+
+
Shares
प्रेरक व्यङ्ग्य कथा :

लंका–विजयपछि

हरिशंकर परसाई हरिशंकर परसाई
२०८२ भदौ २१ गते ९:४२

त्यसपछि भारद्वाजले भने, ‘हे ऋषिवर, तपाईंले मलाई परम पुनीत राम–कथा सुनाउनुभयो, जसलाई सुनेर म कृतार्थ भएँ। तर लंका–विजयपछि वानरहरूको चरित्रबारे तपाईंले केही भन्नुभएन। अयोध्या फर्किएर वानरहरूले के गरे, अब मलाई विस्तारमा भन्नुहोस्।’

याज्ञवल्क्यले उत्तर दिए, ‘हे भारद्वाज, त्यो प्रसंग श्रद्धालु भक्तहरूको लागि श्रवणयोग्य छैन। त्यसले श्रद्धा कम गराउँछ। त्यो प्रसंग सुनाउने र सुन्‍ने दुवै जना पापका भागीदार हुन्छन्।’

तब भारद्वाजले हात जोडेर भने, ‘भगवान्, तपाईं परम ज्ञानी हुनुहुन्छ। तपाईंलाई विदितै छ, श्रद्धाको आवरणमा सत्य लुकाउनुहुँदैन। म सामान्य सत्य–अन्वेषी हुँ। कृपया मलाई वानरहरूको सत्य चरित्र सुनाइदिनुहोस्।’

याज्ञवल्क्य प्रसन्न हुँदै भने, ‘हे मुनि, तिमीमा सत्यप्रतिको निष्ठा देखेर म अत्यन्तै प्रसन्न भएँ। तिमी योग्य छौ, त्यसैले अब म त्यो दुर्लभ प्रसंग सुनाउँछु। ध्यान दिएर सुन्नु।’

त्यसपछि याज्ञवल्क्यले आँखा बन्द गरे र ध्यानमग्न भए। भारद्वाजले उनको तेजोमय मुखलाई नियालिरहे। त्यो सहज, शान्त र सौम्य मुखमा उत्तेजना र क्षोभका चिह्नहरू देखिन थाले, निधारमा रेखाहरू निस्किए। पछि आँखा खोलेर याज्ञवल्क्यले यसरी कथा सुरु गरे:

‘हे भारद्वाज, एक दिन भरत दुःखी र चिन्तित अनुहारसहित महाराज रामचन्द्रकहाँ आए र भने— ‘दाजु, तपाईंका वानरहरूले ठूलो उत्पात मच्चाएका छन्। राज्यका नागरिक तिनका दिनहुँका उपद्रवले हैरान भएका छन्। यी वानरहरू लंका विजयको उन्मादमा उन्मत्त भएका छन्। जसको पनि बगैंचामा पस्छन्, नष्ट गर्छन्; जसको पनि घरमा जबरजस्ती अधिकार जमाउँछन्; जसको पनि धन–धान्य छिन्छन्, जसको पनि स्त्री अपहरण गर्छन्। नागरिक विरोध गर्छन् भने भन्छन्– हामीले तिम्रो स्वतन्त्रताका लागि युद्ध गरेका थियौं; हामी नलडेको भए तिमीहरू अनार्यहरूको अधीनमा पर्थ्यौ; हामीले आर्यभूमिका लागि बलिदान गरेका छौं। हेर, हाम्रा शरीरका घाउ।’

यसो भनिरहँदा भरत क्रोधले काँप्न थाले। उनले रिसाउँदै भने, ‘दाजु, मैले तपाईंलाई पहिले नै भनेको थिएँ, यी वानरलाई नजिक नल्याउनुहोस्। म त्यसैले सेना लिएर चित्रकूटसम्म गएको थिएँ कि तपाईं अयोध्याको अनुशासनबद्ध सेना मात्र प्रयोग गर्नुहोस्। तर तपाईंले मेरो कुरा मान्नुभएनछ, अब परिणाम भोगिरहेका छौं। यी वानरहरूले प्रजालाई लुटिरहेका छन्। अब यो वानर–राज्य जस्तै भएको छ।’

भरतको मुखबाट क्रोधले शब्द निस्केन। उनी मौन भए। रामचन्द्रले पनि टाउको झुकाएर सोच्न थाले। हे मुनिवर, त्यतिबेला मर्यादा पुरुषोत्तमको शान्त मुखमा पनि चिन्ता र उद्वेगका भाव देखिन थाले।

श्रीमतीले शंका गरिन्, ‘तर प्राणनाथ, कार्यालयले के यो घाउ युद्धको होइन भन्ने बुझ्दैन ?’ वानरले हाँस्दै भन्यो, ‘प्रिय, तिमी सिधा छ्यौ। त्यहाँ पनि धाँधली चल्छ।’

त्यसैबेला ढोकामा हल्ला सुनियो। भरत तुरुन्त गए, फर्किंदा उनको अनुहार क्रोधले रातो भएको थियो। उनले भने, ‘दाजु, तपाईंका वानरहरूले नयाँ बखेडा खडा गरिरहेका छन्। द्वारमा भेला भएर चिच्याइरहेका छन्- हामीले आर्यभूमिको रक्षा गरेका छौं, त्यसैले राज्यमा हाम्रो अधिकार छ। राज्यका सबै पद हामीलाई दिनुपर्छ; शासन हामी गर्छौं।’

हे भारद्वाज, यो सुनेर राम पनि उठे र भरतसँग द्वारमा पुगे। उनले उच्च स्वरमा भने, ‘वानरहरू, आफ्ना कामको बारम्बार बखान गरेर मलाई लज्जित नगर। यसलाई कसैले अस्वीकार गरेको छैन कि तिमीहरूले देशका लागि लड्नुभयो। तर लड्नु एक कुरा हो, शासन गर्नु अर्कै कुरा हो। अब देशको विकास र उन्नति गर्नु छ। त्यसैले शासनको कार्य योग्य व्यक्तिलाई मात्र दिइनेछ। तिमीहरू अन्य नागरिक झैं श्रम गरेर जीविकोपार्जन गर र प्रजाको सामु आदर्श प्रस्तुत गर।’

रामका शब्दले वानरहरूमा खलबली मच्चियो। केहीले सहमति जनाए, तर अधिकांश वानर क्रोधले दाँत किटकिटाउन थाले। उनका नेताहरूले भने, ‘महाराज, हामी श्रम गर्न सक्दैनौं। तपाईंको ‘जयजयकार’ गर्नेसम्म मात्र श्रम हामीबाट हुन्छ। युद्धमा पर्याप्त श्रम गरिसकेका छौं। हामी आर्य–संग्राममा पछि सामान्य नागरिक झैं हलो जोत्नका लागि भाग लिएका थिएनौं। हाम्रो योग्यता लङ्कामा प्रमाणित भइसकेको छ। यी हाम्रा घाउ नै हाम्रो प्रमाण हुन्। हाम्रो योग्यता घाउ गनेर नापिनुपर्छ।’

रामले धेरै सम्झाउने प्रयास गरे, तर वानरहरूले बुद्धि वनमै छोडेर आएका थिए। हतास भएर रामले भरतसँग भने, ‘भाइ, यी मान्दैनन्। घाउ गन्ने व्यवस्था गर्नैपर्छ।’

त्यसैबेला भीडबाट आवाज उठ्यो, ‘हाम्रा घाउ गनिनुपर्छ, हाम्रा घाउ नै योग्यता हुन्।’

भरतले भने, ‘वानरहरू, अब शान्त होऊ। भोलि अयोध्यामा ‘घाउ–पञ्जीकरण कार्यालय’ खुल्नेछ। त्यहाँ गएर अधिकारीलाई आफ्ना साँचो घाउ देखाएर प्रमाणपत्र लिनुहोस्। घाउको गन्तीअनुसार पद दिइनेछ।’

यो सुनेर वानरहरू हर्षले चिच्याए। जय–जयकार गरे, फूल बर्साए। हे भारद्वाज, श्रमचोरहरूलाई अरू के काम? अरूको विजयमा जय बोल्नु र फूल बर्साउनु मात्रै। त्यसपछि वानरहरू प्रसन्नतापूर्वक घर फर्किए।

भोलिपल्ट नाङ्गा वानरहरू घाउ देखाउन सडकमा नाच्दै हिंडे। अयोध्याका सभ्य नागरिकहरूले उनीहरूको नाङ्गो नाच देखेर लाजले टाउको फर्काए।

हे भारद्वाज, त्यसबेला वानरहरूले अचम्मका चरित्र देखाए। एक वानरले घरमै तरवारले आफ्नो शरीरमा घाउ बनाइरहेको थियो। उसको श्रीमतीले अचम्म मान्दै सोधिन्, ‘नाथ, के गर्दै हुनुहुन्छ?’ वानरले हाँस्दै भन्यो, ‘प्रिय, शरीरमा घाउ बनाइरहेको छु। आजभोलि घाउ गनेर पद दिइँदैछ। राम–रावण युद्धताका त म त जंगलमा लुकिरहेको थिएँ। पछि विजय–सेनामा मिसिएँ। मेरो शरीरमा एउटै घाउ थिएन, त्यसैले सामान्य काम मात्र पाइन्थ्यो। अब हामी आफैं घाउ बनाउँदैछौं।’

श्रीमतीले शंका गरिन्, ‘तर प्राणनाथ, कार्यालयले के यो घाउ युद्धको होइन भन्ने बुझ्दैन ?’ वानरले हाँस्दै भन्यो, ‘प्रिय, तिमी सिधा छ्यौ। त्यहाँ पनि धाँधली चल्छ।’

श्रीमतीले सोधिन्, ‘तिमी कुन पद लिने?’

वानरले भन्यो, ‘प्रिय, म कुलपति बन्छु। मलाई सानैदेखि विद्यासँग ठूलो प्रेम छ। ऋषिहरूको आश्रम वरिपरि मडारिन्थें। विद्यार्थीको चकटी तानेर भाग्थें, हविष्य चोर्थें। एकपटक ऋषिको कमण्डलु नै चोरेको थिएँ। यसैबाट मेरो विद्या–प्रेम थाहा हुन्छ। म त कुलपति नै बन्छु।’

याज्ञवल्क्य केही बेर रोकिएर भने, ‘हे मुनि, यसरी घाउ गनेर वानरहरू जहाँ–तहाँ उच्च पदमा बसे र वानर–स्वभाव अनुसार शासन गरे। केही समय अयोध्यामा राम–राजको सट्टा वानर–राज नै चल्यो।’

भारद्वाजले सोधे, ‘मुनिवर, वानर त असंख्य थिए, तर पद त सीमित। बाँकी वानरहरूले के गरे?’

याज्ञवल्क्यले भने, ‘हे मुनि, बाँकी वानरहरूले अनेक पाखण्ड गरेर प्रजाबाट धन हडप्न थाले। जब रामचन्द्रले जगत–जननी सीताको परित्याग गरे, तब केही वानरहरूले ‘सीता सहायता कोष’ खोले र श्रद्धालु नागरिकबाट चन्दा उठाएर खाए।’

त्यसपछि याज्ञवल्क्यले आँखा बन्द गरे र लामो समयसम्म मौन बसे। फेरि आँखा खोलेर भने, ‘हे भारद्वाज, श्रद्धालुका लागि निषिद्ध यो प्रसंग मैले तिमीलाई सुनाएँ। यसलाई सुनाउने र सुन्‍ने दुवैलाई पाप लाग्छ। त्यसैले हे मुनि, हामी दुवै प्रायश्चितस्वरूप तीन दिनसम्म उपवास गर्नेछौं।’

(परसाईको व्यङ्ग्य कथा लंकाविजय के बादको नेपाली भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?