
२७ भदौ, काठमाडौं । मुलुकमा विद्यमान असहज र विषम परिस्थितिका कारण कृषिजन्य उत्पादन ढुवानीमा समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले देशभरि तरकारी, फलफूल, बीउबेर्ना लगायत कृषि उत्पादनको सहज ढुवानीका लागि अपील गरेको छ ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले सूचना जारी गर्दै देशका विभिन्न भागमा उत्पादन भएका तरकारी, फलफूल, बीउबेर्ना जस्ता कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्न राजमार्गमा सिर्जित समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
किसान, कृषि उद्यमी र कृषि व्यवसायीबाट प्राप्त अनुरोधका आधारमा यो अपील जारी गरिएको सूचनामा उल्लेख छ ।
‘अति संवेदनशील र नाशवान कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्य नपुर्याए मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने देखिएको छ,’ सूचनामा छ ।
आमकिसानको हित मध्यनजर गर्दै उल्लेखित कृषि वस्तु निर्वाध मुलुकभरि ओसारपसार तथा ढुवानीका लागि आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
यस अपीलको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पनि दिइएको छ ।
प्रतिक्रिया 4