
१२ भदौ, काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ ।
मिनेसोटाका गभर्नर टिम वाल्जले दिएको जानकारी अनुसार एननसिएशनको क्याथोलिक स्कुलमा गोली चलेको हो । किन्डरगार्टनदेखि आठ कक्षासम्मका विद्यार्थीहरुले प्रार्थना गरिरहेका बेला गोली चलेको थियो । गभर्नर वाल्जले यो आक्रमणलाई ‘भयानक हिंस्रक कार्य’ भनेका छन् ।
अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार सेमी अटोमेटिक हतियार बोकेर आएका व्यक्तिले गोली चलाएका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन् ।
आक्रमणकारी नै मारिएकाले अब थप खतरा नरहेको अधिकारीहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनामा दु:ख व्यक्त गर्दै चुस्त सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
अमेरिकामा हतियार सजिलै किनबेच गर्न पाइने भएकाले गोलीकाण्डका घटना सामान्यजस्तो हुँदै गएका छन् । त्यसैले बेलाबेलामा कडा कानुनको मागसमेत उठ्दै आएको छ ।
प्रतिक्रिया 4