन सबैले हातेमालो गरेर काम गर्नुपर्छ।’
स्कूलदेखि नै किशोरीलाई प्राविधिक शिक्षामा प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ ।
‘प्राविधिक शिक्षामा जोड दिनुपर्छ । स्कूलदेखि नै किशोरीलाई प्राविधिक शिक्षामा प्रोत्साहन गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यसबाहेक हाल कार्यरत महिलालाई अपस्किलिङ र रिस्किलिङ तालिम दिनुपर्छ । राम्रा इन्जिनियरहरू पनि आफू अनुकुल नहुने ठाउँमा काम गर्न बाध्य छन् । उनीहरूलाई सही भूमिका र अवसर दिनुपर्छ ।’
समग्रमा हेर्दा, महिलालाई लक्षित गरेर बनाइएका नीति र सुविधा केही हदसम्म भए पनि व्यवहारमा पूर्ण रूपमा लागू हुन नसक्दा महिलाको कार्यस्थलमा अनुभव अझै पनि असहज र अपुरो देखिन्छ । महिलामैत्री नीति र लचिलो कार्य व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र आईसीटी क्षेत्र सबैको लागि सुरक्षित, समान र समावेशी बन्नसक्ने यस अध्ययनको निष्कर्ष छ ।
प्रतिक्रिया 4