
News Summary
Generated by OK AI. Editorially reviewed.- अरनिको राजमार्गको कोदारी खण्डमा पहिरो पन्छाएर साना र हलुका सवारीसाधन सञ्चालनमा आएको छ।
- बिहीबारदेखि ठूला सवारीसाधन समेत सञ्चालनमा आएका छन् भने प्राविधिक टोलीले पानी र पहिरो नियन्त्रणको काम गरिरहेको छ।
- सडक विभागका अनुसार पहिरो नियन्त्रणका लागि ग्याबिन पर्खाल निर्माण र विज्ञ टोलीको अध्ययन जारी छ।
६ भदौ, काठमाडौं । पहिरोका कारण अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।
नेपाल र चीन जोड्ने यो राजमार्गको अन्तर्राष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो भागमा स्थानीयवासीको बस्ती रहेको र पहिरोका कारण बस्तीसमेत जोखिममा हुँदा कठिनाइ भएको थियो ।
सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । त्यहाँ नयाँ डिजाइन अनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको कामसमेत भइरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
पहाडी धरातल र लेदो बगिरहने गरेका कारण बेलाबेला समस्या आउने गरेको छ । ग्याबिन पर्खाल लगायत अन्य संरचना निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको उनले बताए ।
त्यहाँ पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र बिहीबार अपह्नदेखि ठूला सवारीसाधन समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानले जानकारी दिए ।
यातायात सहज सञ्चालनका लागि प्राविधिक तथा उपकरण अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले बताए ।
प्रतिक्रिया 4