+
+
Shares
विचार :

असफल नेतृत्वको रजगजले निराश नयाँ पुस्ता

पटक–पटक नेतृत्व गर्ने अवसर पाउँदा पनि असफल भएकाहरूकै रजगज चलिरहँदा नयाँ पुस्ता निराश बनेको हो, लोकतन्त्र मन नपरेर होइन।

कृष्णबाबु श्रेष्ठ कृष्णबाबु श्रेष्ठ
२०८२ भदौ १२ गते ८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निराशा, थकान र दिक्दारी बीच सुखद् जीवनको झिनो आशा सँगाल्दै हाम्रा नौजवानहरूको ठूलो हिस्सा विदेश जाने लाममा उभिने क्रम दिनप्रतिदिन बढ्दो छ।
  • सन् १९९० पछि जन्मे–हुर्केको पुस्ताले आफ्नो देशको अवस्थालाई हिजोको आफ्नै अवस्थासँग हैन कि आजको विश्व–परिवेशमा तुलना गरेर हेर्छ।

‘एकसाथ यति धेरै मानिस निराश भएको विगतमा कहिल्यै अनुभव गरिएको थिएन।’ आम मानिस मात्र होइनन्, केही वर्षयता यस्ता अभिव्यक्ति शासन चलाइरहेकै दलका कतिपय नेताबाट पनि आइरहेका छन्। निराशाको ग्राफ घट्नु साटो वर्षेनि बढ्दो छ। सबैभन्दा बढी निराश जनसंख्याको ठूलो हिस्सा ओगटेको र सन् १९९० पछि जन्मे-हुर्केंको नयाँ पुस्ता देखिन्छ। कतिपय अध्ययनका तथ्याङ्कले स्वदेशमा सुखद् भविष्य नदेखेर यो पुस्ता निराश भएको देखाउँछ। कतिपयले यसलाई अतिरञ्जना त कतिले उमेरजन्य आवेग भनेको टिप्पणी पनि सुनिएकै हो। कारण र तर्क जेसुकै दिइए पनि यो पक्का हो नयाँ पुस्तामा निराशा बढ्दो छ। नयाँ पुस्ता मात्र होइन, राजनीतिलाई सेवाको माध्यम बनाउने सोच सहित विभिन्न पार्टीमा क्रियाशील रहेकाहरू समेत ब्याकफुटमा देखिन्छन्। त्यसैले यो गम्भीर समस्या बनेको छ।

नयाँ पुस्ता अवसरहरूको तलाउमा पौडन पाइरहेको भाग्यमानी पुस्ता हो। प्रविधिको द्रुततर विस्तार, खुल्ला समाज र विश्वव्यापीकरणको बढ्दो लहरसँगै हुर्किरहेको यो पुस्ताको सिकाइको पहुँच, स्कूल, कलेजको दायरा समेत नाघेर देश–देशावर वा विश्व–परिवेशमा उपलब्ध मञ्चहरूसम्म पुगेको हुन्छ। देशमा विद्यमान खुल्ला परिवेशको फाइदा उठाउँदै आफ्नो वृत्तिविकास र ज्ञानको पहुँचलाई असीमित बनाउने भरपूर अवसर समेत उपभोग गरिरहेको छ यो पुस्ताले। यस अतिरिक्त सामाजिक सञ्जालमा जोडिएर संसारभरिका समवयीसँग हातेमालो र अन्तरक्रिया गर्ने अवसर पनि पाइरहेको छ। त्यसैले यो मान्नुपर्छ कि उन्नत विश्व–परिवेश र प्राप्त अवसरका कारण उनीहरूको ज्ञान र सिकाइको दायरा तुलनात्मक रूपमा निकै फराकिलो छ। विश्वमा विकसित भैरहेको नयाँ आर्थिक राजनीतिक घटनाक्रमहरूबारे समेत यथेष्ट जानकारी राख्दछ यो पुस्ता। तर पनि उनीहरू निराश छन्, किन?

बढ्दो निराशाका पछाडि मुख्यत: आन्तरिक कारणहरू छन्। सबैलाई थाहा भएकै कुरा हो; देशमा रोजगारीको अवसर सीमित छ। रोजगारी मिलिहाले पनि त्यसबाट प्राप्त आम्दानीले दैनिक गुजाराका लागि समेत धौ–धौ हुने अवस्था छ। परिवारलाई आवश्यक सहयोग पुर्‍याउने र आफ्नै बलबुतामा घर बसाउने कुरा त ठूलै चुनौतीको कुरा भयो। आफ्नै निजी प्रयासमा केही व्यावसायिक वा सिर्जनात्मक जगेर्नाको काम थालौं न त भन्ने हो भने पनि पाइला-पाइलामा प्रशासनिक अड्चन लगायत अनेक खालका प्रतिकूलताको सामना गर्नुपर्ने अवस्था रहेको वास्तविकता भुक्तभोगीहरू बताउने गर्छन्।

अर्कोतिर, राजनीतिको मूलधारमा उनीहरूको सक्रिय सहभागितालाई सुनियोजित रूपमा बेवास्ता गरिएको छ। नयाँ पुस्तालाई आकर्षित गर्ने नवीन कार्यक्रम कुनै पनि मूलधारका दलसँग छैन। बरु हरेक दलभित्र झाङ्गिंदै गएको भ्रष्ट, नैतिकहीन एवं विधिविहीन संस्कृतिले तीव्र विकर्षणको वातावरण तयार हुँदैछ भन्दा अत्युक्ति नहोला। हामी अनुमान गर्न सक्छौं; यस्तोमा उनीहरू आफ्नो भविष्यप्रति कसरी ढुक्क हुने वा खुशी रहने ?

निराशाका कारकका रूपमा बाह्य कारणहरू पनि उत्तिकै पेचिलो रूपमा अगाडि आइरहेको देखिन्छ। जस्तो आर्थिक व्यवस्था विश्वव्यापी रूपमा असन्तुलित हुँदै गइरहेको हामीले भोगिरहेका छौं। जलवायु परिवर्तनको तीव्रताले सन्निकट भविष्यमा उत्पन्न हुनसक्ने भयावह सङ्कटको चपेटामा उनीहरू नै पर्नेछन्। यति नै बेला अप्रत्याशित रूपमा युद्ध भड्किएर क्रमश: फैलने क्रममा छ। युद्धको रापको प्रभाव विश्वको हरेक कुनाका मानिसहरूले विभिन्न तरिकाले भोगिरहेका छन्। यसका अलावा सामाजिक सञ्जालमा हरदम संलग्न हुनुपर्ने अहिलेको पुस्ताको सामाजिक बाध्यता नै छ। जसले उनीहरूको सामाजिक सीप विकासमा पनि संकुचन पैदा गरिरहेको छ। अझ ठूलो भय त कृत्रिम बौद्धिकताको बढ्दै गैरहेको आधिपत्यसँग कसरी तालमेल मिलाएर अघि बढ्न सकिने हो भन्ने अन्योल उत्पन्न गराएको छ।

विगत ३-४ दशकको अवधिमा कुनै पनि उपलब्धि नभएको भन्ने चाहिं हैन। जनताका जीवनस्तरमा उल्लेख्य सुधार भएका तथ्यहरू तथ्याङ्कहरूले देखाएका छन्। तर तत्कालीन अवस्थामा उही स्तरमा रहेका थुप्रै अन्य देशहरूको दाँजोमा हाम्रा उपलब्धिहरू चित्त बुझ्दा भएनन्। सन् १९९० पछि जन्मे–हुर्केको पुस्ताले आफ्नो देशको अवस्थालाई हिजोको आफ्नै अवस्थासँग हैन कि आजको विश्व–परिवेशमा तुलना गरेर हेर्छ।

अहिलेको युगमा प्रविधिको प्रभुत्व चलिरहेको छ। नयाँ प्रविधिहरूले मात्र देशको आर्थिक र राजनीतिक सुधार एवं उन्नयनमा सकारात्मक भूमिका खेल्न सक्छन्। नयाँ पुस्ता प्रविधिमैत्री पुस्ता हो, र उसले मात्र प्राविधिक नवप्रवर्तनको महत्व बुझ्ने क्षमता राख्छ। प्राविधिक नवप्रवर्तन समृद्धिको जग हो। नोबेल पुरस्कार विजेता लेखक डारेन आसेमोग्लु र जेम्स रबिन्सन आफ्नो पुस्तक ‘ह्वाई नेसन फ़ेल्स’ मा लेख्छन्— ‘पुरानोलाई नयाँले प्रतिस्थापन गर्ने र सीमित मानिसहरूमा निहित आर्थिक र राजनीतिक विशेषाधिकारको पनि कटौती गर्ने क्षमता नवप्रवर्तनमा मात्र हुन्छ।’

त्यसैले नवप्रवर्तनले मात्र मानव समाजलाई समृद्ध बनाउँछ। त्यसैले राष्ट्रलाई गति दिने हो भने प्रविधि मैत्री नयाँ पुस्ताको सत्तामा उल्लेख्य र सन्तुलित सहभागिता अनिवार्य हुन्छ। द्रुत गतिमा परिवर्तित भैरहेको विश्वको अवस्थालाई पर्गेल्न सक्ने र त्यो अनुसार नीति र विधिहरू तयार गर्न आधुनिक परिवेशमा दीक्षित नौजवानहरू वर्तमानमा राष्ट्रले उपयोग गर्न सक्ने वा गर्नुपर्ने ठूलो पूँजी हो। उनीहरूको अग्रसरता र सक्रिय सहभागिताबाट मात्र देशको अग्रगति सम्भव हुनेछ भन्ने वास्तविकतालाई हामीले कहिले बुझ्ने?

तर, यस्तो वास्तविकताको विपरीत नेतृत्वमा हालीमुहाली गरिरहेका पुराना नेता वा दलहरू नयाँ पुस्ताको भावना र गतिलाई सम्बोधन गर्ने विषयमा पूरापूर बेवास्ता गरिरहेछन्। के उनीहरू यस्तो जानाजान गरिरहेका छन्? कि उनीहरू मुख्य समस्याको भेउ समेत पत्ता लगाउने क्षमता राख्दैनन्। जबर्जस्त सामन्ती संस्कृतिको प्रभावका बीच भएको उनीहरूको हुर्काइ, बढाइ र शिक्षा-दीक्षा उनीहरूमा हाबी रहेको रुढीग्रस्त सामन्ती सोचको पछाडिको कारण हुन सक्छ। उनीहरू आफ्नो आत्ममुग्ध एवम् अहङ्कारजन्य स्वभावका कारण दलमा विद्यमान आफ्नो हैकम, दबदबा वा एकाधिकारलाई कुनै पनि हालतमा निरन्तर राख्न चाहन्छन्। उनीहरूको सत्तामा निरन्तरताको लालच माथि आम मान्छेको स्वाभाविक प्रश्न छ। यो प्रश्न उनीहरूको उमेरको कारण भन्दा पनि नेतृत्वको असान्दर्भिक निरन्तरता माथि हो। किनकि, उनीहरूबाट देशको सही वा सिर्जनात्मक नेतृत्व हुने वाला छैन।

देशमा बसेर केही गर्न सकिंदैन, देशमा बस्नु भनेको बर्वाद हुनु हो, देशभित्र सबै बिग्रेको-भत्केको मात्र छ भन्ने सङ्कथन निर्माण हुँदै गएको हो भने चाहिं यसलाई गम्भीर ढङ्गले लिनु आवश्यक छ।

सत्तामा दोहोरिरहेका नेताहरूको कमजोरीकै कारण विगतका आन्दोलनको आदेश विपरीत आज पनि राजकीय सत्ता मुट्ठीभर सम्भ्रान्त व्यक्तिहरूको कब्जामा छ। दलाल बिचौलियाको स्वार्थमा राज्य शक्तिहरू परिचालित भैरहेका प्रमाणहरू भेटिन्छन्। राजनीतिमा केका लागि रहने, र सत्तामा कुन प्रयोजनका लागि जाने भन्ने विषयमा समेत स्पष्ट दृष्टिकोणको अभाव रहेको देखिन्छ। उनीहरूमा ‘समभाव’ को अभाव स्पष्ट देखिन्छ, जुन राजनीतिक व्यक्तिहरूमा हुनुपर्ने उच्चस्तरको गुण हो। राजनीतिमा विधि-विधान भन्दा मूल्य र मान्यताको स्थान माथि रहन्छ।

तर मूल्य-मान्यताको जग बसाउने काममा विद्यमान नेताहरूबाट ठूलै बेइमानी भएको छ। आफ्नो जिम्मेवारीमा प्रत्येक पटक असफल सावित भइसकेपछि पनि सत्तामा निरन्तरताका लागि सम्भव भएसम्मका जालझेल बुन्न तल्लीन हुनु, र सम्बन्धितहरूबाट प्रतिरोधका लागि कुनै प्रयास हुन नसक्नु निराशाजनक अवस्था हो। सधैं उनै व्यक्तिहरूको रजगज देखेर नयाँ पुस्ता थाकेका र दिक्दार छन्। यस्तोमा देशमा केही हुन्छ भन्ने आशा-भरोशा टुट्नु स्वाभाविक हो।

नेतृत्वमा नयाँ र पाकाहरूको सन्तुलित उपस्थिति दलको गतिशीलताको प्रमुख आधार हो। द्रुत गतिमा परिवर्तन भइरहेको आजको प्रविधिमैत्री उन्नत विश्वमा दलमा आवधिक रूपमा नयाँ पुस्ताहरूको सहभागिता बढाउन सकिएन भने त्यस्ता दलहरूले समाज वा राज्य प्रणालीको सही ढंगको नेतृत्व कसरी गर्न सक्ला ? सन्निकट भविष्यका सम्भावित सङ्कटबारे चिन्ता गर्ने र सुरक्षित भविष्यको तयारीको अधिकार स्वत: नयाँ पुस्ताले पाउनुपर्नेमा राजनीतिको मूल धारमा प्रवेश पाउने वातावरणसम्म तयार नहुँदा उनीहरूमा भयङ्कर निराशा र अलमल देखिनु स्वाभाविक हो।

यस्तो अवस्थाले उनीहरूमा असन्तुष्टि, आक्रोश र निराशाको मात्रा चुलिंदै गैरहेको सबैतिरबाट महसुस भैरहेको छ। निराशाको यो अवस्था नागरिकको ठूलो तहमा असन्तोषको रूपमा फैलिसकेको वास्तविकतालाई नेताहरू नजरअन्दाज गरिरहेका छन्।

उता, यो अवस्थालाई निरङ्कुश, पपुलिस्ट, राष्ट्रवादी र राजावादी राजनीतिक समूहहरू आफ्नो पक्षमा पार्दै शक्ति बढाउने दाउ हेरिरहेका छन्। उनीहरू सामाजिक सञ्जालको रचनात्मक र उच्च दक्षताका साथ प्रयोग गर्न काबिल छन्। त्यसैले नौजवानहरूमा आफ्नो प्रभाव फैलाउन सफल छन्। राजनीतिको मूलधारबाट आफूलाई अलग गरिएको महसुसकै कारण नयाँ पुस्ता लोकप्रियतावादीहरूको पञ्जामा पर्ने सम्भावना बढ्दै गएको मान्न सकिन्छ।

यस्तै निराशा, थकान र दिक्दारीका बीच सुखद् जीवनको झिनो आशा सँगाल्दै हाम्रा नौजवानहरूको ठूलो हिस्सा विदेश जाने लाममा उभिने क्रम दिनप्रतिदिन बढ्दो छ। यो हुलमा बाध्यता नभएर पनि विदेशिनेहरू समेत होलान्। तर, महत्वपूर्ण हिस्सा देशमा अवसर वा कुनै उपाय नभेट्नेहरूकै छ। सत्तासीनहरू यसलाई निराशा फैलाइएको अर्थमा बुझ्छन्, र त्यही अनुसार व्याख्या गरिरहेका छन्। वास्तविकता, निराशाको वातावरण तयार भएको हो, फैलाइएको होइन। कसको कारण ? सत्तासीनहरूकै गैरजिम्मेवारीपन र अक्षमताको कारण।

सपना देख्ने, त्यसका लागि सङ्घर्ष गर्ने वा जुनसुकै चुनौतीका लागि तयार हुने युवा चरित्र नै हो। यस अर्थमा जीवन सङ्घर्षको सुरुआती दिनहरूमा उनीहरूले लिएको निर्णय त्यति ठूलो चिन्ताको विषय बन्नुहुँदैन। बरु मनन गर्नुपर्ने गम्भीर विषय चाहिं उनीहरूले देशमै बसेर काम गर्ने अवसर र वातावरणका लागि हाम्रा तर्फबाट भएका प्रयास कति पर्याप्त थिए वा छन् भन्ने हो। तर देशमा बसेर केही गर्न सकिंदैन, देशमा बस्नु भनेको बर्वाद हुनु हो, देशभित्र सबै बिग्रेको-भत्केको मात्र छ भन्ने सङ्कथन निर्माण हुँदै गएको हो भने चाहिं यसलाई गम्भीर ढङ्गले लिनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?