News Summary
Generated by OK AI. Editorially reviewed.- १९ वर्ष मुनिका नेपाली खेलाडी सोहिल कुँवर अन्तर काउन्टी टी–२० प्रतियोगितामा खेल्ने भएका छन्।
- उनी राष्ट्रिय एसियाली क्रिकेट परिषद् साइडबाट खेल्ने भएका हुन्।
- उनी बेलायतमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र नेपालमा सिकेका सीप प्रयोग गर्ने लक्ष्य राख्छन्।
२३ साउन, काठमाडौं । बेलायतमा व्यवसायिक क्रिकेट खेलिरहेका १९ वर्ष मुनिका नेपाली प्रतिभाशाली खेलाडी सोहिल कुँवर आगामी अगस्ट २० मा हुने अन्तर काउन्टी टी–२० प्रतियोगितामा सहभागी हुने भएका छन्।
उक्त प्रतियोगितामा उनले हर्टफोर्डशायर, बकिङ्घमशायर र बेडफोर्डशायर विरुद्ध राष्ट्रिय एसियाली क्रिकेट परिषद् साइडको प्रतिनिधित्व गर्नेछन्।
एमसिसी खेलाडी तथा ब्रिटिश गोर्खाली क्रिकेट लिग अध्यक्ष गाम गुरुङको मार्गदर्शनमा खेल्दै आएका कुँवरले यसअघि केन्ट एकेडेमीबाट पनि खेलेका थिए।
बेक्सलीहाथविरुद्धको शानदार शतक र प्रतिष्ठित मेरिलेबोन क्रिकेट क्लब (MCC) विरुद्धको अर्धशतकपछि उनी छोटो ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
हालै माया क्रिकेट क्लबको आयोजनामा भएको टी–१० प्रतियोगितामा एभरेष्ट क्रिकेट क्लबको प्रतिनिधित्व गर्दै २६ बलमा ५० रनको शानदार अर्धशतक प्रहार गरेका उनी ‘वेस्ट ब्याटर अफ द टुर्नामेन्ट’ उपाधिले सम्मानित भए।
पोखरा–१० उत्तमचोकका कुँवरले यसअघि नेपाली राष्ट्रिय टोलीबाट १९ वर्ष मुनिको क्रिकेट खेलेका छन्। हङकङ विरुद्धको सिरिजमा ओपनर ब्याट्सम्यानका रूपमा खेल्दै उत्कृष्ट प्रदर्शन गरेका उनी त्यसअघि यु–१६ स्तरमा गण्डकी प्रदेशको कप्तानी गरिसकेका थिए।
२०१७ सालमा पोखरा आएका कुँवर छोटो समयमै कास्की क्रिकेटको बलियो स्तम्भका रूपमा उदाएका थिए। यसअघि अष्ट्रेलियामा बुबा बबिन कुँवरसँग बस्दा उनले १० वर्ष मुनि र १२ वर्ष मुनिका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए। सिड्नी बसाइका क्रममा झण्डै एक दशकको क्रिकेट अनुभव बटुलेका उनी बेलायतमा सिकेका सीप र ज्ञान नेपालकै क्रिकेटमा प्रयोग गर्ने लक्ष्य राख्छन्।
प्रतिक्रिया 4