
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको पोल्ट्री व्यवसाय पाँच वर्षअघिसम्म चलायमान थियो तर अहिले ८० प्रतिशत कुखुरापालक किसान विस्थापित भएका छन्।
- पोल्ट्री व्यवसायमा बैंक ऋण र लागत अनुसारको मूल्य नपाउँदा व्यवसायीहरू संकटमा परेका छन् र रोजगारी गुमेको छ।
- पोल्ट्री क्षेत्रमा उत्पादनसँग सम्वन्धित सूचकहरू नकारात्मक भए पनि अण्डा, चल्ला र मासुमा भने लागत अनुसारको रकम पाउन थालेकाले केही राहतको महसुस गर्न थालेको व्यवसायीहरू बताउँछन् तर यसमा दिगोपनाको चिन्ता भने उत्तिकै छ ।
१६ भदौ, चितवन । कुनै बेला वैदेशिक रोजगारीबाट फर्किएका युवा र स्वदेशमै बसिरहेकाहरुको पहिलो रोजाइको क्षेत्र हुन्थ्यो, पोल्ट्री व्यवसाय । सानो लगानीमा पनि सिजनमा राम्रो आम्दानी हुने भएकाले यसतर्फ युवाहरूको आकर्षण थियो । यसैकारण गाउँ गाउँसम्म कुखुरा पाल्ने चलन फस्टाएको थियो । साना, मध्यम र ठूला व्यवसायीहरु बीच अनोन्याश्रित सम्बन्ध थियो । हजारौं मानिसहरुको रोजगारी यसैबाट चलेको थियो । निकै सानदार ढंगले जीवन चलाएका थिए, पोल्ट्री क्षेत्रमा लागेका व्यवसायीहरुले ।
यो धेरै वर्ष अगाडिको कुरा होइन । आजभन्दा पाँच वर्ष अगाडिसम्म पनि चितवनको पोल्ट्री क्षेत्र निकै चलायमान त थियो नै नमूना र सम्झन योग्य पनि । तर अहिले पोल्ट्री क्षेत्र संकटग्रस्त छ । विगतका ती दिन आज सम्झदा व्यवसायीहरुलाई सपना जस्तो लाग्छ– हिजो कसरी त्यस्तो भयो र आज किन यस्तो संकटले घेर्यो ?
घर छेउमा खोरहरु बनाएर कुखुरा पाल्ने गरेका साना व्यवसायीहरु विस्थापित भएको धेरै भयो । अहिले पनि त्यसरी बनेका खोरहरु विभिन्न ठाउँमा प्रयोगविहीन र जीर्ण सकिन्छ ।
साना किसानको संख्या घटे पनि उत्पादन भने खासै घटेन । किनकी साना किसानको ठाउँ ठूला किसानले लिएका थिए । व्यवसायिक र ठूला लगानीका फार्मले माग र आपूर्तिको सन्तुलन मिलाएका थिए । अहिले साना व्यवसायीहरु सबैजसो पलायन भैसकेका छन् भने मध्यम व्यवसायी र ठूला व्यवसायी पनि कठिन अवस्थाबाट गुज्रिएका छन् ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट तथ्यांक सुनाउँछन्, ‘अहिले करिब ५० हजारदेखि पाँच लाखसम्म कुखुरा पाल्ने किसान जम्माजम्मी ५० जना छन् । ८० प्रतिशत कुखुरापालक किसान विस्थापित बनेका छन् । बाँकी रहेका २० प्रतिशतले पनि बैंकबाट ऋण थपेर संकटमा व्यवसाय टिकाइरहेका छन् ।’
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने गत वर्षसम्म बैंकको चर्को ब्याज, दानाको मूल्य वृद्धि र अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग संकटमा परेको बताउँछन् ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल भने सन्नाटामा गुज्रिरहेको पोल्ट्री क्षेत्रमा अब भने केही आशाका किरणहरु देखिन थालेको बताउँछन् । ‘तर संकट भने निकै गहिरो बनेकाले उठ्न भने समय लाग्छ,’ उनी भन्छन् ।
तीव्र शहरीकरण, भारतीय मासु तथा चल्लाहरू निर्वाध भित्रिने, दानाको कच्चा पदार्थमा मूल्यवृद्धि, बैंकहरूबाट हुने तनाव र लागत अनुसारको मूल्य पाउन नसक्दा व्यावसायी धरासायी बनेको व्यवसायीहरु बताउँछन् ।
‘जग्गाको मूल्य आकासिएको छ र सामाजिक रूपमा पनि फार्म चलाउन समस्या छ । त्यसैले कतिपय व्यवसायीहरु अन्यत्रै सिफ्ट भएका छन्,’ पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष लामिछाने भन्छन्, ‘कतिपय व्यवसायीहरुलाई इज्जत र बैंकको ऋणका कारणले मात्रै व्यवसाय चलाउनुपरेको छ ।’
एक खर्ब ५० अर्ब लगानी रहेको पोल्ट्री व्यवसायमा करिब ५० प्रतिशत लगानी बैंकहरुको रहेको बताउँदै उनी भन्छन्, ‘तर लागत अनुसारको रकम नपाउँदा बैंकमा किस्ता बुझाउन धेरै पोल्ट्री व्यवसायीलाई समस्या छ ।’
‘विगतमा पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको व्यवसाय धान्न मुस्किल भएको छ । व्यवसाय बन्द हुँदा सयौंले रोजगारी गुमाएका छन्,’ मञ्चका निवर्तमान अध्यक्ष लामिछाने भन्छन् ‘पलायन भएका साना व्यवसायी पनि बैंकको पासोमा परेका छन् । ऋण तिर्न नसक्दा कहिले बैंकको कालोसूचीमा परेर लिलामी हुने हो भन्ने अवस्था छ ।’
भारतबाट अवैध रूपमा भित्रिने चल्ला, मासु तथा कच्चा पदार्थको चर्को भन्सार महसुलले गर्दा उत्पादनमा असर गरेको पोल्ट्री व्यवसायीहरुको भनाइ छ । उनीहरु राज्यले स्वदेशी उद्योगी र उत्पादन बढाउन भन्सारबाट हुने अवैध गतिविधिमा रोक लगाउनुपर्ने बताउँछन् ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले ५ वर्ष अगाडिसम्म दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २५ लाखको हाराहारीमा आएको बताए । ‘पहिले देशभर करिब ८ सय लेयर्स कुखुरापालक किसान भएकोमा अहिले संख्या घटेर १५० को हाराहारीमा आएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘७ वर्षसम्म अण्डाको मूल्य लागत अनुसार नपाउँदा व्यवसायीहरु मारमा परेका छन् ।’
राज्यलाई पटकपटक लागत अनुसारको मूल्य तोकिदिन अनुरोध गर्दा पनि सुनुवाइ नभएको र ७० प्रतिशत लेयर्स कुखुरा पालक किसान सरकारको गलत नीतिका कारण विस्थापित भएको उनी बताउँछन् ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीको संख्या देशभरमा १४ बाट घटेर ७ वटामा झरेको जानकारी दिए । ७ वटा ह्याचरीले एक हप्तामा १ लाख ४० हजार जति लेयर्स चल्ला उत्पादन गर्ने गरेका छन् । पहिले २ लाख जति लेयर्स चल्ला एक हप्तामा उत्पादन हुने गरेको थियो ।
यस्तै, ब्रोइलर चल्ला उत्पादन गर्ने देशभरका ३४८ ह्याचरीमध्ये अहिले १२१ वटा मात्रै सञ्चालनमा छन् । बाँकी सबै बन्द भएका छन् । चितवनमा मात्रै ब्रोइलरका चल्ला उत्पादन गर्ने ह्याचरी ९५ बाट घटेर ३० वटामा पुगेका छन् ।
‘ह्याचरीले विगतको तुलनामा ५० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । ब्रोइलरका चल्ला प्रतिहप्ता ३५ लाख उत्पादन हुने गरेका छन्,’ पोखरेल भन्छन्, ‘यस्तो संख्या पहिले ५५ लाखको हाराहारीमा हुने गर्दथ्यो ।’
नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलका अनुसार उत्पादन घटेर पोल्ट्री क्षेत्र नै तहसनहस हुने अवस्थामा पुगेको भन्दै आत्मनिर्भर उन्मूख व्यवसाय सबैले मिलेर बचाउनुपर्ने बताउँछन् ।
ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट ल्याउने गरिन्छ । कोभिडभन्दा अगाडि मासिक १ लाख ८० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा अहिले करिब मासिक ६० हजार मात्रै आउने गरेको ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताए ।
प्यारेन्टबाट उत्पादित चल्ला समेत सबै बिक्री नभएपछि प्यारेन्ट ल्याउन नै कमी गरिएको उनले बताए । ‘पहिला २ लाख ५० हजार प्रतिहप्ता उत्पादन हुने लेयर्स चल्लाको उत्पादन अहिले हप्तामा करिब एक लाखको हाराहारीमा मात्रै हुने गरेको छ,’ उनले भने ।
देशभर ७४ वटा दाना उत्पादन गर्ने ठूला उद्योग छन् । कुखुरापालक नै घटेपछि दाना उद्योग पनि अधिकांश धरासायी बन्न थालेका छन् । साना क्षमताका उद्योग धमाधम बन्द हुने क्रममा छन् ।
पहिला देशभरका उद्योगमा ४५ सय टन दाना प्रतिदिन उत्पादन हुने गरेकोमा अहिले २५ सय टन दाना उत्पादन गर्ने गरेका छन् ।
मूल्य पाउँदा राहत महसुस
पोल्ट्री क्षेत्रमा उत्पादनसँग सम्वन्धित सूचकहरू नकारात्मक भए पनि अण्डा, चल्ला र मासुमा भने लागत अनुसारको रकम पाउन थालेकाले केही राहतको महसुस गर्न थालेको व्यवसायीहरू बताउँछन् । तर यसमा दिगोपनाको चिन्ता भने उत्तिकै छ ।
पछिल्लो एक महिनायता किसानहरुले अण्डाको मूल्य लागत अनुसार पाउन थालेको अण्डा उत्पादन गर्ने नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल बताउँछन् ।
उनका अनुसार किसानले अहिले प्रतिअण्डा १८ रुपैयाँमा बेच्ने गरेका छन् । प्रतिअण्डाको लगात मूल्य १६.५७ पैसा पर्न आउँछ । पछिल्लो ७ वर्षसम्म लगातार लागतभन्दा कम मूल्यमा अण्डा बेच्दै आएका किसानहरुले साउन लागेपछि लागत अनुसारको रकम पाउन थालेका अध्यक्ष पोखरेलले बताए ।
‘बजारमा माग बढी र उत्पादन कम हुँदा लागत मूल्य बल्ल आएको छ, कतिपयले हामीलाई कार्टेलिङ्ग गरेको भनेर आरोप लगाउँछन् तर यथार्थ यस्तो हैन, उत्पादन घटेकाले माग बढी देखिएको हो’ अध्यक्ष पोखरेलले भने, ‘किसान सकिँदै गएर उत्पादन कम भएपछि अहिलेको अवस्था आएको हो ।’ यो अवस्था अझै केही वर्ष रहे मात्रै अण्डा उत्पादन गर्ने किसानले राहत महसुस गर्ने उनको भनाइ छ ।
उत्पादनको संख्या घटे पनि व्यवसायीले अहिले लागत अनुसारको रकम चल्ला र मासुमा पाएका छन् । अहिले ब्रोइलरको कुखुरा मासुको प्रति केजी उत्पादन लागत २५० पर्नेमा बेच्दा किसानले २६० रुपैयाँ पाउने गरेका छन् । तयारी मासु भने प्रतिकेजी ४ सयदेखि ४५० सम्म पर्ने गरेको छ ।
यस्तै, ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा लागत ६० देखि ६५ रुपैयाँ पर्नेमा व्यवसायीहरुले ६५ देखि ७० रूपैयाँसम्ममा बेच्न थालेका छन् । लेयर्सको चल्लामा पनि लागत रकम पाउन थालेका छन् । लेयर्स चल्लाको लागत प्रतिगोटा १२५ रुपैयाँ पर्छ, बिक्री भने १३० रूपैयाँसम्म पर्ने गर्दछ ।
कुखुरालाई खुवाउने कच्चापदार्थको मूल्य, औषधि र भ्याक्सिनको मूल्य दोब्बरभन्दा पनि धेरै बढ्दा किसानको लागत पनि बढ्दै गएको छ । करिब ७० प्रतिशत कच्चा पदार्थ भारत लगायतका देशबाट ल्याउने गरिन्छ । सरकारले ९ प्रतिशत भन्सार लिन्छ । औषधिमा १० प्रतिशतसम्म भन्सार लिने गर्छ । भारतबाट आउने सामानमा लिइने भन्सारले यसै पनि लागत बढ्ने र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या हुने गरेको व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया 4