+
+
Shares

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदेश अस्पताल बेनीले नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा सञ्चालन सुरु गरेको छ।
  • अस्पताल प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनमा शल्यक्रिया, प्रसूति र फार्मेसी कक्ष सार्ने तयारी भइरहेको बताउनुभयो।
  • चारतले भवन निर्माण कार्य भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले जानकारी दिनुभयो।

१ भदौ, म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ ।

करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।

प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए ।

‘पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो’, उनले भने, ‘व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।’

अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा. प्रधानले बताए ।

ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।

विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो ।

पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो ।

तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो ।

रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो ।

पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?