२६ साउन, काठमाडौं । अनलाइनखबरले २०८२ सालका ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्न आयोजना गरेको औपचारिक कार्यक्रम सुरु भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार अनलाइनखबरले प्रभावशाली युवाहरूको सूची सार्वजनिक गर्न लागेको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्री, व्यवसायी लगायतको उपस्थित छन् । राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले ४० युवाहरूको नाम सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूबीच पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि ४० युवाहरुको सूची सार्वजनिक गर्न थालेको हो ।
‘चालीस मुनिका चालीस मार्फत हामीले अँध्यारोका बीचमा तिनै जूनकिरीहरू खोज्ने प्रयास गरेका छौं’ अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले भने, ‘यस्ता पात्रहरू अरू थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिंदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको छ । यो सूची त्यसैको एक प्रतिविम्ब हो ।’
४० मुनिका ४० को सूचीले समर्पण, लगनशीलता र आ–आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्त्वपूर्ण योगदानलाई पहिचान दिने र समाजलाई प्रगतिको दिशातर्फ डोर्याउन मद्दत गर्ने अनलाइनखबरको अपेक्षा रहेको भुसालले बताए ।
४० जनाको सूची तयार पार्न अनलाइनखबरको टिमले झन्डै चार महिनासम्म काम गरेको थियो ।
अनलाइन आवेदन र सिफारिश मार्फत प्राप्त करिब साढे ५०० नामबाट ४० जना छान्न उपलब्ध प्रारम्भिक सूचीलाई निर्णायक अर्थात् छनोट समिति समक्ष पेश गरिएको थियो । उनीहरूको छनोट तथा सिफारिशमा आधारित भएर ४० प्रभावशाली युवाहरूको सूची तय गरिएको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, उद्यमी छाया शर्मा, अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत रहेको छनोट समितिले ४० जनाको सूचीलाई अन्तिम रूप दिएको हो ।
प्रतिक्रिया 4