
२५ भदौं, काठमाडौं । मंगलबार अपराह्न इजलासहरुमा सुनुवाइ सकिंदै थियो, कतिपय कानून व्यवसायीहरू झोला टिपेर आ-आफ्नो ल-फर्मतिर फर्कदै थिए । एकाएक प्रदर्शनकारीहरुको समूह सर्वोच्च अदालत परिसरमा छिर्यो ।
सुरुमा उनीहरू मुद्दाको कागजात र फाइलहरुको खात हुने शाखा(फाँट)हरुमा छिरे । एक प्रत्यक्षदर्शी कर्मचारीका अनुसार, उनीहरुले कागजातहरु एक ठाँउमा थुपारे, अनि आगो दन्काए । त्यसपछि अर्को समूहले त्यसैगरी अर्का दुई/तीनवटा फाँटको कागजात त्यसैगरी संकलन गरेर फेरि आगो झोंसे ।
सर्वोच्च अदालतको मुल भवनको प्रमुख मोहडामा तीन तला अग्लो आँखीझ्याल छ र सबैभन्दा माथि न्यायको प्रतिकको रुपमा श्रीयन्त्र राखिएको छ । अदालतका कर्मचारीहरुले हरेक दिन त्यस पूजा गरेर अदालती कामकारबाही सुरु गर्थे । मंगलबारको आगजनीले आँखीझ्याल र श्रीयन्त्र, दुवै ध्वस्त हुन पुगेका छन् ।
३/४ ठाँउमा आगो दन्किएपछि उनीहरु सरासर सर्वोच्च अदालतको तेस्रो तलामा पुगे । सर्वोच्च अदालतको पहिलो तलामा इजलासहरु छन् भने दोस्रोमा प्रधानन्यायाधीशको कार्यकक्ष, बैठक कक्ष र मुख्यरजिष्ट्रारको कार्यालय छन् । तल्लो तलामा आगो बालेपछि प्रदर्शनकारीहरु सोझै तेस्रो तलामा पुगेका थिए ।
‘तेस्रो तला हाम्रो बडा संवेदनशिल ठाँउ हो । तीव्र गतिमा डिजिटलाइज्ड हुने प्रक्रियामा रहेको सर्वोच्च अदालतका सबै अभिलेखहरुको डाटासेन्टर नै त्यही हो’, सर्वोच्च अदालतका एक सहसचिवले भने, ‘भुईंतलापछि उनीहरुले सोझै डाटा सेन्टरमा आगो लगाए अनि बल्ल अरुतिर आगजनी गर्न थाले ।’
सीमित सुरक्षाकर्मीहरुले ठूलो संख्यामा आएका प्रदर्शनकारीहरुलाई थेग्न सकेनन् । त्यसपछि प्रदर्शनकारीहरुको अर्को टोलीले सर्वोच्च अदालतको एनेक्स भवनको भुईंतलमा रहेको अभिलेख शाखामा आगजनी सुरु गर्यो ।
पहिले न्यायपरिषद्को कार्यालय समेत रहेको एनेक्स भवनको भुईंतलामा पुराना मुद्दाका अभिलेख र फैसलाहरू संग्रहित थियो । सर्वोच्च अदालतले गरेका सबैजसो फैसलाहरु अभिलेख शाखामा सुरक्षित रहन्छन् । ती सहसचिवले भने, ‘अब हामीसँग केही पनि छैन, खरानी मात्रै छ ।’
सर्वोच्च अदालतले हेटौंडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ । दुवैतर्फ आक्रमण भएपछि अहिले सर्वोच्च अदालतको वेवसाईट ‘डाउन’ छ । सफ्टवेयरबाट मुद्दाहरु अघि बढाउने अवस्था छैन ।
सर्वोच्च अदालतले मुद्दाका सबै प्रक्रियासम्बन्धी विवरण अनलाइनबाट चलाउथ्यो । पछिल्ला वर्षमा मुद्दाका फाइलहरु डिजिटल रुपमा तयार गर्ने क्रम बढेपनि पुराना मुद्दाहरु भने कागजातविना सुनुवाइ गर्न सम्भव हुँदैन ।
अभिलेख जलेपछि सबै प्रमाण नष्ट भएका छन्, ती मुद्दामा के गर्ने भन्ने अन्यौल छ । न्यायाधीशहरुले तयार पारेका कैयौ फैसलाको अभिलेख कम्प्यूटरसँगै जलेर नष्ट भएका छन् । डिजिटल रुपान्तरणमा उदाहरणिय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट क्षति पुगेको छ ।
एकपटक आगजनी गरेर हिँडेका प्रदर्शनकारीहरुले दोस्रो पटक पनि सर्वोच्च अदालत छिरे । तिनीहरुले पहिलेका हुन् वा अरु हुन् खुल्न नसकेको कर्मचारीहरु बताउँछन् । त्यसक्रममा बार र सर्वोच्च बारमा आगजनी भइसकेको थियो ।
दोस्रो पटक छिर्नेहरुले कानून पत्रिका प्रकाशित हुने छापाखाना र कानून पत्रिकाहरुको भण्डारण हुने कोठामा आगो लगाए । सर्वोच्च अदालतले केही वर्षयता निकै मिहिनेत र कतिपय न्यायाधीशहरुले व्यक्तिगत प्रयासबाट संकलन गरेका पुरातात्विक महत्वका वस्तुहरु संकलन गरेर न्यायिक संग्रहालय बनाएका थिए । प्रदर्शनकारीहरुले त्यहाँ समेत आगजनी गरे ।
महान्यायाधिवक्ता कार्यालयमा पनि प्रदर्शनकारीहरुले त्यही शैलीमा आक्रमण गरेका थिए । ‘भएभरका कागजातहरु संकलन गरे, एक ठाँउमा ल्याएर आगो दन्काए’, महान्यायाधीवक्ता कार्यालयका एक कर्मचारीका अनुसार, ‘महान्यायाधिवक्ता कार्यालय, सर्वोच्च अनि जिल्ला अदालतमा आगजनी गर्नेहरुको शैली एकै खालको थियो ।’
प्रदर्शनकारीहरुले जिल्ला अदालतका साथै माइतीघर मण्डलामा रहेको जिल्ला सरकारी वकिलको कार्यालय र विशेष सरकारी वकिलको कार्यालयमा पनि त्यही शैली अपनाएर कागजात एक ठाँउमा बटुल्ने, आगो झोस्ने र हिँड्ने गरेका थिए । सर्वोच्च अदालत परिसरमा पार्किङ गरिएका सवारीसाधन आगजनीको त कुनै हिसाबकिताब नै छैन ।
सर्वोच्च अदालतका एक न्यायाधीशले मंगलबारको आगजनीले न्यायपालिकाका सबै अभिलेखहरु ‘कोल्याप्स’ भएको प्रतिक्रिया दिए । ‘हामीले कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने हो, ती अब केही पनि बाँकी रहेनन्, अब के गर्नु ?’ उनले भने, ‘केही महिना वा वर्षको प्रयासले यी अभिलेख सुरक्षित भएका होइनन्, दशकौंको मिहिनेत छ । सबै खरानी भयो ।’ दुवै डाटा सेन्टरमा आक्रमणबाट क्षति पुगेकाले देशभरको अदालत सञ्चालन प्रक्रिया अवरुद्ध बनेको छ ।
सर्वोच्च अदालतका अर्का न्यायाधीशले बुधबार विहानभर सामूहिक छलफलको प्रयास हुने बताए । त्यसपछि सांकेतिक रुपमा भएपनि कहि कतैबाट अदालत सञ्चालनको प्रयास हुने उनको भनाइ थियो ।
‘हिजो भूकम्पमा पनि हामीले सेवा दिएको हो, आज सबै खरानी भयो, तरपनि जसरी हुन्छ, सांकेतिक रुपमा अदालत खोल्ने प्रयास हुनेछ’, उनले भने, ‘न्यायालयमा भएको यो क्षतिमा हामी सबै एकै ठाँउमा छौं, सामूहिक प्रयासबाट केही न केही काम सुरु गर्ने तयारी छ ।’
तस्वीर : दीपक अधिकारी
प्रतिक्रिया 4