+
+
Shares

सरकारले किसानलाई बाँड्न पठाएको अनुदानको २ सय बोरा मल व्यापारीको गोदाममा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १७:४४

१२ भदौ, उदयपुर । सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल व्यापारीको गोदाममा लुकाइएका अवस्थामा बरामद भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले बिहीबार बिहान व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा छापा मार्दा अनुदानको मल फेला परेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेको नेतृत्वको टोलीले उक्त मल बरामद गरेको हो । गोदामलाई अहिले शिलबन्दी गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पाण्डेले बताए ।

‘मल क–कसको संलग्नतामा लुकाइयो । कसको मिलेमतो छ भन्नेबारे पूर्ण छानबिन हुन्छ । कारबाहीका लागि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छौं,’ पाण्डेले भने ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले पनि घटनामा संलग्नमाथि कारबाही गर्न आजै छानबिन समिति गठन गर्ने बताए ।

कटारी क्षेत्रमा लामो समयदेखि रासायनिक मलको अभाव चुलिँदै आएको छ । व्यापारीहरूले अनुदानमा आएको मल लुकाएर कालोबजारी गरी महँगोमा बिक्री गर्दै आएको किसानहरूको आरोप छ ।

कृषक माधव धमलाले भने, ‘सरकारले किसानलाई सहजै मल पुर्‍याउने नीति लिएको सुनिन्छ । तर यता अनुदानकै मलमा समेत कालोबजारी हुने गरेको छ । अनि हामी महँगोमा किन्न बाध्य हुँदै आएका छौं ।’

सरकारले स्थानीय तहको सिफारिसमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थामार्फत सिधै मल पु‍र्‍याउने व्यवस्था गरेको बताउँदै आएको छ । तर अनुदानकै मल समेत व्यापारिको गोदाममा भेटिएको छ ।

अनुगमनको क्रममा टोलीले कटारी बजारका २८ पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब १ लाख २० हजार रुपैयाँ बराबरको म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ र सूर्ती जफत गरी आजै नष्ट गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले बताइन् ।

त्यसैगरी कानुनविपरीत व्यापार गरेको भन्दै अञ्जली पाउरोटी उद्योग, रञ्जना स्टोर्स र कमलामाई बेकरी लाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?