+
+
Shares
विचार :

सत्तामा बस्नु मात्रै राजनीति हो ?

बेलायती राजनीतिकर्मी रोरी स्टेवार्टको कथनले मलाई दाङका बस्तीहरूले भोगिरहेको उपेक्षासँग साक्षात्कार गर्न झन् सजिलो पारिदियो । जनतामा उपस्थित भएर होइन सुकिला स्क्रिनमा प्रस्तुत हुनुलाई नै राजनीति ठान्ने सत्तामुखी मानसिकता माथि झन् बढ्ता प्रश्न गर्न मन लाग्यो ।

क्रान्तिशिखा क्रान्तिशिखा
२०८२ साउन २३ गते ९:५६

गत महिना आफू हुर्केको दाङका बस्तीहरू चहार्न मन लाग्यो । अघिपछि पनि दाङ गइरहेकै थिएँ तर यसपल्टका अनुभूतिहरू केही भिन्न थिए । हामी सबैलाई थाहा छ– माओवादीले चलाएको सशस्त्र युद्ध कालमा दाङ रणनीतिक केन्द्र बन्न पुग्यो । राप्ती उपत्यकाले सयौं गोप्य बैठकहरू देख्यो । भूमिगत क्रान्तिका पाइला निस्किए, सपना र बन्दुक एकैचोटि  जन्मिए । एकले उज्यालो खोज्थ्यो, अर्काले अँध्यारोलाई चुनौती दिन्थ्यो ।

जहाँ आशा हतियार जस्तै धारिलो थियो, परिवर्तन कुनै भाषणको विषय थिएन, जीवनको अनिवार्यता थियो । हरेक कान्ला र बाटोले क्रान्तिका पाइला चिनेका थिए । हरेक रातले बाँच्नुपर्ने साहस माग्थ्यो । जनताको हृदयमा व्यवस्थाप्रतिको वितृष्णा थियो, भविष्यप्रतिको विश्वास पनि त्यतिकै बलियो थियो ।

पानी र माटो एउटै देशको भए पनि, पीडा र पहिचान सधैं एउटै इतिहासले व्याख्या नगर्ने रहेछ । भिन्न–भिन्न भूगोलको स्वरूप भए पनि उपेक्षाबाट उम्रिने सामूहिक पीडा, आक्रोश र आशाका आकुलताहरू अक्सर साझा हुने रहेछ ।

दशकौंसम्म दाङले राजनीतिक रूपान्तरणको आशा बोकेको थियो गाउँ–गाउँबाट विद्यार्थी आन्दोलनमा हिंडेका पाइला, भूमिहीनका रुँदै लेखिएका निवेदन र आकाशमा हल्लिएका झन्डाहरू सबैले परिवर्तनको आकांक्षा बोकेका थिए । तर आज उही दाङ, जुन कहिल्यै झुकेन, एक अघोषित आत्मसमर्पणको बाटोमा छ । यो आत्मसमर्पण स्वाभिमानको होइन, थकाइको हो । यो प्रतिकारको होइन, उपेक्षासँग लड्न नसक्ने थकित भावनाको  हो ।

दाङ, बेलझुण्डीको चियापसलमा बसेर संसार बुझिरहेकी महिलालाई मैले नजिकैबाट अनुभूति गरें । उनलाई थाहा छ पानी कहिले आउँछ, बत्ती कहिले जान्छ, ग्राहक कहिले झुल्किन्छन् । उनीसँग अनुभवको योजना छ, संघर्षको कार्यान्वयन र आशाको रणनीति छ । तर उनी राज्यको लागि एउटा ‘अनौपचारिक अर्थतन्त्र’ हुन् ।

राज्यका नीति–निर्माताहरूका लागि उनी आँकडामा अटाउँदिनन् तर उनले तिनका प्रचारहरूलाई आफ्ना छोरीका किताबहरूको मूल्यसँग तिनको बजेट भाषण मिलाएर हेर्दैछिन् । उनी आफ्नो पसलसँगै एउटा समाज पनि चलाइरहेकी छन् जहाँ सपना, श्रम र स्वाभिमान तीनै कुरा तातो चिया जस्तै उम्लिरहेछन् ।

त्यसैले त नक्शामा रङ्गीन रेखाहरूले बनाएका सिमानाहरूले यथार्थको सम्पूर्ण कथा कहिल्यै भन्नै सक्दैनन् । राजनीतिक मञ्चमा भौगोलिक उपस्थिति भन्दा सञ्चारमुखी छवि निर्माण प्रमुख भएपछि यो समस्या विकराल हुने रहेछ ।

ठूल्ठूला नक्शाहरू कागजमा त फस्टाए, तर ती न त गोठको ओत लाग्ने छानोमा झरे, न त बाँझो खेतको डिलमा टेके । शहरले ज्वरो मापन गर्न यन्त्र पाए पनि, गाउँ अझै पनि निधारको तापले निर्णय गर्छ, त्यहाँ थर्मामिटरभन्दा अनुभूतिको स्पर्श अझै विश्वसनीय छ ।

कुनै भूगोल हिमालको चिसोमा कठोरता बोक्दै बाँचेको छ, कुनै तराईको घाममा पसिना झारेर जीवनलाई थामेको छ । यी  केवल माटोका टुक्रा होइनन् उपेक्षाले कुँदिएका साक्षी हुन्, यी माटोले चोट बोकिरहे, तर केन्द्रले ती घाउहरू सधैं बिर्से झैं गरे । न सुने न स्वीकारे ।

खासमा ती महिला त एउटी प्रतीक मात्रै हुन् संरचनागत उपेक्षाकी । मैले धेरै स्थानीय अग्रज अनि समकालीनहरूसँग संवादमा जे पाइरहेको थिएँ त्यसले मलाई बदलिएको समयको नबदलिएको यथार्थसँग अमिलो साक्षात्कार गराउँदै थियो । र राजनीति प्रतिका आफ्ना विगतदेखिका बुझाइहरूमाथि प्रश्न पनि एकसाथ उब्जाइरहेको थियो ।

यो देशको धेरै ठाउँमा सत्ताले बारम्बार बिर्सेका जनताको सम्झना अझै माटोले सँगालिरहेको छ । यी सङ्घर्षहरू केवल अतीतका घाउ होइनन्, भविष्यका तरङ्ग हुन् जसले परिवर्तनको गति बोकेका छन् । ती चेतनाहरू हुन्, जसमा परिवर्तनको सास चलिरहेको छ र त्यही सासको आहट सुनिन्छ ।

मुलुकका विविध सामाजिक, भौगोलिक र आर्थिक अनुहारहरू एउटै आवाजमा गुन्जिरहेका छन्, तर ती आवाजहरूमा समाहित पीडा, अपेक्षा र निराशा संरचनागत असमानता र राज्यको सीमित पहुँचले अझै टुक्रिएका छन् । यी केवल स्थानीय चीत्कार होइनन् यी त विस्थापन र विस्मरणका, सपना र संग्रामका साझा राष्ट्रिय सन्देश हुन् ।

जस्तै २०४६ सालको जनआन्दोलनमा दाङका युवाहरूले उठाएका ढुंगामुढा केवल विरोधका हतियार थिएनन्, ती निरंकुशताको दरबार हल्लाउने जनआक्रोशका प्रतीक थिए । उनीहरूको गलाबाट निस्किएको ‘लोकतन्त्र’को नारा पहाड चिरेर राजधानीसम्म गुञ्जियो, जहाँ सिंहासनहरू काँप्न थाले ।

२०६२/६३ को दोस्रो आन्दोलनमा काठमाडौंको विरोधलाई दाङ जस्तै अनेकौं जिल्ला र गाउँको बलिदानले थाम्यो । जसले कुनै शीर्षक खोजेनन्, उनीहरूले आन्दोलनको मेरुदण्ड बनेर रक्त स्नानको कथामा आफ्नो नाम लेखे ।

उपेक्षा, बेरोजगारी र सामाजिक असमानता आज कुनै एक क्षेत्रमा मात्र सीमित छैन सबै खाले भूगोलहरूमा समान रूपमा व्याप्त छ । यो क्रमश: स्पष्ट हुँदैछ देशका विविध भूगोल र संस्कृतिमा राष्ट्रिय चेतनाको एउटै धुन घन्किरहेको छ, जहाँ भिन्नता हुँदाहुँदै पनि समानता खोज्ने आकांक्षा दिनप्रतिदिन गहिरिंदै गएको छ ।

राज्यले ती अनुहारहरूलाई छायाँमा धकेल्यो जहाँ भोलिको सत्ता र स्वरूपबारे बहस हुन्थ्यो । संविधान बने, सरकार फेरिए, तर दाङ फेरि पनि उही पङ्क्तिमा उभिइरह्यो, जहाँ न्याय आउँदैन, केवल प्रतीक्षाको लामो छायाँ मात्र बाँकी रहन्छ । आज ती आन्दोलनमा होमिएका अधिकांश अनुहारहरू गुमनाम छन् उनीहरूले सिर्जेको नयाँ युगको दस्तावेजमा उनीहरूको नाम कतै उल्लेख  छैन ।

गाउँ–गाउँबाट उठेका विद्यार्थी आन्दोलनका पाइला, भूमिहीनका रुँदै लेखिएका निवेदनहरू र आकाशमा हल्लिएका झन्डाहरूले एउटा नयाँ बिहानको सपना देखाएका थिए । तर आज त्यो सपना अघोषित आत्मसमर्पणतर्फ लम्किरहेको छ । यो आत्मसमर्पण स्वाभिमानको होइन थकाइको हो । प्रतिकारको होइन उपेक्षासँग बारम्बार हारिरहेको, थकित भावनाको स्वीकारोक्ति हो ।

देशका हरेक इँटामा, पसिनाको हरेक थोपामा जनताको श्रमको हस्ताक्षर अङ्कित छ । उनीहरू नै हुन्, जसले भोलिको मुलुकका लागि आजै असम्भव जस्तो श्रम दिए, तर जब जीवन साँझतिर ढल्किन्छ, त्यही विवरणहरू उनीहरूलाई बिर्सिए झैं गर्छ । जो श्रमको मेरुदण्ड बने, अन्तत: तिनकै कथा तथ्याङ्कको पृष्ठमै हराएको जस्तो भयो ।

ठूल्ठूला नक्शाहरू कागजमा त फस्टाए, तर ती न त गोठको ओत लाग्ने छानोमा झरे, न त बाँझो खेतको डिलमा टेके । शहरले ज्वरो मापन गर्न यन्त्र पाए पनि, गाउँ अझै पनि निधारको तापले निर्णय गर्छ, त्यहाँ थर्मामिटरभन्दा अनुभूतिको स्पर्श अझै विश्वसनीय छ ।

होर्डिङ बोर्डमा, भाषणमा अनि योजनामा तर त्यो रङ्ग गाउँको छानामा विकासको रङ्ग मोफसलको चोकसम्म त आउँछ । तर पहाडका पाखामा गुन्जिने अभाव र तराईका भित्री टोलमा बस्ने निराशा उस्तै छन्, स्वरविहीन तर अस्तित्वको पीडा प्रकट गर्ने  विक्षिप्तता ।

यहाँ सवाल कुन ठाउँको हो भन्ने होइन, सवाल पीडाको हो जो भूगोलले होइन, बेवास्ताले समान बनाएको साझा सत्य हो ।

आमाले दूधे बच्चा लिएर स्वास्थ्य चौकी पुग्न दुई घण्टा उकालो हिंड्नुपर्ने विवशता अर्कै छ, किशोरीले किताबको ठाउँमा दाउराको भारी बोक्दै बाल्यकाल गुमिरहेको बाध्यता आफैंमा विघ्न छ, युवा पुस्ता देश प्रेमको गीत गाउने स्वप्न भन्दा पहिले वैदेशिक रोजगारको फारम भर्न बाध्य छन्, यस्तो देख्दा बुझ्नुपर्छ; यो पीडा कुनै एउटा भूगोलको होइन समग्र देशको सामाजिक संरचनाको हो, जसले झकझक्याइरहेका छन् । यी सामाजिक संरचनामा गाँसिएका असमानताका हुन् ।

विद्यालयका घण्टीहरू तिनकै श्रमले बजेका छन्, भन्सारका ढोका तिनकै पसिनाले खुलेका छन्, बजारका रफ्तार तिनकै पाइलाले चलेका छन् । इतिहासको निष्ठुरता त यही हो, विकास सधैं तिनकै नाममा लेखिन्छ तर कहिल्यै तिनको जीवनमा आइपुग्दैन ।

जसले देश बोकेको छ, उसकै कथा संसद्को मञ्चमा हराएको छ ।  यी समाजका मुख्य पात्रहरू संसद्को भव्य मञ्चमा अपरिचित बनेका छन् । करको बोझ तिनमाथि यथावत् छ । महँगी र भाडाको घाँटीमा बाँधिएको डोरीले दैनिक जीवन साँघुरो कोठा जस्तै बन्दै गएको छ जहाँ श्वास फेर्न पनि अब झ्याल खोज्नुपर्छ । त्यो पनि खुल्ने ग्यारेन्टी छैन ।

यस्तो सामाजिक असमानता, आर्थिक शोषणले मुलुकको आधारभूत संरचनामा भूकम्प ल्याइरहेको छ, जसले भविष्यलाई अझ अनिश्चित र ध्वस्त पारिरहेको छ ।

रोजगारीको सूचीमा उनीहरूको नाम कहिल्यै अटाउँदैन, तर बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म उनीहरू श्रमिक, शिक्षक, व्यवसायी पनि हुन् ! आमा हुन्, बुबा पनि हुन् । हरेक बिहान उनीहरू आफ्नो शरीर, चुलो चौका, समाज र कहिलेकाहीं आफ्नै सपनासँग लडिरहेका हुन्छन् ।

राज्यका कागजमा उनीहरू ‘अनौपचारिक’ श्रेणीमा वर्गीकृत छन्, तर जीवनको सबैभन्दा औपचारिक, गम्भीर र निर्णायक जिम्मेवारीहरू उनीहरूकै काँधमा छन् । तर यी जनताको पसिनामा बनेका सपना राजनीतिक नक्शामा देखिंदैनन् । ‘स्थानीय योजना’ भनिने हरेक कोसेली ठूलो भाषणको छायाँमा हराउँछ, अनि धैर्यको नाममा राज्यले यी स्रोतहरूलाई बिर्सन्छ मानौं जनता केवल प्रतीक्षा गर्नको लागि जन्मिएका हुन् ।

बेलायती राजनीतिज्ञ रोरी स्टेवार्टद्वारा लेखिएको हाउ नट् टु बी अ पोलिटिसियन पुस्तक जीवन्त राजनीतिक यात्राको साक्षी हो । उनले लेखेका छन्– पोलिटिक्स इज नो लंगर अबाउट बिइङ प्रेजेन्ट, इट्स अबाउट बिइङ प्रोजेक्टेड । अर्थात् राजनीति अब जनताको बीचमा उपस्थित हुने होइन, स्क्रिनमा देखिने र ब्रान्ड हुने अभ्यास बनेको छ । रोरीले आफ्नै राजनीतिक जीवनमा यो परिवर्तन नजिकबाट देखे जहाँ नेताहरू संसद्भन्दा क्यामेराको फ्रेममा रमाइरहेका थिए, र सेवाभन्दा प्रस्तुति महत्वपूर्ण बन्दै गएको थियो ।

 उनले सत्ता र सेवा बीचको दूरी गहिरो रूपमा महसुस गरे । उनी इराकदेखि बेलायतसम्म जनताको नजिक हुने नेता थिए, तर जब उनले बुझ्न थाले कि राजनीति अब ‘उपस्थिति’ होइन ‘प्रस्तुति’ मा सीमित हुँदै छ, उनले सत्ता होइन, सत्य रोजे र रङ्गमञ्चबाट ओर्लिए । उनी अभिनय गर्न आएका नेता थिएनन् । उनी सेवक बन्न चाहन्थे, तर त्यो ठाउँ सेलिब्रिटी बन्ने चक्रव्यूह जस्तो बन्दै गइरहेको थियो ।

अहिले जनता बीचबाट उठेको प्रश्नले सिङ्गो व्यवस्थालाई कठघरामा ल्याइरहेको छ ‘तपाईंहरू चुनाव जितिरहनुभएको छ, तर हामी किन हरेक दिन हारिरहेछौं ?’ यो प्रश्न केवल गुनासो होइन, यो त्यस्तो घाउ हो जसले हरेक दिन जनताको आत्मसम्मान र आशालाई रेटिरहेको छ ।

युद्धग्रस्त इराकको रगताम्य भूमि र बेलायतका चिसा गल्लीहरूमा हिंड्दा उनले जनता भेटे र ती जनतासँगै जीवनको यथार्थ भेटे । तर जब उनी वेस्टमिन्स्टर भित्र छिरे, उनले केवल पर्दा भेटे सत्ताको अभिनय, स्क्रिप्ट पढ्ने नेता र देखावटी प्रतिबद्धताहरू । जहाँ सत्य लुकाइन्थ्यो र अभिनय देखिन्थ्यो ।

भलै उनी नेता थिए, तर बोलाइ जनता जस्तै थियो, बुझाइ झन् अझ गहिरो थियो । उनी बोल्दा भाषण होइन, मन बोल्थ्यो जसमा न नाराको गर्जन हुन्थ्यो, न वाक्यको सजावट, केवल अनुभूतिको साँचोपन हुन्थ्यो । जनताको दु:खेसोले ढोका ढकढक्याउँथ्यो, र उनी हरेक चोटलाई आफ्नै शरीर जस्तो महसुस गर्थे । ‘नेता’ समृद्ध मुलुकको होस् या सङ्घर्षशील भूमिको मानिसको पीडा बुझ्ने भाषा त एउटै हुन्छ भन्ने कुरामा उनले जीवनैपिच्छे दस्तखत गरे ।

चुरे संरक्षणका योजनाहरू सिंहदरबारका फाइलमा मुस्कुराइरहेका छन्, तर चुरेका खोलाहरू मधेशका बस्ती बगाइरहेका छन् । त्यो खोलामा बगेको पानी होइन, उपेक्षाको बहाव हो । जो राज्यको नजरमा कहिल्यै बाँधिन सकेन । मधेशलाई हेर्‍यो उस्तै बिझाउँछ, एकातिर वर्षामा घर बगाएर लैजान्छ, अर्कोतिर हिउँद लाग्छ, अनि किसानहरू बाल्टिन बोकेर सुख्खा खोल्सामा पानी खोज्दै हिंड्छन् । खेतीको बेलामा आकाश हेरेर पानी माग्नुपर्छ, राति ओछ्यानमा निदाउनु अगाडि पानीको चिन्ता गर्नुपर्छ । मधेशका किसानहरूका लागि ‘सिंचाइ सुविधा’ एउटा सरकारी शब्दजाल हो, जुन संसद्मा बजेटसँगै बग्छ, तर गाउँघरमा धूलोसँगै हराउँछ ।

आज नागरिकहरूले नेताहरूलाई देख्छन्, तर महसुस गर्न सक्दैनन् । भूगोल देखिन्छ, तर त्यसमा भावना छैन । योजनाहरूको घुइँचो छ, तर साथ र सरोकारको आभास छैन । यस्तोमा रोरी स्टुवार्टको चेतावनी हामी  र नेपाली समाजका लागि दर्पण हो ।

हामीलाई आज राज्यको छायाँ मात्रै होइन, त्यसको जीवित उपस्थिति चाहिएको छ । गहिरो विश्वास र भरोसाको अनुभूति चाहिएको छ । बाचा होइन, विश्वास चाहिएको छ । बनावटको झल्को होइन, प्रत्यक्ष सहभागिता, आत्मीयता र जनताको सामीप्य चाहिएको छ ।

यी भूभागहरू नै मुलुकको भविष्यको गति निर्धारण गर्ने आधार हुन् ।  राज्यले यो आवाज समयमै सुन्न सकेन भने ठूलो विग्रह अपरिहार्य छ । यो अवस्था केवल एउटा जिल्लाको होइन, यो मुलुकको सामूहिक बेहोशी हो । बोल्न छोडेको समाजमा दबाब हुन्छ । दबिएको जनसत्ता, दबिएको सम्भावना ।

इतिहासले यी गाउँहरूलाई बारम्बार परिवर्तनको प्रवेशद्वार बनायो, तर राज्यले सधैं अन्तिम सन्देशवाहक बनायो । यी विकासको पोस्टर हुन्, शून्य प्रतिबद्धताको दृष्टान्त पनि हुन् । यो पनि राज्यले नसम्झिने गरी बिर्सियो ।

आज देशको भावी गति तय गर्ने महत्वपूर्ण बिन्दु यिनै हुन् । यदि यहाँ अझै पनि परिवर्तनका लागि आवाज उठेन भने, त्यो शान्ति होइन, सहनशीलताको अन्तिम सीमापछि आउने विस्फोट मात्र हुनेछ । यसलाई समयमै सुन्ने साहस गरिएन  भने  ठूलो विग्रह अपरिहार्य छ ।

अहिले जनता बीचबाट उठेको प्रश्नले सिङ्गो व्यवस्थालाई कठघरामा ल्याइरहेको छ ‘तपाईंहरू चुनाव जितिरहनुभएको छ, तर हामी किन हरेक दिन हारिरहेछौं ?’ यो प्रश्न केवल गुनासो होइन, यो त्यस्तो घाउ हो जसले हरेक दिन जनताको आत्मसम्मान र आशालाई रेटिरहेको छ ।

बेलायती राजनीतिकर्मी रोरी स्टेवार्टको कथनले मलाई दाङका बस्तीहरूले भोगिरहेको उपेक्षासँग साक्षात्कार गर्न झन् सजिलो पारिदियो । जनतामा उपस्थित भएर होइन सुकिला स्क्रिनमा प्रस्तुत हुनुलाई नै राजनीति ठान्ने सत्तामुखी मानसिकता माथि झन् बढ्ता प्रश्न गर्न मन लाग्यो ।

राजनीति यसैगरी अनुत्तरदायी, अभिनयमुखी र आत्म मुग्ध रहिरह्यो भने, जनताले चुनावमा मात्र होइन, चेतनामा पनि परिवर्तन ल्याउनेछन् । अनि त्यो दिन, ‘सत्तामा बस्नु’ होइन, ‘साथमा उभिनु’ नै राजनीति बन्नेछ ।

लेखक
क्रान्तिशिखा

लेखक क्रान्तिशिखा रास्वपा केन्द्रीय सदस्य तथा मनोसामाजिक परामर्शदाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?