+
+
Shares
अबिच्युरी :

लोकगायिका इन्दिरा : गीतबाट देश हल्लाइन्, क्यान्सरले उनैलाई

यो धर्तीमा अब इन्दिरालाई सम्झाउने काठे लोक भाका, सुदूरपश्चिमको देउडा, गण्डकी र पूर्वेलीको लोकभाका अनि उनकै समुदायको सयौं तामाङ सेलो मात्रै बाँकी छन् ।

प्रेम लामा प्रेम लामा
२०८२ भदौ १८ गते १८:२१

दक्षिण ललितपुरको भारदेउ गाउँ । कोन्ज्योसोम गाउँपालिका-५ मा पर्ने यो गाउँ राजधानी नजिकै भएर पनि विकट नै मानिन्छ ।

काठमाडौंबाट १७-१८ किलोमिटर दूरी मात्रै रहेको कोन्ज्योसोमलाई अहिले पनि धेरैले ‘राजधानीको कर्णाली’ का रूपमा चित्रण गर्छन् ।

२०२३ सालतिर त यहाँको विकटता चरम थियो । बाटोघाटो, बिजुली, विद्यालय केही थिएन ।

छोराछोरीबीच चरम विभेद थियो । छोरीले त पढ्नै हुँदैन भन्ने सोच थियो ।

छोरीहरू घाँस, दाउरा, मेलापात, गोठालो र घरको काममा मात्र सीमित थिए । छोरीहरू घर-गोठमा व्यस्त रहँदा छोराहरू भने विद्यालय जान्थे ।

यस्तै परिवेशमा करिब ६० वर्षअघि (१३ कात्तिक २०२३ सालमा) जीतबहादुर गोले र कान्छीमाया लोप्चनको दोस्रो सन्तानका रूपमा जन्मिएकी थिइन्, इन्दिरा गोले ।

इन्दिराको बाल्यकाल पनि घाँस, दाउरा, मेलापात र गोठालामै बित्यो ।

दाजुभाइ जसरी नै कापी-किताब च्यापेर विद्यालय जाने इच्छा उनमा पनि थियो । तर, समाज तगारो बनिदियो ।

परम्परावादी नकारात्मक सोचले उनको इच्छा पूरा हुन सकेन । आमा-बुवासँग पनि पढ्ने इच्छा राखिन् । तर, समाजले अघि सारेकै त्यही तगारो जन्मदिएका आमा-बुवाले पनि तेर्स्याइदिए ।

स्कुल त जान पाइनन् । तर मनभित्रको इच्छा मार्न सकिनन् इन्दिराले । सानैदेखि खुब रेडियो सुन्थिन् ।

बुबा नेपाली सेनाको जागिरे भएकाले घरमै रेडियो थियो ।

जबजब रेडियोमा लोकगीतका कार्यक्रमहरू घन्किन्थ्यो, घरको काम-धन्दा छाडेर रेडियो सुन्थिन् । इन्दिराले कयौंपटक बुवाको पिटाइ खाइन् । तर रेडियोमा बज्ने लोकदोहारी गीत सुन्न छोडिनन् ।

गाउँघरमा हुने जात्रामा जसैगरी पुग्थिन् । जुहारी खेल्न पछि पर्दिनथिन् । जात्रामा गाइने जुहारीले उनको लोकगीत संगीतप्रतिको रुचि बढ्दै लग्यो ।

जात्रामा जान उनलाई घरमा काँडेतारको बार लाग्थ्यो । तर पनि बुवा-आमाको आँखा छलेर जात्रामा पुग्थिन् । गीत गाउँथिन् । यसरी नै उनको सांगीतिक यात्रा धिरमिर चलिरहेको थियो ।

१३ वर्षको उमेरमा इन्दिराको जीवनले नयाँ मोड लियो । घरबाट भागेर ललितपुरको जावलाखेल आइन्, जहाँ उनका दुई फुपु बस्थे ।

उनले जावलाखेलको एक कारखानामा गलैँचा बुन्न थालिन् । कारखानामा गलैँचाको तानसँगै उनका लोक भाकाहरू गुञ्जिन थाले । उकुसमुकुस भएर बसेको लोकभाका बाहिर प्रष्फुटित हुन थाले । सँगै काम गर्नेहरूले विस्तार उनका भाकाको प्रशंसा गर्न थाले । जसले इन्दिरालाई थप हौसला मिल्यो ।

उनले २०३९ सालमा बाँसुरीवादक पूर्णबहादुर गुरुङसँग विवाह गरिन् । उनका दुई छोरी जन्मिए ।

विवाहपछि पनि उनको गीत-संगीतको रुचिमा कुनै कमी आएन । किनभने, उनले एक बाँसुरीवादकसँग विवाह गरेकी थिइन् । जसले उनको लोक भाकासँग बाँसुरीको धुन झन् मिल्न पुग्यो ।

गलैँचाको तानसँगै इन्दिरा काठमाडौंका विभिन्न धार्मिकस्थलहरूमा हुने जात्रामा जुहारी खेल्न पुग्थिन् ।

एकदिन बालाचतुरदर्शीमा पशुपतिमा लाग्ने जात्रामा पुगिन् । युवाहरूसँग जुहारी खेल्न पलेँटी कसिन् ।

घमसान जुहारी चलिरहेको थियो । यही बेला रेडियो नेपालबाट सुन्दर श्रेष्ठ, पाण्डव सुनुवार लगायतको टोली त्यहाँ पुग्यो । इन्दिराको टिमको जुहारीले उनीहरूको ध्यान खिच्यो । पाण्डव सुनुवारको टिमबाट इन्दिरालाई रेडियो नेपालमा गीत रेकर्डिङको अफर आयो ।

इन्दिरा जुन पलको पर्खाइमा थिइन्, जुन कुरा उकुसमुकुस भएर बसेको थियो, त्यही भइदियो ।

रेकर्डिङका लागि उनी तयार भइन् ।

२०४५ मंसिरको कुरा हो । इन्दिराले रेडियो नेपालमा दुईवटा गीत रेकर्डिङ गराइन् । जसवापत उनले २०० रुपैयाँ पाइन् । यसपछि भने उनको सांगीतिक यात्राले गति लियो ।

रत्न रेकर्डिङमार्फत तीर्थ गन्धर्वको सहयोगमा गण्डकी अञ्चलमा प्रचलित भाकामा गीत रेकर्डिङ गराइन् । रेडियो नेपालमार्फत उनको गीत आकाशीय तरंग देशभरि गुञ्जियो ।

ललितपुरको एउटा पाखामा दबिएको इन्दिराको स्वर अब देशभर गुञ्जिन थाल्यो । चर्चा चुलियो । हौसला थपियो । इन्दिरा हौसिइन् ।

त्यसपछि अम्मर नेपालीको आग्रहमा उनले तामाङ सेलो गीत रेकर्डिङ गराइन् । जुन गीत सिम्फोनिङ स्टुडियोमा रेकर्डिङ गरिएको थियो ।

यो नै उनको पहिलो तामाङ सेलो थियो । पहिलो गीतले नै व्यापक चर्चा बटुल्यो । इन्दिराका लागि यो गीत नै अर्को टर्निङ पोइन्ट बन्योभन्दा फरक पर्दैन ।

सफलता चुलिँदै थियो । २०५२-५३ सालतिर रोज मोक्तानको एल्बममा ‘को म्हेन्दो’ बोलको तामाङ गीत चन्द्रकुमार दोङसँग रेकर्ड गराइन् । यो गीतले अझै चर्चा बटुल्यो । त्यही गीतका कारण इन्दिरा १८ दिनसम्म भूमिगत हुनुपर्‍यो ।

रोज मोक्तानको एल्बममा यो गीत पनि समेटियो । रोज पनि ११ दिन प्रहरी नियन्त्रणमै बस्नुपर्‍यो । यो गीतले राज्य संयन्त्रलाई नै हल्लायो । यो गीत जनवादी थियो । जातीय उत्पीडितविरुद्धको आवाज थियो ।

‘२०५२-५३ सालतिर तामाङ भाषाको एउटा एल्बम बजारमा ल्याएको थिएँ । उक्त एल्बममा ‘को म्हेन्दो’ बोलको गीत थियो । यो गीत बबाल चल्यो । यसले गीत-संगीतको बजार ततायो । यसले राज्य संयन्त्रलाई समेत हल्लायो,’ गायक मोक्तान अगाडि भन्छन्, ‘यो गीतको शब्द लेखन मनोज घिसिङले गर्नुभएको थियो भने चन्द्रकुमार दोङ दाइ र इन्दिरा दिदीले गाउनुभएको थियो । यो गीतले मलाई ११ दिन प्रहरी हिरासतमा पुर्‍यायो । चन्द्र दाइ र इन्दिरा दिदी १८ दिन भूमिगत हुनुभयो । म छुटेपछि मात्रै उहाँहरू सार्वजनिक हुनुभएको थियो ।’

यो गीतले विशेषगरी तामाङ समुदायको बाहुल्य रहेका जिल्लाहरू काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जागरण नै ल्याएको रोज सम्झन्छन् ।

गायक मोक्तान इन्दिरालाई मल्टी ट्यालेन्टेड (बहुप्रतिभाशाली) गायिकाको रूपमा लिन्छन् । उनी भन्छन्, ‘इन्दिरा दिदीले थुप्रै कालजयी गीत गाउनुभएको छ । उहाँले काठे लोकभाका मात्रै होइन, पूर्वेली लोकभाकादेखि लिएर पश्चिमेली लोकभाका र सुदूरपश्चिमको देउडा गीतसमेत गाउनुभएको छ । तामाङ सेलोदेखि लिएर आधुनिक गीतसमेत गाउनुभएको छ ।’

गायक मोक्तान थप्छन्, ‘यो गीतले राजनीतिक रङ लिन गयो । सम्प्रादायिक गीतको रूपमा लिएर समाज भड्काउने देशद्रोहीको आरोपमा मलाई यातना दिने काम भयो । एल्बमबाट यो गीत हटाउने र आगामी दिनमा यस्तो खालको गीत नगाउने गरी कागजी मिलापत्र गर्नुपर्‍यो ।’

गायक मोक्तान इन्दिरालाई प्रेरणाको स्रोत र सांगीतिक धरोहरको रूपमा लिन्छन् । हक्की स्वभावकी इन्दिरा क्यान्सर रोगले ग्रसित हुँदा पनि एकदमै स्ट्रोङ रूपमा प्रस्तुत हुने गरेको उनी सुनाउँछन् ।

अर्का तामाङ सेलो गायक फूलकुमार बोम्जन इन्दिरालाई लोक संगीतको धरोहरको रूपमा लिन्छन् । नेपालको काठे, पूर्वेली, पश्चिमेली लोकभाकाका साथै आधुनिक गीतहरूमा पनि इन्दिराको योगदान उत्तिकै छ । सुदूरपश्चिमको देउडा भाकामा पनि इन्दिरा दिदी उत्तिकै चर्चित रहेको बोम्जन सुनाउँछन् ।

विशेषगरी तामाङ भाषाको सेलो गीत-संगीतमा इन्दिराको योगदान उच्च छ । इन्दिराको प्रवेश अगाडि तामाङ सेलो गैरतामाङ चेलीहरूले गाउनुपर्ने बाध्यता थियो ।

फिमेल भ्वाइसमा मीरा राणा, लोचन भट्टराई लगायतले तामाङ सेलो गाउनुपर्ने बाध्यता थियो ।

पछिल्लो समय क्यान्सर जितेर इन्दिरा पुनः गीत-संगीतमा सक्रिय भइरहेकी थिइन् । यो वर्षको सोनाम ल्होछारमा २-४ वटा स्टेज कार्यक्रममा इन्दिरा सहभागी भएको गायक बोम्जन बताउँछन् ।

गायक बोम्जनले भने, ‘उहाँ दुई वर्षदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उपचारपछि ठिक हुनुभएको थियो । यो वर्षको ल्होछारमा दुई/चारवटा कार्यक्रममा गीतसमेत गाउनुभयो । केही महिनापछि फेरि बिरामी पर्नुभयो । उपचारका लागि भारतको दिल्ली पनि जानुभयो ।’

सहयोगबाट उपचार

गायिका इन्दिराको उपचारका लागि देश-विदेशमा रहेका विभिन्न संघ-संस्थाहरूबाट आर्थिक सहयोग प्राप्त भएको बोम्जन बताउँछन् ।

‘संघ-संस्थाले मात्रै होइन, सामाजिक, राजनीतिक लगायत व्यक्तिहरू पनि उहाँको जीवन बचाउन आर्थिक संकलन अभियानमा प्रत्यक्ष सहभागी भए । विशेषगरी समुदायले बढी अग्रसरता देखायो । उहाँको उपचारमा आर्थिक अभाव हुन दिइएन,’ बोम्जन भन्छन् ।

गीत-संगीतको माध्यमबाट राज्यलाई यति ठूलो योगदान पुर्‍याउने इन्दिराको उपचारका लागि भने राज्यले खासै चासो नदिएको बोम्जनको गुनासो छ ।

उनी भन्छन्, ‘समाज नै इन्दिरा दिदीको उपचारका लागि अग्रसर भएर लाग्यो । उपचारका लागि आवश्यक पर्ने आर्थिक संकलन भयो । तर राज्यले उहाँको उपचारका लागि कहिल्यै अग्रसरता देखाएन । यो दुर्भाग्य हो ।’

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन – Online Khabar

इन्दिरासँग थुप्रै स्टेज कार्यक्रम सेयर गरेका गायक बोम्जन भन्छन्, ‘इन्दिरा दिदी लोक गीत-संगीतमा अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले तामाङ सेलोलाई नयाँ उचाइ दिनुभयो । तामाङ फिल्मको बजार विश्वभरि फैलियो । उहाँ जस्तो मान्छे फेरि-फेरि पाउन मुस्किल छ । उहाँले खनेको बाटोमा अहिले थुप्रै चेलीहरू यो क्षेत्रमा आइसकेका छन् । तर पनि उहाँले खनेको डोब, उहाँले गरेको नेतृत्वको अभाव यो समाजमा सधैं खट्किरहने छ,’ गायक बोम्जन भन्छन् ।

भारतबाट नेपाल फर्किएरपछि हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उनको उपचार चलिरहेको थियो । दुई साताअघि मात्रै कान्छी छोरी मुना गुरुङसँग ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

गएराति १२ बजे इन्दिराले सदाको लागि यो धर्ती छाडिन् ।

यो धर्तीमा अब इन्दिरालाई सम्झाउने काठे लोक भाका, सुदूरपश्चिमको देउडा, गण्डकी र पूर्वेलीको लोकभाका अनि उनकै समुदायतको सयौं तामाङ सेलो मात्रै बाँकी छन् ।

भौतिक शरीर अलप भए पनि उनले छाडेर गएका ‘चाँगुनारायण थान, हुक्का चिलिमले, जाइफूलको बासना, पान मिठो चुनामा, पालञ्चोकी पशुपति, इन्द्रावती बग्यो सलल, बाइबाइ सलाम, मायाको आन्दोलन जस्ता सयौं चर्चित लोकभाकाहरू कालजयी भएर हामी माझ गुञ्जिरहने छन् । अलबिदा इन्दिरा दिदी !

तस्वीर सौजन्य : सन्तोष योन्जन

लेखक
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?