News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलियन गोलकिपर फाबियो डेइभलसनले ४४ वर्षको उमेरमा सर्वाधिक व्यवसायिक खेल खेल्दै कीर्तिमान बनाएका छन्।
- फाबियोले कोपा सुडामेरिका अन्तिम १६ मा अमेरिका डे काली विरुद्धको खेलमा आफ्नो कीर्तिमानी खेल पूरा गरेका थिए ।
- फाबियोले सन् १९९७ मा व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए ।
४ भदौ, काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेसका गोलकिपर फाबियो डेइभलसन लोपेज मासिएलले सर्वाधिक प्रतिस्पर्धात्मक फुटबल खेल्ने खेल्ने इंग्ल्याण्डका पूर्व खेलाडी पिटर सिल्टनको कीर्तिमान तोडेका छन् ।
४४ वर्षीय फाबियोले कोपा सुडामेरिका अन्तिम १६ को खेल खेल्दै आफ्नो करियरको १ हजार ३९१ औं खेल खेलेका हुन् । उनको क्लब फ्लुमिनेसले फाबियोले कीर्तिमानी खेल खेलेको उल्लेख गरेको छ ।
उनले सिल्टनको नाममा रहेको १ हजार ३९० खेलको कीर्तिमान तोडेका हुन् ।
माराकानामा भएको अमेरिका डे काली विरुद्धको खेलमा फाबियोको क्लब २-० ले विजयी भएको थियो ।
सन् १९९७ मा व्यवसायिक फुटबलमा डेब्यु गरेका फाबियोले आपनो पूरा करियर ब्राजिलमै बिताए । उनले युनिएओ बान्डेइरान्टे, एथ्लेटिको पारानाएन्स, भास्को दा गामा, क्रुजेइरो र फ्लुमिनेसबाट खेले ।
त्यसमध्ये उनले क्रुजेइरोका लागि सन् २००५ देखि २०२२ सम्म सर्वाधिक ९७६ खेल खेले । यस्तै भास्को दा गामाका लागि १५० र युनिएणका लागि ३० खेल खेले । फ्लुमिनेसका लागि उनले २३५ खेल खेलिसकेका छन् ।
फाबियोले कीर्तिमानी खेलपछि फ्लुमिनेस क्लब अफिसियलबाट स्मरणीय सम्मानस्वरूप एक प्लेट र चित्र प्रदान गरेको थियो । साथै उनले कीर्तिमान सम्झन विशेष प्याच भएको जर्सी पनि लगाएका थिए ।
‘मसँग भगवानलाई धन्यवाद दिनुका बाहेक अरू केही छैन, भगवान जसले मलाई यो विशेष क्षण अनुभव गर्न दिनुभयो, यो विशाल कीर्तिमान हासिल गर्न सकें’ फाबियोले फ्लुमिनेसको वेबसाइटमार्फत भने, ‘यो अत्यन्तै भावुक क्षण थियो, विशेषगरी मेरो परिवार मेरो छेउमा यो सम्मानको साक्षी बन्नु । फ्लुमिनेसको जर्सीमा यो कीर्तिमान हासिल गर्नु ठूलो गर्वको कुरा हो, जसले मलाई अवसर प्रदान गर्यो । अब म खेलिरहन्छु र प्रत्येक खेल नयाँ उपलब्धिहरूहरुका लागि प्रयास गर्नेछु ।’
फाबियोले यसअघि नै सिल्टन कीर्तिमान ब्रेक गरेको थियो कि भन्ने डिबेट पनि छ । गिनिज बुक अफ रेकर्ड्सले सिल्टनले १ हजार ३९० खेल खेलेको उल्लेख गरेपनि सिल्टनले भने आफ्नो एक्स एकाउन्टमा १ हजार ३८७ खेल खेलेको उल्लेख गरेका छन् ।
तर फाबियोले सन् १९९७ मा ब्राजिलबाट यू-१९ विश्वकप जित्नुबाहेक कहिल्यै सिनियर राष्ट्रिय टिमबाट भने खेलेनन् । उनले क्लबका लागि खेलेको खेलहरु मात्र गणना गर्दा १ हजार ३९० भन्दा धेरै भएको हो ।
प्रतिक्रिया 4