+
+
Shares

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति दिँदै सीआईबीले बुझायो प्रतिवेदन

११ जनालाई प्रतिवादी बनाउनु पर्ने राय

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिए पनि नेपाली कांग्रेसका सभापति धनराज गुरुङलाई भने उन्मुक्ति दिइएको छ । उनलाई प्रतिवादी बनाउन सीआईबीले सुझाएको छैन ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन २८ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय अनुसन्धान ब्युरोले मितेरी सहकारी ठगी प्रकरणमा धनराज गुरुङलाई प्रमाण नपरेकाले मुद्दा चलाउन नहुने राय दिएको छ।
  • सीआईबीले ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै करिब १४ करोड ठगी र ३ करोड ४४ लाख ठगीको बिगो मागदाबी गर्नुपर्ने जनाएको छ।
  • ज्योतिबहादुर भण्डारीको समूहले ६ अर्ब ७४ करोडभन्दा बढी हुन्डी कारोबार गरेको र क्रिप्टोमा लगानी गरेको भेटिएको छ।

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको  ललितपुर महालक्ष्मी स्थानमा रहेको  मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको स‌ंलग्नताबारे प्रमाण फेला नपरेकोले उनलाई मुद्दा चलाउने राय दिइएको छैन । सीआईबीको अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् ।

केन्द्रीय अनुन्सन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए ।

‘हाम्रोतर्फको काम सकाएर प्रतिवेदन बुझाएका छौं । अब को–कसलाई कसरी मुद्दा लाने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ,’ एसएसपी बोगटीले अनलाइनखबरसँग भने ।

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएकाे छ । कांग्रेसका  उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति दिइएको छ । उनलाई प्रतिवादी बनाउन सीआईबीले सुझाएको छैन ।

यसबारे जिज्ञासा राख्दा सीआईबीका एक अनुसन्धान अधिकृतले भने कुनै प्रमाण फेला नपरेकाले प्रतिवादी नबनाइएको बताए ।

‘हामीले अनुसन्धान गर्‍यौं । पक्राउ परेकाहरूसँग बयान गर्दा पनि धनराजको विषय खुलेन । प्रमाणबिना प्रतिवादी बनाउने कुरा पनि भएन,’ ती अधिकृतले अनलाइनखबरसँग भने ।

धनराज नै यो सहकारीमा जोडिएको भन्दै यसअघि आरोप लाग्दै आएको थियो । तर धनराजकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जना प्रतिवादी बनाउन सिफारिस गर्दा धनराजले भने उन्मुक्ति पाएका छन् ।

ज्योति गुरुङसँगै बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सीआईबीले सिफारिस गरेको छ । जसमध्ये भण्डारी, खत्री र अधिकारीमात्रै पक्राउ परेका छन् ।

जसमा सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । यसका साथै सहकारीको रकम तिर्ने भन्दै उल्टै सहकारीका सञ्चालकहरूको करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको भन्दै उक्त बिगो पनि मागदाबी गर्नुपर्ने राय सीआईबीले दिएको छ ।

मितेरी सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (धनराज गुरुङकी पूर्वपत्नी) मार्फत ठगी भएको बताइएको छ ।  सहकारीको रकम ज्योति गुरुङमार्फत लिएर भण्डारीले ठगी गरेको आरोप छ । रकम ठगी गरेपछि गुरुङ र भण्डारी दुवैजना देश छाडेर फरार भएका थिए ।

त्यसपछि ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएकी थिइन् । आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी) ले तिर्नुहुन्छ भन्दै ह्वाट्स एपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले ठगेको पाइएको छ ।

ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेका थिए ।

सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियासम्म पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइनमार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेको थिए ।

सहकारीको रकम तिर्ने भन्दै विदेशमै रहेका बेला ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेका थिए । यो ठगीको रकम पनि बिगो मागदाबी गर्नुपर्ने सुझाव सीआईबीको छ ।

ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ–ब्याजसहितको रकम १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वाससहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएका थिए ।

मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए ।

त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटकपटक उल्टै रकम हाल्न लगाएर ठगी गरेका थिए ।

६ अर्ब बढीको हुन्डी कारोबार

४ असारको राति कम्बोडियाबाट काठमाडौं ल्याइएका ज्योतिबहादुर भण्डारीमाथि अनुसन्धान गर्दा उनको समूहले ठूलो रकमको हुन्डी कारोबार गरेको भेटिएको प्रहरीले बताएको छ ।

उनको समूहले ६ अर्ब ७४ करोड ३२ रुपैयाँ भन्दा बढीको हुन्डी कारोबार गरेको भेटिएको एसएसपी बोगटीले बताए । त्यसैगरी ठूलो मात्रामा अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको भेटिएको छ ।

जसकारण ठगीका साथै हुन्डी र अभौतिक मुद्रा अन्तर्गतको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । सहकारीको ठगी गरेको रकम भण्डारीले सुवास खत्रीमार्फत हुन्डी र क्रिप्टोमा लगानी गरेर विदेश लगेको बताइएको छ ।

धादिङ घर भएका खत्री तीनै व्यक्ति हुन् उनी यसअघि १० लाख नक्कली नोटसहित पक्राउ परेका थिए । नक्कली नोट बैंकमा जम्मा गर्न लगेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ७ कात्तिक २०८१ मा पक्राउ गरेको थियो । यो कसुरमा उनी धरौटीमा छुटेका थिए  ।

यो भन्दा अघि पनि उनी १० असार २०७३ मा उनी हुण्डी कारोबारको ३६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनी खत्रीमाथि अनुसन्धान गर्दा ६ अर्ब भन्दा बढीको हुन्डी कारोबार गरेको प्रमाण भेटिएको सीआईबीका एक अधिकारी बताउँछ ।

भण्डारीमाथि मुद्दै मुद्दा

सीआईबीले ज्योति भण्डारीमाथि धेरै वटा मुद्दा चलाउन सिफारिस गरेको छ । ठगीसँगै, संगठित अपराध, हुन्डी, आभौतिक मुद्रा, कीर्ते, र संगठित अपराधको मुद्दा चलाउन सिफारिस गरिएको छ । यी सबै मुद्दा ललितपुरबाटै चल्ने बताइएको छ । ठगीका मुख्य व्यक्ति ज्योतिबहादुरको दुई फरक-फरक नागरिकता र पासपोट भएकाले उनीमाथि लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

कास्कीबाट उनले १०५४८… नम्बरको राहदानी लिएका थिए । उनै भण्डारीले बर्दियाकै अर्कै नम्बर ११३६४… नम्बरको राहदानी लिएको प्रहरीको भनाइ छ ।

त्यसैगरी नागरिकता पनि दुई फरक नम्बरमा दुई फरक जिल्लाबाट लिएको पाइएको छ । कास्कीबाट १५८… नम्बरको नागरिकता लिएका भण्डारीले बर्दियाबाट भने १४८…नम्बरको नागरिकता लिएको प्रहरीको भनाइ छ । यो कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिको छ ।

यसका साथै भण्डारीविरुद्ध जिल्ला प्रहरी परिसरमा ठगीकै तीन वटा मुद्दा दर्ता रहेको पाइएको छ । यो मुद्दाको काम सकिएपछि अनुसन्धानका लागि परिसर पठाउन पनि माग गरिएको छ ।

ठगीको मुख्य व्यक्ति भनिएका भण्डारीले ठगी गरेको हुन्डी र क्रिप्टोमार्फत विदेश पु‍र्‍याइ क्यासिनोमा लगानी गरेको स्रोत बताउँछ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?