
२३ साउन, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-३ तेजनगर बस्ने वर्ष ४५ का शिवजी मण्डलको मृत्यु भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार शुक्रबार बिहान साढे ११ बजेतिर स्थानीय सुखिया साह सुडीले आफ्नै ७ कठ्ठा खेतमा विद्युतीय तारले घेराबार गरेका थिए । शुक्रबार आलीमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
अचेत अवस्थामा स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उद्धार गरी उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी सिंहले बताए ।
उनको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसअघि आजै बिहान मधेश प्रदेशकै सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसरको खेतमा सिँचाइ गर्ने क्रममा मोटरमा करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया 4