
६ भदौ, दाङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा दाङ जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका पहिलो स्थानमा परेको छ ।
यसपटक घोराही उपमहानगरपालिका दोस्रो, बंगलाचुली गाउँपालिका तेस्रो र गढवा गाउँपालिका चौथो स्थानमा छन् ।
राप्ती गाउँपालिका जिल्लामा पहिलो बन्न सफल भएको यो लगातार दोस्रो वर्ष हो ।
राप्तीले यस वर्ष कूल ८७.२५ प्रतिशत अंक ल्याएको छ । राप्ती गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ९.७५, सेवा प्रवाहमा १३ अंक प्राप्त गरेको छ । यसैगरी न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५० र सहकार्य तथा समन्वयमा ५ अंक प्राप्त गरेको छ ।
दोस्रो भएको घोराही उपमहानगरपालिकाले कूल ८७, तेस्रो भएको बंगलाचुली गाउँपालिकाले ८६.५० र चौथो भएको गढवा गाउँपालिकाले ८६.२५ प्रतिशत अंक प्राप्त गरेको छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० सूचक र एक सय प्रश्नहरू राखिएका छन् । ती सूचकमा ९ देखि १६ अंकसम्मको पूर्णाङ्क तोकिएको हुन्छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले तोकेका कार्य, जिम्मेवारी र उपलब्धिका आधारमा स्थानीय तहले स्वमूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, स्थानीय तहको सबल र दुर्बल पक्षको पहिचान गर्ने उद्देश्यले तयार गरिएको स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार सो नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गरिन्छ ।
प्रतिक्रिया 4