
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने पाँच वकिलविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन्।
- नेपाल पत्रकार महासंघ धनुषा शाखाले साउन २७ गते भएको आक्रमणमा घाइते पत्रकारहरूको सुरक्षा र कारबाहीको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको छ।
- साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइए पनि आक्रमणमा संलग्न वकिलहरूलाई अहिलेसम्म पक्राउ गरिएको छैन।
१ भदौ, जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।
आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन् ।
गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।
सो क्रममा महासंघ प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।
घटनामा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म पक्राउ गरेका छैनन् ।
शनिबार पत्रकार महासंघ धनुषा शाखामा बसेको पत्रकार भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4