+
+
Shares

कास्कीका नन्दप्रसादको जीवनयात्रा समेटिएको स्मृतिग्रन्थ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १५:०४

२ भदौ, कास्की । कास्कीका शैक्षिक अगुवा नन्दप्रसाद अधिकारीको प्रथम स्मृति दिवसको अवसर पारेर स्मृतिग्रन्थ विमोचन गरिएको छ ।

आइतबार पोखरामा अधिकारीको परिवारले प्रकाशन गरेको ग्रन्थ एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी, प्रदेश सभा सदस्य भीमबहादुर कार्कीलगायतले संयुक्त विमोचन गरे ।

स्मृतिग्रन्थमा स्व.अधिकारीको परिवारका सदस्य, उनका विद्यार्थी, उनीसँगै विभिन्न शैक्षिक, धार्मिक संस्थामा सहकार्य गरेका ३१ वटा लेख–रचना समावेश छन् । बुबाले मृत्युअघि लेखेको लेख पनि ग्रन्थमा समावेश गरिएको साइला छोरा सुपक अधिकारीले जानकारी दिए ।

स्व. अधिकारीको लेखमा शिक्षण अनुभव, प्रविधिको विकासले ल्याएको परिवर्तनबारेमा चर्चा गरिएको छ । अधिकारीको मृत्यु अघि लेखिएको लेखले बेरोजगारी, भ्रष्टाचार, अस्थिर राजनीति नेपालको विकासमा प्रमुख समस्या भएको औंल्याएको छ । भावी पुस्ताका लागि शिक्षा र सीप विकास, नैतिकता र इमानदारी, पर्यावरण संरक्षण, रोजगारी सिर्जना, साँस्कृतिक धरोहरको संरक्षण, स्थिर सरकारजस्ता विषयमा ध्यान दिनुपर्ने उनको लेखमा उल्लेख छ ।

विमोचनपछि बोल्दै एमाले नेता अधिकारीले स्व.नन्दप्रसाद आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको सुनाए । केही अप्ठेरो पर्दा उनको सल्लाह–सुझाव लिने गरेको नेता अधिकारीले स्मरण गरे ।

अधिकारीका जेठा छोरा दीपक अधिकारीले समाज सुधारको अभियानमा बुवाको योगदानलाई जीवन्त राख्न पुस्तक प्रकाशन गरिएको बताए । बुवाले पढाएका सबै विद्यालयमा पुस्तक वितरण गर्ने उनले सुनाए ।

‘बुवालाई हामी थोरैले चिनेका थियौं । पुस्तक नै प्रकाशन गरेपछि उहाँ अब एउटा अभिलेखमा सुरक्षित हुनुभएको छ,’ उनले थपे, ‘उहाँले पढाएका विद्यालयमा पठाउने योजना छ । त्यो भएपछि विद्यार्थीले विद्यालयको विकासमा उहाँले गरेको योगदानबारे थाहा पाउनुहुन्छ ।’

अधिकारी ०३० को दशकको शिक्षक आन्दोलनमा सक्रियमध्ये एक थिए । उनले कास्कीको कन्या मावि, चन्द्रप्रभा मावि, त्रिभुवन शान्ति मावि, ब्रहृमरूपा माविमा अध्यापन गराएका थिए । उनले पोखरामा संस्कृतको प्रारम्भिक अध्ययन गरी बनारसबाट शास्त्रीसम्म अध्ययन गरेका थिए ।

उनी शिक्षण पेसामै रहँदा २०२६ देखि ०३६ सालसम्म कास्कीमा भूमिगत ढंगले कम्युनिष्ट पार्टीको संगठन निर्माणमा संलग्न थिए । ०५४ सालमा शिक्षण पेसाबाट निवृत्त भएपछि अधिकारी एमालेको राजनीतिमा सक्रिय थिए । उनी एमालेको गण्डकी प्रदेश कमिटी सल्लाहकार थिए ।

१९९४ साल माघ १३ मा साबिकको बेगनास गाविसको डाँडाथर (हालको पोखरा–३१)मा जन्मिएका अधिकारीको ८७ वर्षको उमेरमा निधन भएको थियो । अधिकारीका ४ छोरा र २ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?