+
+
Shares

यो साता सुस्ताएको सेयर बजारमा मूल्य धेरै बढेका यी ८ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो साता सेयर बजार २७८८ अंकबाट २७५७ अंकमा झरेको छ र कारोबार रकम निरन्तर घट्दै गएको छ।
  • नेपाल पुनर्बीमाको कारोबार सबैभन्दा बढी १ अर्ब ३२ करोड रुपैयाँ भएको छ, तर यसको मूल्य १.९१ प्रतिशत घटेको छ।
  • चीनको सांघाई कम्पोजिट इन्डेक्स ३.०५ प्रतिशत बढ्दा अमेरिकाको डाओ जोन्स र एस एण्ड पी ५०० इन्डेक्स घटेका छन्।

६ भदौ, काठमाडौं । गत साता २७८८ मा रहेको सेयर बजार यो साता ३१ अंक घट्दै २७५७ मा झरेको छ । यो साता सेयर बजारको उतारचढाव न्यून रह्यो । साताका पछिल्ला चार दिन बजारको उतारचढाव एकल अंकमा नै सीमित रह्यो ।

साताको पहिलो दिन आइतबार २७.१४ अंक बजार घटेको थियो । सोमबार ९.१६ र मंगलबार ६.५१ अंक बढेको बजार बुधबार ९.७० र बिहीबार ९.२२ अंक घट्यो ।

बजारको न्यून उतारचढावमा यो साता कारोबार रकम पनि सुक्दै गयो । आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड तथा बिहीबार ५ अर्ब २ करोडको भयो ।

यसरी कारोबार रकम निरन्तर घट्दै जानुको पछाडि खरिद वा बिक्रीप्रति यतिबेला चासो घट्नु हो ।  होटल तथा पर्यटनबाहेक यो साता सबै समूहका सूचक घटेका छन् । सो समूह सूचक १.२३ प्रतिशत बढ्यो ।

अन्य समूह सबैभन्दा धेरै घट्यो । यस समूहका हिमालयन रिइन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल पुनर्बीमाजस्ता ठूला कम्पनीको मूल्य घट्दा समूह बढी प्रभावित बन्यो । त्यस्तै यसै समूहको ट्रेड टावर मूल्य धेरै घट्ने कम्पनीमा परेको छ ।

यो साता किन सुस्तायो बजार ?

पैसा हुनेहरु पनि यतिबेला बजार अझै घट्ने आशमा पर्खिरहेका छन् भने बेच्ने पनि आत्तिएका छैनन् । अब कम्पनीहरुले लाभांश दिने बेला भएको छ, सबै पक्ष सकारात्मक पनि भएकाले बेच्नेहरु धैर्य भएका छन् । अर्कोतर्फ खरिद गर्नेहरु बजार तत्काल नबढ्ने आशमा छन् ।

बजारमा यतिबेला अल्पकालीन ‘सिजनल’ रौनक सकिएको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् । बजार साउन/भदौमा एउटा उच्चतम अंक कायम गरेपछि मंसिर/पुससम्म नै सुस्ताउने गरेको छ । यो साता मात्रै नभइ अबका केही महिना नै बजार उतारचढाव न्युन रहने अनुमान छ ।

गत वर्ष पनि साउनको ३१ गते नेप्से ३ हजार अंक पुगेको थियो, जुन अंक वर्ष २०८१ भरका लागि उच्चतम रह्यो । यो पटक पनि ३००२ अंक पुगेर फर्किएको बजार कतै वर्ष २०८२ भरकै लागि उच्चतम हुने त होइन भन्ने आशंका बढेको छ ।

एकथरि ठूला कारोबारीले साउन/भदौमा बजार ह्वात्त बढेका बेला बेचेपछि फेरि त्यो पैसा केही महिना नफर्किने गरेको उनले बताए । ‘यो पटक सिजनल रौनक केही छिटो सकियो’ ढुंगानाले भने ।

यतिबेला धेरै व्यापारीले सेयर बजारबाटै चाडपर्वको आयात तथा व्यापारका लागि रकम जोहो गर्ने र उनीहरुको पैसा चाडपर्व नसकिएसम्म बजारमा नआउने गरेको छ ।

यो वर्ष सैद्धान्तिक पक्ष र नीतिगत व्यवस्थाले सहज गरेकाले बजार धेरै नघट्ने उनको अनुमान छ । ब्याजदर अझै घटिरहेको, कम्पनीका वित्तीय विवरण अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको, पर्याप्त नीतिगत सुधार भएको, कम्पनीको लाभांश क्षमता बढेको जस्ता पक्षका कारण बजारले सकारात्मक ऊर्जा लिएको छ ।

यो साता धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– नेपाल पुनर्बीमा । कम्पनीको कुल १ अर्ब ३२ करोडको कारोबार भयो । यद्यपि साताभर मूल्य भने १.९१ प्रतिशत घट्यो ।

नेपाल पुनर्बीमापछि धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि, हिमालयन डिस्टिलरी, बुटवल पावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, राधि विद्युत् र पन्चकन्या माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

त्यस्तै कारोबार संख्याका आधारमा ट्रेड टावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, सान्भी इनर्जी, बलेफी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा, लिबर्टी इनर्जी, पन्चकन्या माइ हाइड्रोपावर र कुमारी बैंक क्रमशः अगाडि रहे ।

आईपीओ, एफपीओ तथा हकप्रद सेयर खुलेका छन् ?

आम सर्वसाधरणका लागि हाल कुनै पनि कम्पनीको आईपीओ तथा एफपीओ खुलेका छैनन् ।

आगामी साता भदौ ११ गतेदेखि भने आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकारको आईपीओ खुल्ने छ । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई पनि अहिले कुनै आईपीओ खुलेको छैन ।

प्रभावित स्थानीयका लागि पनि कुनै कम्पनीको आईपीओ खुलेको छैन । जोशी हाइड्रोपावरमा हकप्रद सेयर आवेदन खुलिरहेको छ । जोशी हाइड्रोपावरले १ बराबर ०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । जोशीमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

चीनको बजार उकालो लाग्दा अमेरिकाको ओरालोतिर

विश्वका ठूला बजारमध्ये चीनको सांघाई कम्पोजिट इन्डेक्स यो साता ३.०५ प्रतिशत बढ्यो । एक महिनामा भने यो सूचक ६.८१ प्रतिशत बढिसकेको छ ।

अमेरिकाको डाओ जोन्स इन्डेक्स यो साता ०.८३ प्रतिशत घटेको छ भने अर्को एस एण्ड पी ५०० इन्डेक्स १.६६ प्रतिशत घटेको छ । लण्डनको एफटीएसई १०० इन्डेक्स यो साता १.८० प्रतिशत बढ्यो ।

जापानको निक्की २२५ इन्डेक्स यो साता १.८९ प्रतिशत घट्यो । चीनको सांघाई कम्पोजिट इन्डेक्स यो साता ३.०५ प्रतिशत बढ्यो । भारतको बीएसई सेन्सेक्स यो साता ०.२० प्रतिशत घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?