
३० साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेको दाबी गर्दै आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायत लक्ष्य पूरा गर्न अहिलेदेखि सक्रिय भएर काम गर्न निर्देशन दिए ।
औसत प्रयासले लक्ष्य पूरा गर्न नसकिने भन्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यामा अल्झिने भन्दा समाधानमा सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान दिन आग्रह गरे ।
निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रम ल्याइएको उनले बताए । संवाद बढाएको भन्दै उनले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
बैठकमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचक ठिक भए पनि निजी र सार्वजनिक क्षेत्रमा आत्मविश्वास बढाउन जरुरी रहेको बताए ।
त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्र चलायमान बनाउन निश्चत क्षेत्रमा सरकारले नै प्रयास गर्नुपर्नेमा जोड दिए ।
अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजा आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनुपर्ने बताए ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रम कार्यान्वयनमा अहिलेदेखि तदारुकता साथ लाग्दा मात्र लक्ष्य पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औँल्याए ।
अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए ।
बैठकमा सहभागीले कार्यक्रम कार्यान्वनय क्रममा देखापर्ने समस्या र चुनौती तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4