
६ भदौ, काठमाडौं । विजय ब्लोनको टिकटक आईडी forzentertainment मा करिब ३९.२ हजार फलोअर्स छन् । दुई मिलियन लाइक यसका कन्टेन्टले पाइसकेका छन्, जसको बायोमा लेखिएको छ– हरर लाइभ, एभ्री नाइट ।
यी क्रियटर कहिले देवघाट पुग्छन् त कहिले सुन्दरीजल । उद्देश्य एउटै छ– घोस्ट हन्टिङ । अर्थात्, भूत खोज्नु र भिडियोमा देखाउनु ।
यसरी हन्टिङमा जानुअघि उनले अनेक कन्टेन्ट बनाएर भ्युज बटुल्ने प्रयास गरेका देखिन्छन् । उनको टिकटक हेर्दा कहिले चिया बिजनेस गरेको भिडियो देखिन्छन् त कहिले के । यही सिलसिलामा उनले आफ्नै आवाजमा रेकर्ड गराउँदै एउटा टिकटक हालेका छन्– पैसा भए सब छ, पैसा नभए कोही पनि छैन । त्यसैले साथी हो, पहिला पैसा कमाउ ।
कन्टेन्टमार्फत भ्युज बटुल्न हुटहुटिएका उनले एकदिन नयाँ जुक्ति लगाउँछन् र टिकटकमा भिडियो हाल्छन्– वान नाइट च्यालेन्ज इन पशुपति । ‘हामी पशुपति जाँदै छौँ । त्यहाँ गएर रातिरातिसबै जंगल देखाउछौँ । पूरा भिडियो भोलि आउँछ, अहिले लाइभमा पनि आउँछ,’ एकजना साथीको साथमा हिँडेका उनले भनेका छन्, ‘युट्यूबमा गएर हेरिदिनुहोला है !’
लगत्तै अर्को भिडियो छ, जसमा २३:५५ बजेको देखाइएको छ । मसानघाट पुगेर त्यहाँको दृश्य देखाउँदै उनीहरू दर्शकको ध्यान तानिरहेका छन् । यसरी रेकर्ड गरेको भिडियो युट्यूबमा पनि हाल्छन् ।
करिब ६ हजार सब्स्क्राइबर्स कट्न लागेको यो च्यानलमा सबैभन्दा पपुलर भिडियो छ– चोभारको मसानघाट र गुफा, लास्ट तर्सायो ।
उक्त भिडियोमा २६ हजार भ्युज छ । टिकटकमा भाइरल forzentertainment युट्यूबमा संघर्षरत नै देखिन्छ । देशका विभिन्न मसानघर र जंगलमा ‘घोस्ट हन्टिङ’ को नाममा रातभर कन्टेन्ट बनाउन हिँड्ने विजयको कन्टेन्ट हेर्न दर्शक पनि इच्छुक देखिन्छन् ।
केही दिनअघि काठमाडौंको सुन्दरीजल पुगेका उनीहरू केही दिनपछि चितवनको देवघाटमा मध्यरातमा देखिन्छन् । ‘देवघाटमा राति किचकन्नी र भूत देखिन्छ भन्ने सुनेको थिएँ । त्यसैले चितवन बसपार्कबाट त्यता लाग्दैछु । आज बबाल गर्नुपर्छ,’ विजयले भनेका छन् ।
यसरी विभिन्न ‘रहस्यमय र मिथक कथा बोकेको’ भूगोलमा पुगेर कन्टेन्ट बनाउनुलाई विजय र उनका साथीले आफ्नो कर्म ठानेका छन् । यद्यपि, उनीहरूले वास्तविकता जसरी प्रस्तुत गरे पनि त्यहाँ सुनाइएको आवाज र कथा ‘स्क्रिप्टेड’ नै देखिन्छन् ।
०००
‘हाई गाइज्, म एनटीएम । मेरो पछाडि छ, जेसी । हामी आज रानीबन पछाडि आइसकेका छौँ घोस्ट हन्टिङको लागि,’ एनटीएम भ्लगका क्रियटरले टिकटकमा भिडियो हालेका छन्, ‘मेरो साथी डराइरहेको छ । मिटरको साथमा आएका छौँ हामी । आज यो मिटरबाट भूत चेक गर्नुपर्छ । सबैजना १० बजेको लाइभमा आइदिनुहोला । न्यू प्लेस, न्यू घोस्ट हन्टिङ ।’
यो भिडियो करिब ५० हजारले हेरेका छन् । उनीहरूको लाइभमा पनि उस्तै भिड देखिन्छ । कतिपय दर्शकले ‘फेक भिडियो’ भन्दै कमेन्ट गरिरहेका हुन्छन् भने कतिपय विश्वास गरेर ‘आर यू सेफ ?’ भन्दै सोधिरहेका हुन्छन् । जेहोस्, यस्ता विषयलाई लिएर अधिकांश रमाइरहेको देख्न सकिन्छ ।
एनटीएमका घोस्ट हन्टर पनि विभिन्न रहस्यमय ठाउँ, जसबाट दर्शकको ध्यान तान्न सकिन्छ, त्यहाँ गइरहेका हुन्छन् । एकदिन यिनी प्रहरीको फन्दामा पनि पर्छन् । उनीहरूले भनेको ‘भूत चेक गर्ने मिटर’लाई प्रहरीले शंकास्पद ठान्छ र उपकरण नै नियन्त्रणमा लिन्छ । एनटीएमका अनुसार उक्त दिन घोस्ट हन्टिङको लागि जनुपर्ने समय घर्किसक्दा पनि सो उपकरण पाएका थिएनन् ।
खासमा उनीहरूले ‘घोस्ट डिटेक्टर मिटर’ भनेर भनिरहेको ईएमएफ (इलेक्ट्रो म्याग्नेटिक फिल्ड) मिटर हो । यसले वरिपरि भएको बिजुली र चुम्बकीय ऊर्जा नाप्छ । वैज्ञानिक आधारलाई हेर्दा तार, मोबाइल, वाईफाई जस्ता उपकरणबाट निस्कने ऊर्जा पत्ता लगाउने यन्त्र हो यो । तर घोस्ट हन्टिङ गर्नेहरूले यसैलाई प्रयोग गर्छन्् र असामान्य तरंग वा ऊर्जा देखियो भने त्यहाँ ‘आत्मा’ भएको संकेत हो भन्छन् । यिनै मिथ देखाएर दर्शकलाई झुक्याइरहेका हुन्छन् ।
अचम्म त के भने, घोस्ट हन्टिङ डिटेक्टर वा मिटर भनेर खोज्नुभयो भने सहजै अनलाइन बजारमा पाइन्छ । दराजमा मात्र करिब ८ हजारदेखि १८ हजार रूपैयाँसम्ममा यी सामान उपलब्ध हुने देखाइएको छ । एनटीएम भ्लग्सले भनिरहेको मिटर पनि यही हो । उनीहरू यही बोकेर विभिन्न जंगल र आर्यघाट/मसानघाटसम्म पुग्ने गर्छन् । र, कन्टेन्ट बनाउँछन् ।
यसरी घोस्ट हन्टिङ गर्ने ट्रेन्ड नेपालमा फैलिरहेको बुझ्न सकिन्छ, जुन विदेशतिर पनि ट्रेन्डमै छ । जस्तो, सामाजिक सञ्जाल रेडिटमा युवाहरूले r/GhostHunting नामको सब–रेडिट (ग्रुप) बनाएका छन्, जसमा करिब २२ हजार घोस्ट हन्टर रहेको देखिन्छ ।
यसमा एकदिन अघि मात्र iGemCityGoon नामको प्रयोगकर्ताले लेखेका छन्– मेरो साथी र म इन्डियानाका केही ठाउँहरूमा अनुसन्धान गरिसकेका छौं । हामी नयाँ टिम हौं र भूतप्रेतसँग सम्बन्धित कुराहरू अनुभव गर्न उत्साहित छौं । हामी असर वाल्टन हाउस, हन्ना हाउस र फाउलर थिएटर र जेलमा गइसकेका छौं । म अनुसन्धान गर्न सकिने ठाउँहरूको सूची बनाउँदै छु, तर यहाँ आएर पनि सुझाव माग्न चाहन्छु । कुनै सुझाव दिनुभयो भने अग्रिम धन्यवाद, ह्यापी हन्टिङ ।
सोही ग्रुपमा कतिले घोस्ट हन्टिङलाई आवश्यक उपकरण कसरी किन्ने भनेर सोधेको पनि देख्न सकिन्छ । रेडिट प्रयोगकर्ता JMR_10_5_12 ले सोधेका छन्, ‘म भूत खोज्ने काममा लाग्न चाहन्छु, कुन राम्रो उपकरण हो ? म घोस्ट हन्टिङ गर्न चाहन्छु, तर मलाई थाहा छैन कि अमेजन विश्वसनीय छ कि छैन ! तर ‘घोस्ट स्टप’ चाहिँ धेरै महँगो रहेछ ।’
उक्त पोस्टमा उनलाई अन्य प्रयोगकर्ताले विभिन्न सुझाव दिएका छन् । यसरी एकाखाले युवा पुस्तामाझ घोस्ट हन्टिङलाई लिएर लगाव रहेको देखिन्छ । विदेशबाट विभिन्न कार्यक्रम वा शोको नाममा सुरु भएको यो ट्रेन्ड अहिले मान्छेको हातहातमा पुगेको छ, जसलाई नेपाली युवाले समेत पछ्याउन थालेका हुन् ।
यू–गभ–अमेरिकाका अनुसार विश्वमा सबैभन्दा लोकप्रिय घोस्ट हन्टिङ कार्यक्रम ‘घोस्ट हन्टर्स’ हो । सन् २००४ मा सुरु भएको यो कार्यक्रममा वैज्ञानिक उपकरण र आधुनिक तरिकाहरू प्रयोग गरेर घोस्ट हन्टिङ गरेर देखाइन्छ । यो कार्यक्रमले विश्वभरका दर्शकहरूको मन जित्न सफल भएको थियो ।
यस्तै मस्ट हाउन्टेड, पारानर्मल स्टेटजस्ता अन्य चर्चित कार्यक्रम पनि लोकप्रिय छन्, जसबाट प्रभावित भएका युवाले अहिले आफ्नै मोबाइल फोन प्रयोग गरेर घोस्ट हन्टिङ भन्दै यूट्यूब/टिकटकमा पोस्ट गरेको देख्न सकिन्छ ।
‘क्रियटर्स आफैँ जिम्मेवार हुन आवश्यक छ’
नेपालजस्तो देशमा, जहाँ डिजिटल साक्षरताको स्तर कमजोर छ, घोस्ट हन्टिङजस्ता कन्टेन्टहरूले मनोरञ्जनको नाममा समाजमा गलत धारणा र अन्धविश्वास फैलाउने जोखिम बोकेको बताउँछन्, त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र अध्यापन गराउँदै आएका डा. दिपेश घिमिरे । उनका अनुसार कन्टेन्ट क्रिएटरहरू समाजका अभिन्न अंग हुन् र उनीहरूले आफ्नो कन्टेन्टले समाजमा पार्ने प्रभावप्रति पूर्ण जिम्मेवार हुनुपर्छ ।
यस्ता कन्टेन्टले विशेषगरी युवा र किशोरकिशोरीहरूमा डर, चिन्ता वा गलत विश्वास पैदा गर्नसक्छ, जसले उनीहरूको मनोवैज्ञानिक स्वास्थ्य र सामाजिक चेतनामा नकारात्मक असर पार्न सक्ने घिमिरेले बताए ।
‘त्यसैले क्रिएटरहरूले कन्टेन्ट बनाउनुअघि आत्ममूल्यांकन गर्नुपर्छ र आफ्नो कामले सामाजिक मूल्य–मान्यतामा आघात नपुर्याओस् भन्ने कुरामा सचेत रहनुपर्छ,’ उनले भने, ‘बरु डिस्क्लेमर राख्ने, वैज्ञानिक तर्कलाई समावेश गर्ने र कन्टेन्टलाई निश्चित उमेर समूहमा सीमित गर्ने जस्ता उपायहरूले यस्ता जोखिमलाई कम गर्न सकिन्छ ।’
घिमिरेको सुझाव छ– डिजिटल प्लेटफर्महरूमा उमेरआधारित फिल्टर वा प्रतिबन्धित पहुँचको व्यवस्था गरेर यस्ता कन्टेन्टको गलत प्रभावलाई रोक्न सकिन्छ । क्रिएटरहरूले आफ्नो रचनात्मक स्वतन्त्रतासँगै सामाजिक उत्तरदायित्वलाई सन्तुलनमा राखेर समाजमा सकारात्मक योगदान पुर्याउन आवश्यक छ ।
‘विज्ञानले भूत/प्रेत मान्दैन, यो गलत ट्रेन्ड हो’
युवाहरूमाझ लोकप्रिय हुँदै गएको घोस्ट हन्टिङजस्ता कन्टेन्टले समाजमा गलत धारणा र अन्धविश्वास फैलाउने खतरा बोकेको बताउँछन्, भौतिकशास्त्रका अध्यापक तथा स्युडोसाइन्स (छद्म विज्ञान) सम्बन्धी लेखक राजेन्द्र अधिकारी । उनका अनुसार विज्ञानले भूत–प्रेतको अस्तित्वलाई कुनै प्रमाणले पुष्टि गर्दैन र यस्ता कन्टेन्टहरू मनोरञ्जनको नाममा भाइरल हुने र आर्थिक लाभ कमाउने उद्देश्यले बनाइए पनि तिनले समाजमा नकारात्मक मनोवैज्ञानिक प्रभाव पार्छन् ।
विशेषगरी युवा र बालबालिकामा यस्ता कन्टेन्टले डर, चिन्ता वा गलत विश्वास पैदा गर्न सक्छ, जसले उनीहरूको तार्किक सोच र वैज्ञानिक चेतनालाई कमजोर बनाउने जोखिम देख्छन्, अधिकारी । उनले स्वीजरल्यान्डमा गरिएको एक प्रयोगको उदाहरण दिँदै भने, ‘भूतप्रेतमा विश्वास गर्ने व्यक्तिहरूलाई विशेष वातावरण (जस्तै, इलेक्ट्रोम्याग्नेटिक फिल्ड र अनौठा ध्वनिको प्रयोग) मा राख्दा उनीहरू आतंकित भए, तर विश्वास नगर्नेहरूमा त्यस्तो प्रभाव देखिएन ।’
यसबाट यस्ता कन्टेन्टले मनोवैज्ञानिक रूपमा दिमागमा डर र भ्रमको ठाउँ बनाउने कुरा पुष्टि हुन्छ । त्यसैले यस्ता क्रिएटरहरूले सामाजिक उत्तरदायित्वप्रति सचेत हुनुपर्नेमा प्राध्यापक अधिकारी जोड दिन्छन् । वैज्ञानिक अनुसन्धानका लागि बनेका उपकरणलाई ‘घोस्ट डिटेक्टर’ को रूपमा देखाएर भाइरल कन्टेन्ट बनाउनु गैरजिम्मेवार कार्य हो ।
अधिकारी भन्छन्, ‘यस्ता कन्टेन्टले समाजमा वैज्ञानिक चेतनालाई कमजोर पार्नुका साथै विशेषगरी युवा पुस्तालाई गलत दिशातर्फ डोर्याउन सक्छ । यस्ता मिथ र अन्धविश्वासलाई प्रविधिको प्रयोगबाट नयाँ स्वरूपमा स्थान दिइरहन्छ । त्यसैले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ, ख्यालख्याल लिन सकिँदैन ।’
प्रतिक्रिया 4