
२७ भदौ, कञ्चनपुर । भारतमा मजदुरी गरी कालिकोटस्थित घर फर्किरहेका दुई जना नेपाली कञ्चनपुरमा लुटिएका छन् । कालिकोटको पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामी बिच बाटोमै लुटिएका हुन् । नगद र मोबाइल लुटिएपछि बिचल्लीमा परेको उनीहरुले बताएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सेतो रङको स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले हतियार देखाई लुटेको कलमबहादुरले बताए ।
‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौं’, कलमबहादुरले विहीबार भएको घटना सुनाए, ‘तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।’
कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए । दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् ।
‘भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौं’, कलमबहादुरले भने, ‘भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौं । बीच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौं ।’
लुटपाट भएकोबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको नैनबहादुरले बताए । प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजतलास भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4