
२ भदौं, काठमाडौं । सर्वोच्च अदालतले २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार धनराज गुरुङको जितलाई नै मान्यता दिएको छ ।
प्रदेश सांसदका उम्मेदवार स्याङजा चापाकोटका बुद्धिमान श्रेष्ठले निर्वाचन परिणाम बदर गरी फेरि निर्वाचन र मतगणनाको माग गरी दिएको निवेदनमा सर्वोच्च अदालतले श्रेष्ठले हक नभएको क्षेत्रमा मुद्दा दिएको तर हकवाला मौन रहेको भन्दै गुरुङ निर्वाचित भएको घोषणालाई मान्यता दिएको हो ।
‘निर्वाचन जस्तो विषयमा प्रतिस्पर्धीहरू बाहेक अन्यले चुनौती दिन पाउने उदार दृष्टिकोणले अदालतमा अनावश्यक र दोहोरो मुद्दाहरू निम्त्याउछ’, सर्वोच्च अदालतको संवैधानिक इजलासले भनेको छ, ‘उनीसँग प्रतिस्पर्धामा रहेकी पद्मा अर्यालले चुनौती नदिएकाले मौनम् स्वीकृति लक्षणम भनेर निर्णय स्वीकार गरेको देखियो ।’
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले एक वर्षअघि धनराज विरुद्धको रिट निवेदन खारेज गरेको थियो । त्यसको पूर्णपाठ गतसाता तयार भएको हो ।
४ मंसिर, २०७९ भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार धनराज गुरुङले धाँधली गरेको आरोप लागेको थियो । उनकी प्रतिस्पर्धी पद्मा अर्याललगायतले निर्वाचन आयोगमा उजुरी दिएपछि माग सम्बोधन नभएको भन्दै मौन बसे ।
स्याङ्जाको चापाकोट नगरपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा मृत्यु भइसकेका, विदेश गएका र अनुपस्थित भएकाहरुको नाममा मतदान भएको अर्याल पक्षधरहरुको आरोप थियो । त्यहाँका केही मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मतदान भएको थियो ।
तर, सुरक्षा निकायबाट गडबडीको रिपोर्ट नभएको, तर छानविन टोलीले हेरेपछि कैफियत नदेखिएको भन्दै निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको थियो । स्थलगत अध्ययन टोलीले पनि मतदान केन्द्रमा भएको गडबडीबारे त्यहाँ खटिएका दल वा उम्मेदवारका प्रतिनिधिले तत्कालै विरोध नजनाई मौन बसेको भन्दै प्रतिवेदन दिएको थियो ।
आफू असन्तुष्ट हुँदाहुँदै पनि एमाले उम्मेदवार पद्मा अर्याल मौन बसेको र निर्वाचन नतिजा स्वीकारेको देखिएको भन्दै सर्वोच्च अदालतले सम्बन्धित प्रतिस्पर्धी बाहेक अरुले उजुर गरेर अर्थ नहुने भन्दै स्याङजा–२ मा धनराज गुरुङको जितलाई नै मान्यता दिएको हो ।
उक्त निर्वाचनमा कांग्रेस उम्मेद्वार धनराजले ३१ हजार ४६६ मत पाएका थिए भने उनकी प्रतिस्पर्धी पदमा अर्यालले २५ हजार ८३९ मत पाएकी थिइन् । उनीहरुबीच ५ हजार ६२७ मतको फरक थियो । तेस्रो स्थानमा रहेका रास्वपाका टिकराज गुरुङले ८ हजार ११३ मत पाएका थिए ।
प्रतिक्रिया 4