+
+
Shares
विचार :

बीपीको सोचबाट विमुख तरुण दल

बेथिति विरुद्ध लड्न बीपीले तरुण दल बनाएका थिए। तर, तरुण दल नयाँ पुस्तामा आशा जगाउने, उनीहरूलाई बेथिति विरुद्धको अभियानमा जोड्ने भूमिकामा कमजोर छ।  

हरिशचन्द्र भण्डारी हरिशचन्द्र भण्डारी
२०८२ भदौ ११ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तरुण दल स्थापनाको उद्देश्य नै भ्रष्टाचार अन्त्य, तानाशाही प्रवृत्ति विरुद्ध लड्नु, स्वतन्त्रता तथा प्रजातन्त्र स्थापना तथा जनताको अधिकार सुनिश्चित गर्नु थियो।
  • नेपाल तरुण दल हिजो जसरी एउटा उद्देश्य, लक्ष्य लिएको जन्मबाट शुरुआत भएको थियो, आज त्यसको औचित्य समाप्त भएको छैन।
  • युवाहरूको ठूलो जमातले भ्रष्टाचार, कुशासन र बेथिति विरुद्ध बोल्ने र आशा जगाउने प्लाटफर्म खोजिरहेको छ। जुन सबैभन्दा पुरानो संगठनको रूपमा तरुण दल हुनसक्छ।

नेपालको हरेक राजनीतिक आन्दोलनमा तरुण युवाहरूको अतुलनीय योगदान छ। १०४ वर्षे जहानियाँ राणाशासनदेखि आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुग्दा हजारौं युवाले बलिदानी दिएका छन्। एकतन्त्रीय, तानाशाही शासन व्यवस्था पल्टाएका छन्। जनताको सहभागितामूलक र समावेशी शासन स्थापित गर्न भूमिका खेलेका छन्। समयक्रममा भएका व्यवस्थाहरू परिवर्तनको एउटा हिस्साको रूपमा नेपाल तरुण दल रहँदै आएको छ। परिवर्तनको हुटहुटी र वाहकको रूपमा रहेका नौजवानहरू समेटेर नेपाली राजनीतिका महापुरुष बीपी कोइरालाले २०१० साल कात्तिक १० गते नेपाल तरुण दलको स्थापना गरेका थिए।

नेपाली समाजमा व्याप्त सामन्ती संस्कार, विभेद, सीमित वर्गको हालीमुहाली, पछौटेपनसँग लड्न र नेपाली जनताको मुक्तिका लागि संघर्ष गर्न बीपीको परिकल्पनामा खुलेको तरुण दलले थुप्रै आन्दोलन र परिवर्तनमा अग्रणी योगदान गरेको छ। चाहे त्यो २०१७ सालको कु होस्, चाहे २०३६ सालको जनमतसंग्रह, चाहे २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को दोस्रो जनआन्दोलन; यी सबै मुभमेन्टहरूमा युवाहरूलाई जागरुक गराउन तरुण दलको भूमिका अग्रपंक्तिमा रह्यो। नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र दैनिकीमा परिवर्तन ल्याउन तरुण दलले युवाहरूमा उन्नत चेतको विकास गर्ने काम पनि गर्‍यो।

तरुण दललाई हाँकेका अग्रजहरूका अनुसार यसको इतिहास गौरवशाली छ। नेपाली राजनीतिमा क्रान्तिको नेतृत्व गरेका टावरिङ नेताहरूको छत्रछायाँमा हुर्केको तरुण दलले युवाहरूमा साँच्चिकै जागरण ल्याएको विरासत छ। यसको उद्देश्य नै भ्रष्टाचार अन्त्य, तानाशाही प्रवृत्ति विरुद्ध लड्नु, स्वतन्त्रता तथा प्रजातन्त्र स्थापना गर्नु तथा जनताको अधिकार सुनिश्चित गर्नु थियो। बीपी कोइरालाले संक्रमणकालीन समयमा पार्टीभित्रका सामन्ती र भ्रष्ट प्रवृत्तिलाई प्रतिवाद गर्न तथा सामाजिक–आर्थिक रूपान्तरणका लागि एक युवा दस्ताको रूपमा प्रयोग गरेको इतिहास छ।

तर, आजको दिनमा हेर्दा तरुण दल छ पनि छैन पनिको अवस्थामा पुगेको छ। कांग्रेसका पुराना नेता एवं वर्तमानमा प्रतिनिधिसभाका सांसद हृदयराम थानीको भनाइमा तरुण दल अधिवेशन पनि गर्न नसक्ने गरी अहिले कोमामा पुगेको छ। भ्रष्टाचार, कुशासन, महँगी, बेथितिले आकाश चुमिरहेका बेला सशक्त भूमिका देखाउनुपर्ने तरुण दल अहिले कुहिरोमा हराएको काग जस्तो भएको छ। संगठन लथालिंग अवस्था छ। नेतृत्वले सही दिशामा अगाडि बढाउन सकेको देखिंदैन। तरुण दलभित्रै व्यापक जागरणको खाँचो देखिएको छ।

सबै नेपालीलाई अधिकारसम्पन्न र समृद्ध पार्ने नेपाली कांग्रेसको लक्ष्यअनुरुप युवाहरूको साथ लिन खोलिएको तरुण दलले राजनीतिक अधिकारका साथै सामाजिक, आर्थिक समानताका लागि समेत लडेको ऐतिहासिक पृष्ठभूमिमा आज भने अस्तित्व रक्षाको संकटसँग जुधिरहेको छ। संस्थाको गर्विलो इतिहास नै ओझेलमा परेको छ। युवाहरूमा जागरण ल्याएको तरुण दल आज युवाविहीन छ। युवामा बढेको निराशालाई चिर्ने, आशा जगाउनबाट विमुख भइरहेको छ।

माउ पार्टी (कांग्रेस) पनि संगठनको महत्व र परिचालनमा चुकेको छ। यसको आवश्यकता छैन भन्ने व्यवहार प्रदर्शन भइरहेको छ। अर्कोतिर तरुण दलको हस्तक्षेपकारी भूमिका, पार्टी नेतृत्वलाई झक्झक्याउने भूमिका पनि ओझेलमा परेको अनुभूति तरुणहरूले गरेका छन्।

 कहाँ चुक्यो तरुण दल ?

बीपी कोइरालाले हिजो जुन उद्देश्यका साथ तरुण दललाई अगाडि बढाए, हालको तरुण दल त्यसअनुसारको सिद्धान्तमा अगाडि बढेको छैन। युवाहरू परिवर्तनका वाहक हुन् र कुनै पनि संगठनको मेरुदण्डका रूपमा बेथिति विरुद्ध परिचालन गर्नुपर्छ भन्ने बीपी मान्यता अहिले खण्डित भएको छ। प्रविधिको प्रयोगले समयक्रममा आएको तीव्र परिवर्तन, जेनजी हुँदै अल्फा पुस्तासम्म पुगेको युगमा तरुण दल सुस्त मात्र होइन, गतिहीन देखिन्छ। नयाँ पुस्तामा आशा जगाउने, उनीहरूलाई बेथिति विरुद्धको अभियानमा जोड्ने भूमिकामा तरुण दल कमजोर छ। भ्रष्टाचार, कुशासन र बेथितिलाई टुलुटुल हेरेर बसिरहेको छ। नेताहरूको कमजोरीमा प्रतिवाद गर्नुपर्नेमा मौन बसिरहेको छ। महँगी नियन्त्रण, बेरोजगारी अन्त्यमा हस्तक्षेपकारी भूमिका देखाउन सकेको छैन। समयमा अधिवेशन र नेतृत्व हस्तान्तरण जस्तो लोकतान्त्रिक प्रक्रिया पनि जटिल बन्न पुगेको छ। जसका कारण पछिल्ला पुस्ताका युवालाई जोड्न सकिएको छैन।

तैपनि आजको दिनमा तरुण दलको भूमिका समाजले खोजेको छ। युवाहरूको ठूलो जमातले भ्रष्टाचार, कुशासन र बेथिति विरुद्ध बोल्ने र आशा जगाउने प्लाटफर्म खोजिरहेको छ। जुन सबैभन्दा पुरानो संगठनको रूपमा तरुण दल हुनसक्छ। तर, त्यसको लागि तरुण दल आफैंमा सक्रिय र संगठन सञ्चार हुन जरूरी छ।

 अबको बाटो

तरुण दल समेतको सहभागितामा कैयन् परिवर्तनहरू भए पनि आज नागरिकको आर्थिक जीवनस्तरमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन। युवाहरूमा निराशा, वितृष्णा र नकारात्मकता व्याप्त छ। बेरोजगारीले पलायनवादी सोच हावी भइरहेको छ। प्रणालीगत भ्रष्टीकरणले सुधार हुन्छ भन्ने सोचाइ युवाहरूमा छँदै छैन। जताततै भ्रष्टाचार, कुशासन र बेथितिहरूको बिगबिगी भइरहेका बेला हस्तक्षेपकारी भूमिका खेल्ने मौका तरुण दललाई छ। तर, यसको लागि दूरदर्शी नेतृत्व, सुशासनप्रतिको प्रतिबद्धता जरूरी छ। आज समाजको मुख्य समस्या भनेको भ्रष्टाचार र कुशासन नै हो। साथसाथै समाजमा नैतिक मूल्य–मान्यताहरू पनि क्षयीकरण भइरहेका छन्। यसबाट युवाहरू आजित र प्रताडित छन्। बेरोजगारीले व्यवस्था र प्रणालीप्रति वितृष्णा बढाइरहेको छ।

अर्कोतिर, देश र जनतालाई समृद्ध बनाउने चुनौती छ। यो बीचमा तरुण दलले सशक्त भूमिका खेल्नुपर्ने आजको आवश्यकता र बाटो हो। त्यसको लागि तरुण दलको हिजोको सिद्धान्तलाई अलिकति परिमार्जन गरेर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नुपर्छ। शिक्षा, रोजगारी सिर्जना, गरिबी निवारणमा आवाज उठाउनुपर्छ। जनताका यी मुद्दाहरूमा फोकस गरेर पार्टीलाई झक्झक्याउनुको साथै देशलाई नै एउटा परिवर्तनको बाटोमा अगाडि बढाउनुपर्ने बाटो आजको तरुण दलले अंगीकार गर्नुपर्छ। तरुण दललाई पुनर्जागृत गरी भ्रष्टाचार, कुशासन र बेरोजगारी जस्ता मुद्दाहरूमा केन्द्रित गराई देश र जनताको समृद्धिका लागि अग्रसर गराउनुपर्छ।

नेपाल तरुण दल हिजो जसरी एउटा उद्देश्य, लक्ष्य लिएको जन्मबाट शुरुआत भएको थियो, आज त्यसको औचित्य समाप्त भएको छैन। वास्तवमा तरुण दलको औचित्य यस समयमा अझ बढी आवश्यक देखिएको छ। हाम्रा महान आदेश, विचार र सिद्धान्तलाई जनमानसमा पुर्‍याई समाजमा भइरहेको गलत प्रवृत्तिहरूमा आज सशक्त रूपमा आवाज उठाएर देशलाई एउटा सशक्त, स्थायी उन्नतिको मोडमा उभ्याउनुपर्ने जिम्मेवारी एकपटक तरुण युवा तथा साथीहरूले मनन गर्नुपर्छ। समाज र देशलाई समृद्धिको अनुभव हुने गरी यस बाटोमा लाग्न र गलत प्रवृत्ति जसले जनतालाई भ्रम छर्ने र देशलाई विभिन्न माध्यमबाट विखण्डन गर्ने, जनतालाई निराश बनाउने जस्ता क्रियाकलापहरूलाई निस्तेज पार्न आजको आवश्यकता हो। तरुण दलले यो दिशामा अभियान चलाउनुपर्छ। यसका लागि नेतृत्वमा इमानदारी, मिहिनेत र असल सामाजिक सोच आवश्यक छ।

तरुण दल आजको दिनमा धेरै राम्रो हुन नसकेर स्केप भएको छ। पछाडि हटेको छ। साइलेन्स बसेको छ। अब समयमा अधिवेशन हुनुपर्छ। संगठन आवधिक अधिवेशनको चक्करमा अल्झिनुहुँदैन। पार्टीको आन्तरिक विवादको भुमरीमा तरुण दललाई बन्धक बनाउनुहुँदैन। अब आउने नेतृत्वले सशक्त रूपमा राम्रो मुद्दाहरू उठाएर सम्पूर्ण युवाहरूलाई समेटेर जाने हाम्रो अभियान हुनुपर्छ।

तरुण दल पनि पार्टीभित्रको विवादको शिकार भएको छ। त्यसकारण उसले आफ्नो संरचनाहरू अगाडि बढाउन, बढ्न सकिरहेको छैन। मुद्दाहरू पनि उठाउन सकिरहेको छैन। अब फेरि तरुण दललाई पुनर्जागृत गरेर युवाहरूको सशक्त संगठनको रूपमा एउटा पार्टी कांग्रेसको मात्र होइन, युवाहरूको सशक्त संगठनको रूपमै अगाडि बढाएर जानु आजको आवश्यकता हो। यसो हुँदा तरुण दलप्रति गुमेको विश्वास फर्किन्छ र तरुणहरूको प्रभाव पनि बढ्दै जानेछ।

(लेखक भण्डारी तरुण दलका केन्द्रीय सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?