
१० भदौ, काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको मुख्य नारा तय गरेको छ ।
दोस्रो विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो नारा राजनीतिक प्रतिवेदनले टुंगो लगाएको हो ।
भदौ २० गतेदेखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लोगो भने टुंगो लाग्न बाँकी छ ।
विधान महाधिवेशनको तयारीका निम्ति एमालेले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ ।
अति आवश्यक आवास व्यवस्थापनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ । यद्यपि एमालेले प्रतिनिधिहरूका निम्ति आवासको व्यवस्था गरेको छैन । प्रतिनिधिहरूबाट कुनै शुल्क नलिने, तर आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय एमालेले गरेको छ । यद्यपि आफैं आवासको व्यवस्था गर्न नसक्नेहरूका निम्ति लालबाबु नेतृत्वको टीमले आवश्यक व्यवस्था गर्नेछ ।
भिष्म अधिकारीको नेतृत्वमा खाद्य व्यवस्था र केन्द्रीय सचिवालय व्यवस्थापनको काम हुनेछ । प्रचार तथा प्रकाशन उपसमितिको संयोजन राजेन्द्र गौतम, मञ्च व्यवस्थापनको संयोजन विनोद श्रेष्ठ, स्वास्थ्य व्यवस्थापन संयोजन कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन संयोजन भानुभक्त ढकाल र सांस्कृतिक फाँटको संयोजन हेमराज राईले गरिरहेका छन् ।
प्रतिक्रिया 4