
१९ भदौ, काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै एक करोड रुपैयाँ डिल गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा डोटी घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का घर भइ काठमाडौं सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
साह योजनाकार र पनेरु फोन गरेर धम्क्याउने व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
उनीहरूले टोखा नगरपालिका–८ बस्ने एक व्यक्तिलाई आफूहरु अख्तियारको कर्मचारी भन्दै फोन गरेका थिए । ती व्यक्ति र उनका परिवारका सदस्यहरूसँग नक्कली नेपाली नागरिकता रहेको र यसबारे आफूहरुले अनुसन्धान गरिरहेको उनीहरुले बताएको प्रहरीले उल्लेख गरेको छ ।
यो कारबाहीबाट बच्न र फाइल बन्द गर्ने हो भने एक करोड दिनु नत्र जेलसम्म जाने धन्दै धम्की दिएको एसपी आचार्यले बताए । यसरी फोनमा पटक पटक धम्की दिएपछि उनीहरू प्रहरीकोमा पुगेका थिए ।
त्यसपछि उनीहरूलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरू भने अख्तियारको कर्मचारी नभएको पाइएको छ । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया 4