
News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराकी २० वर्षीया दमाईकी २१ महिनाकी छोरी प्यारिसा कुपोषणको समस्यामा छिन् र जिल्ला अस्पताल बाजुराको पोषण पुनर्स्थापना केन्द्रमा उपचार गराइरहेकी छिन्।
- प्यारिसाको कुपोषणले अवस्था बिग्रिएपछि कोल्टी अस्पताल र सदरमुकाम मार्तडीमा उपचार गराइरहेका छन्, तर आर्थिक अभावले धनगढी लैजान सकिरहेको छैनन्।
- दमाई परिवार दलित समुदायमा पर्दछ र गरिबीका कारण पोषिलो खाना नपाएर कुपोषण र स्वास्थ्य समस्यामा परेका छन्, जसले गाउँभरिका धेरैलाई असर गरेको छ।
म २० वर्षकी भएँ, २१ महिनाकी छोरी (प्यारिसा दमाई) कुपोषणको समस्यामा छे । अहिले छोरीको जिल्ला अस्पताल बाजुराको पोषण पुनर्स्थापना केन्द्रमा उपचार गराइरहेकी छु ।
कुपोषणले छोरी सिकिस्त भएपछि कोल्टी अस्पताल पुर्यायौं । जन्मेदेखि नै कुपोषण भएकी उसलाई सिकिस्त भएपछि कोल्टी लगेका हौं । त्यहाँको डाक्टरले सदरमुकाम मार्तडी लैजान भन्यो ।
यहाँ आउने भाडा थिएन, ऋण काढेर जिल्ला अस्पताल मार्तडी आएर उपचार गरिरहेका छौं । यहाँ पनि ठिक नहुने भए धनगढी लैजानुपर्छ भनेका छन् । पैसा छैन कसरी लैजानु ? यतै जेनतेन उपचार गरिरहेका छौं । अहिले अस्पतालमा उपचार गर्नेदेखि मलाई पनि नि:शुल्क खानाको व्यवस्था छ ।
प्यारिसा हाम्रो पहिलो सन्तान हो । म अहिले फेरि गर्भवती भएकी छु । भदौमा बच्चा जन्मिने समय हो । पहिलो छोरी जन्मेको वर्षदिनमै म फेरि गर्भवती भएँ ।
छोरीलाई लगभग एक वर्षसम्म आफ्नो दूध खुवाएँ । बच्चा पेटमा आएपछि दूध आउन बन्द भयो । छोरीले भात खान शुरु गरी । गाई–भैंसीको दूध खुवाउनुहुन्थ्यो, न घरमा गाई छ न भैंसी ! किनेर ल्याउनसक्ने अवस्था छैन ।
छोरी जन्मेपछि नै कुपोषित भएकी रहिछ । म गर्भवती भएको बेला नुनको धुलोसँग कोदोको रोटी खान्थें, कहिलेकाहीं भात खाने गरेकी थिएँ । छोरी पेटमा हुँदा पेटभर राम्रोसँग खान पाइएन । अहिले डाक्टरहरूले पोषिलो खानुपर्छ भन्छन्, तर हाम्रा लागि पोषिलो खानेकुरा टाढाको कुरा हो ।
मेरो श्रीमान् (महेश दमाई) भारतमा काम गरिरहेका छन् । ज्याला–मजदूरी गरिरहेको पैसाबाट परिवार पाल्न नपुग्ने रहेछ । जग्गा–जमिन छैन, एउटा छाप्रो घर छ, कतै तरकारीसम्म लगाउने जग्गा छैन ।
किनेर खान सक्ने अवस्थै छैन । दोस्रो बच्चा पाउने तयारीमा छु, अहिले पनि पोषिलो खानेकुरा देख्न पाएको छैन ।
मेरी आमा पनि कुपोषित हुनुहुन्थ्यो । म पनि कुपोषित जन्में । मेरी छोरी पनि कुपोषित नै जन्मेकी छ । छोरी जन्मेको केही समयमै अर्को पटक गर्भवती भएँ । अब यसलाई पनि जन्माउनै पर्यो । हामी दलित समुदायमा खान–लाउन पुग्दैन, गाउँमा मेरो मात्र हैन, अरूका बच्चाहरू पनि कुपोषणमा परेका छन् ।
हामीहरूले प्राय: (कथित) माथिल्लो जातका मानिसहरूको घरमा काम गर्ने गरेका छौं । धेरै त अहिले पनि हलिया बस्दै आएका छन् । साहुको काम गरेबापत थोरै अन्न पाउने गरेका छौं, त्यही नै हाम्रा लागि भरथेग हो ।
पोषिलो खानेकुरा त कहाँबाट पाउनु ? आफू पनि राम्रोसँग खान नपाएर कुपोषित भएकी रहेछु । कहिलेकाहीं त्यतिकै रिंगटा लाग्ने, हिंड्न नसक्ने, थकाइ धेरै लाग्ने गरेको छ । यो सबै समस्या कमजोरीको कारण भएको रहेछ ।
यो बेला (गर्भावस्था) मा समेत आराम समेत गर्न पाइँदैन । दिउँसो ज्याला मजदूरी गर्ने गरेकी छु । बच्चा पाउने समय पुग्दासम्म अहिले पनि काम गरिरहेकी छु । गाउँघरमा धेरै दिदीबहिनीले काम गर्दागर्दै बाटोमा, बारीमा, जंगलमै बच्चा जन्माउने गरेका छन् ।
रेडियोमा त आराम गर्नुपर्छ, पोषिलो खानेकुरा खानुपर्छ, शरीरको हेरचाह गर्नुपर्छ भनेको सुन्छौं, तर के गर्नु ? गरिबीले न आराम पाउँछौं न पोषणयुक्त खाना । गाउँमा धेरै दिदीबहिनीले यस्तै समस्या भोग्दै आएका छन् । धेरै दिदीबहिनीले शरीरमा रोग पालिरहेका छौं । घर–घरमा पाठेघर सम्बन्धी समस्या छ । तर पैसा छैन, घरमै रोग लुकाएर राख्ने गरेका छन् । यो सबै गरिबी र अभावले भएको रहेछ ।
(बुढिनन्दा नगरपालिका–१ बाजुराकी दमाईसँग प्रकाश सिंहले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4