+
+
Shares

यसकारण रुपन्देही-३ मा रास्वपा उम्मेदवार बन्ने इच्छा राखेँ

आजसम्म कानुनको व्याख्या गर्दै आएको एउटा अधिवक्ता अब विस्तारै कानुन निर्माणको भूमिकामा देखिने चाहना छ । मैले आफूलाई अरूभन्दा अब्बल छु भनेर उम्मेदवारको दाबेदारी पेस गरेको हुँ ।

सुलभ खरेल सुलभ खरेल
२०८२ साउन २८ गते १८:४४

आगामी १७ कात्तिकमा हुने रुपन्देही-३ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारको आकांक्षा राख्ने ९ जनामध्ये एक हुँ म । उम्मेदवार हुने आकांक्षाले रास्वपाभित्रको आन्तरिक निर्वाचनसम्बन्धी प्रक्रियामा सहभागी भएर अगाडि बढिरहेको छु ।

विशेषत: म अधिवक्ता हुँ । नेपाल ल क्याम्पसबाट बीएएलएलबी गरेँ । कानुनको विद्यार्थी हुँदाकै समयदेखि सार्वजनिक सरोकारका केही विषयहरूमा कलम चलाएँ, बहस पैरवी गरेँ । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुका साथै अदालतमा बहससमेत गर्ने गरेको छु ।

मैले बहसपैरवी गरेका केही चर्चित मुद्दामध्ये प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा एक हो । पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाले व्यापक चर्चा पायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद् विघटनलाई संवैधानिक इजलासमा लगेर विघटन संविधान अनुकूल छैन, संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीको स्वेच्छामा राखिएको छैन भन्ने कुरालाई मैले मूलभूत रूपमा उठाएको थिएँ । सोही तर्कलाई संवैधानिक इजलासले स्थान दियो र मुद्दा जित्ने अवसर पनि पायौँ ।

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाहरू जुन संवैधानिक इजलास, सर्वोच्च अदालतले आदेश हालसालै जारी गरेको छ । संवैधानिक इजलासले फैसलामा संवैधानिक नियुक्तिहरूलाई विधिसम्मत भनेको छ । मैले यो विधिसम्मत छैन भनेर संवैधानिक इजलासमा प्रश्न उठाएको थिएँ ।

संविधानले संसदीय सुनुवाइलाई अनिवार्यता भनेको छ । तर संसद् नियमावलीले संसदीय सुनुवाइ अनिवार्य होइन कि ऐच्छिक हुन्छ भनेर जुन व्यवस्था गरेको छ, त्यो संविधानसँग बाझिन्छ । संवैधानिक अंगहरूमा नियुक्त भएका व्यक्तिहरूको ४५ दिनभित्र संसदीय सुनुवाइ नभएमा स्वतः राष्ट्रपतिले नियुक्ति गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था संविधानसँग बाझिन्छ ।

अदालतमा बहस गर्दा मैले संविधानसँग बाझिने संसद्‌को नियमवलीको विषय उठाएको थिएँ । यो मुद्दा विविध कारणवश हार्न पुग्यौँ । संवैधानिक इजलासको व्याख्या पछिल्लो चरणमा हेर्दै जाँदा नैतिकताबाट विस्तारै ‘कार्यपालिकाको विजडम, एक्जिक्युटिभ विजडम’ तर्फ पनि निर्देशित हुँदै गएको हो कि भन्ने देखिन्छ ।

विभिन्न कानुन व्यवसायी, संविधानविद्हरूले पनि यो विषय उठाइरहनुभएको छ । मेरो पनि लगभग तर्क त्यस्तै नै छ ।

तीन-चार वर्ष वकालत गरिसकेपश्चात् दुई प्रतिष्ठित विश्वविद्यालय त्रिभुवन र पूर्वाञ्चल युनिभर्सिटीमा ‘मास्टर्स इन ल’ को परीक्षा पनि दिएँ । त्यसमा दुवै प्रवेश परीक्षामा पहिलो स्थान हासिल गरेँ । वकालतप्रति प्रेम भएको हुँदा दिउँसो वकालत गर्ने र बिहान पढ्दै गरेर ‘मास्टर्स इन ल’को अध्ययन सकेँ ।

कानुन विषयमा नेपालको अध्ययन लगभग पूरा भएको थियो, यही क्षेत्रमा विदेशमा ज्ञान लिने सोच आयो । नेपाल बाहिरको अदालत कस्तो हुन्छ ? बाहिरको कानुनी संरचना कस्तो हुन्छ ? बाहिरका नेता र नेतृत्व कसरी उत्पादन हुन्छन् ? बाहिरको न्यायपालिका र संसद् कस्तो हुन्छ बुझ्ने इच्छा जाग्यो । विदेशी व्यवस्थाको पनि अध्ययन गर्न ९ महिनाका लागि अमेरिका गएँ । दोस्रो ‘मास्टर्स इन ल’ अमेरिकाबाट सकेँ । सम्पूर्ण अध्ययन सकेर अहिले नेपाल फर्किएको छु ।

रुपन्देही-३ मा प्रतिनिधिसभाको एक सदस्यका लागि उपचुनाव हुँदैछ । त्यो चुनावमा मैले आफूलाई योग्य उम्मेदवारको रूपमा देखेको छु । आजसम्म कानुनको व्याख्या गर्दै आएको एउटा अधिवक्ता अब विस्तारै कानुन निर्माण प्रक्रियाको भूमिकामा देखिने चाहना छ । मैले आफूलाई अरूभन्दा अब्बल छु भनेर उम्मेदवारको दाबेदारी पेस गरेको छु ।

रास्वपाबाट उम्मेदवारका लागि म किन योग्य छु भने, आजसम्म कानुनको व्याख्याको हकमा मैले धेरै अदालतमा अभ्यास पनि गरेको छु । ‘ल इन एक्सन’ पनि देखेको हुँदा त्यसमा भएका केही कमी-कमजोरीलाई सुधार्न, कुन कानुन कहाँ संशोधन गर्‍यो भने दीर्घकालीन रूपमा कानुनी शासनको प्रबर्द्धन र राष्ट्र निर्माणमा सहयोग हुनसक्छ भन्ने मलाई थाहा छ ।

म रास्वपामा आबद्ध हुनुको कारण वैकल्पिक राजनीतिको एउटा सदस्य हुने चाहनाले हो । परम्परागत राजनीतिक पार्टीहरूमा हेर्‍यौं भने उनीहरूले नागरिकलाई डेलिभरी दिन नसकेको अवस्था छ ।

हामी अरू देशको तुलनामा किन पछाडि पर्‍यौं ? त्यसको जवाफ खोज्दा परम्परागत शक्तिले डेलिभरी गर्न नसकेको निष्कर्षमा पुगिन्छ । अब जनताले पब्लिक डेलिभरीसहितको परिवर्तन खोजेका छन् । अरू मुलुककै गतिमा विकासको बाटोमा लम्किरहेको देख्न खोजिरहेका छन् । पुराना राजनीतिक दलको जस्तो यथास्थितिमा विकास सम्भव छैन ।

अब वैकल्पिक राजनीतिमार्फत अगाडि बढ्नुपर्ने दृढ सोचसहित रास्वपाको सदस्य भएको हुँ । केही वर्षदेखि जनताको सहभागिता सहितको वैकल्पिक शक्ति अघि बढेको देखिरहेका छौं । यही पार्टीसँग मेरो सोच मिल्ने निष्कर्षसहित रास्वपामा समाहित भएको छु ।

रास्वपाले संसद्‌मा अब्बल व्यक्तिहरू पठाएको देखिन्छ । अरू राजनीतिक दलभन्दा ‘भाइब्रेन्ट लिडरसिप’ रास्वपामा रहेको मलाई महसुस हुन्छ । आम सर्वसाधारणले पनि त्यो महसुस गर्न सक्नुहुन्छ । यो भन्दा अझै राम्रो होस् भन्ने कामना हुनसक्छ ।

रास्वपाले अरूभन्दा राम्रो, अब्बल, विज्ञ र युवालाई स्थान दिने पद्धति बसालेको छ । अन्य दलमा चुनावमा उठ्न लामो समयदेखि त्यही पार्टीमा कार्य गरिरहेको हुनुपर्ने विधि छ । त्यो राजनीतिक दल रहँदा साधारण सदस्यदेखि पदाधिकारी हुनसम्म कति समय खर्च गर्‍यो भनेर मूल्यांकनको विधि बनेको हुन्छ । पार्टीमा रहेको समय र खर्च गर्ने क्षमतालाई आधार बनाएर टिकट दिने प्रथा छ । त्यस्तो पद्धति रास्वपाले मान्दैन ।

म अध्ययनको क्रममा आफ्नो क्षेत्र (रुपन्देही-३) बाहिर रहनुपरेको हुँदा स्थानीय रूपमा अलि भिज्न नसकेको कुरा उठ्न सक्छ । त्यसलाई मैले गरेको राष्ट्रिय योगदानले खण्डित गर्छ । रास्वपाका कार्यकर्ता र शुभचिन्तकले रोजेको र खोजेको जस्तो उम्मेदवार सुलभ खरेल हो भन्ने सन्देश व्यापक रूपमा आइरहेको छ ।

रुपन्देही-३ मात्र नभएर देशैभरिबाट उहाँहरूले सन्देश पठाइरहनुभएको अवस्था छ । त्यसले थप ऊर्जा मिलेको छ । यदि आफ्नै क्षेत्रमा काम नगरेको भन्न थाल्यौँ भने रास्वपाले लिएको बृहत् नेपाल बनाउने, राष्ट्र निर्माण गर्ने अभियान परम्परागत ढाँचामा परिणत हुनसक्छ । त्यही भएर उम्मेदवारको आधार बनाउँदा नै त्यही क्षेत्रको मात्रै हुनुपर्ने भनिएको छैन ।

यो चुनाव स्थानीय तहको लागि होइन । क्षेत्रमा मतदाता, पार्टी सदस्य, जनप्रतिनिधि सबैसँग मेरो समधुर सम्बन्ध भएको हुनाले स्थानीय भूगोलमा काम नगरेको भन्ने कुरा स्वतः खण्डित हुन्छ ।

राज्यका निकायहरूलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने, सरकारलाई कसरी कानुनी शासनको अधिनमा बाँध्ने र संवैधानिक निकायहरूले संविधानको रक्षा गर्न नसकेको जुन अवस्था छ, त्यसलाई कसरी ट्याकल गर्ने भनेर बृहत् रूपमा सोच्नुपर्ने हुन्छ ।

९ जनामध्ये एकजना मात्रै उम्मेदवार हुने हो । आफूले टिकट प्राप्त गर्न नसक्दा उम्मेदवार हुनेलाई समर्थन गरेर हातेमालो गर्ने हो । उम्मेदवार हुन इच्छुक भएर आवदेन दिने हामी ९ जनामा एकले टिकट पाउँदा अरूले सहयोग गर्ने सैद्धान्तिक सहमति भइसकेको अवस्था छ ।

मैले टिकट पाउने आशा गरेको छु । यदि कुनै कारणवश पाउन सकिनँ भने कानुन निर्माण प्रक्रियामा कुनै अरू भूमिकाबाट सहयोग अवश्य गर्न सक्छु । अहिले पनि विभिन्न विवाद र पार्टीकै कतिपय मुद्दामा सर्वोच्च अदालतमा बहस पैरवी गरिरहेको छु ।

अस्ति मात्रै रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालले हाल्नुभएको रिटमा पार्टीको पक्षमा बहस गरेँ । चुनावी प्रतिस्पर्धी हुने अवस्था रह्यो भने पार्टीका लागि कानुनी पक्षबाट योगदान गर्नसक्छु । पार्टीको कानुन विभागमा बसेर योगदान गर्नसक्छु भन्ने मलाई लाग्छ ।

सामाजिक सञ्जालमा कानुन, संविधान, न्याय र समाजमा भइरहेको विचार-विमर्शको बारेमा पटकपटक लेख्ने गरेको छु । र, यी कुराहरू सैद्धान्तिक रूपमा बढी लेख्छु । यसको विधिशास्त्रीय कुरा के हुनसक्छ भनेर लेख्ने गरेको छु ।

सामाजिक सञ्जालमा व्यक्त गरेका कुनै कुरालाई दलका उच्चपदस्थ नेताहरूले सेयर पनि गर्नुभएको छ । मेरो प्रतिभालाई उहाँहरूले सम्मान गर्नुका साथै मेरो विचारसँग उहाँहरूको विचार पनि मिलिरहेको हो कि भन्ने रूपमा मैले बुझिरहेको छु । पार्टीका शीर्ष नेताहरूले मेरो विचारलाई सेयर गरेकै आधारमा उम्मेदवारका लागि मलाई प्राथमिकतामा राखेको भन्दै यो विषयलाई जोड्न मिल्दैन । उम्मेदवार छान्नका लागि विधिमा विषयगत क्षमता र राष्ट्रिय योगदान पनि पक्कै हेर्नुहुन्छ ।

रुपन्देही-३ का समस्या सदनमा उठाउनु पर्नेछ । सदन भनेको कानुन निर्माणको थलो हो । टिकट प्राप्त गरेर निर्वाचित हुने अवस्था बन्यो भने कानुन निर्माणमा अलि बढी लाग्छु । त्यो सँगसँगै उठाउनुपर्ने स्थानीय विकासका मुद्दाहरू छन् ।

रुपन्देही-३ मा बहस हुनुपर्ने प्रमुख मुद्दा पर्यटन हो । गौतम बुद्धको जन्मस्थलमा संसारभरिबाट पर्यटक ल्याउन सकिन्छ । भैरहवा विमानस्थलसँगै अन्य अन्य भौतिक संरचनाहरू बने । पर्यटन क्षेत्रको विस्तारका लागि होटल बने । तर मान्छेहरूको उपस्थिति देखिएको छैन । पर्यटकको आकर्षण हुनुपर्ने थियो । होटल व्यवसाय पनि फस्टाउन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसकेपछि सुरुका केही दिन अन्तर्राष्ट्रिय उडान भए । अहिले ठप्पै जस्तो छ । संसारसँग लुम्बिनीलाई कनेक्ट गर्नुपर्नेछ । चलायमान गराउन कनेक्टिभिटीमा जोड दिनैपर्छ ।

दोस्रो विषय, त्यहाँ किसान बढी हुनुहुन्छ । किसानले समयमा मल पाउन सकेका छैनन् । समयमा मल नपाउँदा खाद्य उत्पादनमा असर परेको छ । यो क्षेत्रमा शिक्षामा व्यापक सुधार गर्नुपर्ने मैले देखेको छु ।

रुपन्देही-२ मा सामुदायिक विद्यालय अब्बल देखिएका छन् । तर रुपन्देही-३ का सार्वजनिक विद्यालयहरू त्यति अब्बल छैनन् । चरणचरणमा सुधार गर्दै जानुपर्नेछ । सार्वजनिक विद्यालय व्यवस्थापनमा जोड दियौँ भने जनशक्ति राम्रो उत्पादन गर्न सकिन्छ ।

संसद्‌मा जाने अवस्था बन्यो भने रुपन्देही-३ का मुद्दाहरू उठाउने, नीति निर्माण ध्यान केन्द्रित गर्ने र सरकारसँग सहकार्य गरेर बजेट पठाउने कुरामा पनि मेरो भूमिका देखिनेछ । यो कुरालाई बृहत् रूपमा उठाउनु पर्नेछ । २०८४ सालको चुनावमा जाँदा देशैभरि के र कस्तो काम गर्ने भनेर ब्लुप्रिन्ट लैजानै पर्नेछ ।

हाम्रो पार्टी सभापति रवि लामिछाने यही क्षेत्रमा थुनामा हुनुहुन्छ । सभापति थुनामा रहेको क्षेत्र भएको हुँदा रास्वपाले मत तान्न सेन्टिमेन्ट प्रयोग गरेको कतिपयले भन्ने पनि गरेका छन् ।

सैद्धान्तिक रूपमा मतदान जनताको मनको कुरा हो । रास्वपाको सभापतिलाई अन्याय भएको छ, अन्यायलाई न्यायमा परिणत गर्न एउटा भोट दिन्छु भनेर जनताले भन्छ भने त्यसलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको अर्थ लगाउनु हुँदैन । जनअदालतले त्यो कुरा चाहेको रहेछ भन्ने बुझ्नुपर्छ ।

(रुपन्देही-३ मा रास्वपाबाट उम्मेदवार हुन पार्टी भित्रको प्रक्रियामा सहभागी अधिवक्ता खरेलसँग गरिएको कुराकानीमा आधारित ।)

तस्वीर : चन्द्र आलेमगर/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?