News Summary
Generated by OK AI. Editorially reviewed.- म्यानचेष्टर युनाइटेड इएफएल कपको दोस्रो चरणमै चौथो डिभिजनको ग्रिम्स्बीसँग पराजित भएको छ ।
- ग्रिम्स्बीको बुन्डेल पार्कमा भएको खेल २-२ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमा ग्रिम्स्बीले जित हासिल गरेको हो ।
- यस नतिजालाई इंग्लिस फुटबलको अप्रत्यासित नतिजाको रुपमा हेरिएको छ ।
१२ भदौ, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इएफएल कपको दोस्रो चरणमै चौथो डिभिजनको ग्रिम्स्बीसँग अप्रत्यासित रुपमा पराजित भएको छ ।
ग्रिम्स्बीसँग सडनडेथमा पराजित भएपछि युनाइटेड इएफएल कपको दोस्रो चरणबाटै बाहिरिएको हो ।
यसलाई इंग्लिस फुटबलमा आएको ठूला अप्रत्यासित नतिजामध्ये एक मानिएको छ ।
ग्रिम्स्बीको घरेलु मैदान बुन्डेल पार्कमा बुधबार भएको खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । पहिलो हाफमै दुई गोलले पछि परेको युनाइटेडले अन्तिम १५ मिनेटमा पुनरागमन गर्दै दुई गोल गरेपछि पेनाल्टीमा चुक्यो ।
पेनाल्टीमा ग्रिम्स्बीका लागि डराघ बर्न्सले दुई पटक गोल गरे । यस्तै जेज काबिया, रिस स्टाउन्टन, हेनरी ओस्कर ब्राउन, क्यामरुन म्याकजेनेट, गेजा डेविड टुरी, जेडेन स्विनी, इभन खुरी, टायरेल वारेन र क्रिस्टी पिमले पेनाल्टीमा गोल गरे भने क्लार्क ओडुरले गोल गर्न सकेनन् ।
यस्तै युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले दुई पेनाल्टीमा गोल गरे । ब्रायन एमबेउमो, डिएगो डालोट, जोशुआ जिर्कजी, कोबी माइनो, ह्यारी मग्वायर, म्याथिस डी लिग्ट, बेन्जामिन सिस्को र आन्द्रे ओनानाले गोल गरे । एमबेउमोले दोस्रो पेनाल्टीमा गोल गर्न सकेनन् भने म्याथ्यु कुन्हाले पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसअघि ग्रिम्स्बीका लागि चार्ल्स वेर्नाम र टायरेल वारेन तथा युनाइटेडका लागि ब्रायन एमबेउमो र ह्यारी मग्वायरले गोल गरेका थिए ।
प्रतिक्रिया 4