+
+
Shares

घाइतेसँग प्रधानमन्त्री : ‘तपाईंहरूको पीडा बुझेकी छु, १८ घण्टा काम गर्छु’

दिउँसो ट्रमा सेन्टर पुगेर घाइतेको अवस्था बुझेकी प्रधानमन्त्री सुशीला कार्कीले चार बजे आसपास नयाँ बानेश्वरको सिभिल अस्पताल आइपुगिन् । त्यहाँ रहेका घाइतेको अवस्था बुझिन् र ढाडस दिइन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ भदौ २८ गते २२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले नयाँ बानेश्वरको सिभिल अस्पतालमा जेनजी आन्दोलनमा घाइते भएका विभिन्न व्यक्तिसँग भेट गरी स्वास्थ्य अवस्था बुझिन्।
  • घाइतेहरूमा २२ वर्षीय बेगम देउला, १९ वर्षीय सुवास दाहाल, ४२ वर्षीय रमेश परियार र सिन्धुपाल्चोकका मदन कार्की रहेका छन् जसलाई प्रधानमन्त्रीले ढाडस दिइन्।
  • प्रधानमन्त्री कार्कीले घाइतेहरूलाई 'म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु' भनेको आश्वासन दिँदै भ्रष्टाचार अन्त्य र देशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाइन्।

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री बनेको दोस्रो दिन सुशीला कार्की घाइतेसँगको भेटघाटका लागि अस्पतालमा व्यस्त देखिइन् । गत सोमबार र मंगलबार देशभर चलेको ‘जेनजी आन्दोलन’ पछि सिर्जित प्रतिकूल राजनीतिक अवस्थामा शासनको बागडोर सम्हाल्न आइपुगेकी उनले शनिबार दिनभर अस्पताल र प्रदर्शनकारीबाट क्षतविक्षत संरचनाको अवलोकन गरिन् ।

दिउँसो ट्रमा सेन्टर पुगेर घाइतेको अवस्था बुझेकी उनी चार बजे आसपास नयाँ बानेश्वरको सिभिल अस्पताल आइपुगिन् । त्यहाँ रहेका घाइतेको अवस्था बुझिन् र ढाडस दिइन् ।

सिभिल अस्पतालकै बेड नम्बर १२३ मा सुतिरहेका थिए -२२ वर्षीय बेगम देउला । उनको खुट्टामा गोली लागेको छ । ‘जेनजी आन्दोलन’को पहिलो दिन नै उनी घाइते हुन पुगे । संसदको गेट नम्बर १ नजिकै भएको झडपमा उनलाई गोली लाग्यो ।

प्लस टु पछि पढाइ छोडेर घरमै बसेका रेगन आन्दोलनमा सहभागी भएको कुरा परिवारलाई थाहा थिएन । काका निश्चल गिरीले भने, ‘हामीलाई तीन बजेको घटना साढे छ बजे मात्र थाहा भयो । आन्दोलनमा जाने कुरा कसैलाई भनेका थिएनन् ।’

शनिबार सिभिल पुगेकी प्रधानमन्त्री कार्कीले यी घाइते र उनको परिवारलाई भेटिन् । ट्रमामा घाइते भेटेर सिभिल पुगेकी उनले रेगनको अवस्था बुझिन् । डाक्टरहरूसँग कुरा गरिन् । यद्यपि, रेगन र उनका काकाले लागेका सबै कुरा भन्न पाएनन् ।

प्रधानमन्त्रीले व्यस्तताका कारण छोटो कुराकानी गर्ने र अवस्था बुझ्नेमै आफूलाई सीमित राखिन् । डाक्टरले आफूहरुको अवस्था सुधारोन्मुख रहेको बताएपछि ‘चिन्ता नगर्न’ भन्दै ढाडस दिएर प्रधानमन्त्री अर्को विरामी भएतर्फ लागिन् ।

‘उहाँको व्यस्तता स्वभाविक छ । त्यसैले होला, उहाँले मसँग भन्दा डाक्टरहरूसँग कुरा गर्नुभयो । अब उहाँले घाइतेको मर्मअनुसार काम गर्नुहुन्छ भनेर आश गरौँ,’ घाइतेका काका गिरीले भने ।

रेगनलाई त देशमा प्रधानमन्त्री फेरिएको कुरा पनि केही समयअघि मात्र थाहा भयो । थाहा पाएको केही समयमा नै प्रत्यक्ष प्रधानमन्त्रीलाई भेट्न पाए ।

अहिले रेगनको अवस्थामा सुधार हुँदै गएको छ । गोडामा दुईटा हड्डी भाँचिएका उनको एउटा शाल्यक्रिया गरिएको छ भने अर्को शल्यक्रिया अर्को हप्ता गर्ने डाक्टरको सल्लाह छ ।

गिरीकाअुनसार त्यहाँ आएका धेरैजसो घाइते डिस्चार्ज भइसके । रेगनलाई भने डेढ हप्ताभन्दा धेरै राख्नुपर्ने अनुमान उनको छ । यद्यपि, काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार र खाना उपलब्ध गराएकोले सहज छ । नगर प्रहरीले सम्पर्क नम्बर छोडेर सहयोगको आश्वासन दिएकोले उनी ढुक्क छन् । त्यसमाथि शनिबार स्वयं नयाँ प्रधानमन्त्री आएर आश्वासन दिएपछि केही परिवर्तन हुनेमा आश्वस्त देखिन्छन्, उनीहरू ।

०००

१९ वर्षीय सुवास दाहाल सिभिल अस्पतालको बेडमा छन्, दुवै खुट्टाको मासु गोलीले च्यातिएको छ । ‘जेनजी आन्दोलन’को पहिलो दिन संसद् भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीचको झडपमा उनी घाइते भए । ‘पछाडि फर्केर भाग्न खोज्दा सटगनले हानेको जस्तो लाग्छ । मासु छियाछिया भएर फुटेको छ,’ सुवासले पीडामिश्रित स्वरमा सुनाए ।

डाक्टरहरूले गोलीको संख्या नभने पनि उनको दुवै खुट्टामा गम्भीर चोट छ । घाइते भएको पहिलो दिन नै शल्यक्रिया भयो । शनिबार पनि सानो शल्यक्रिया भएको छ । उनका आमा भवानी तिमल्सिना छोराको हेरचाहमा दिनरात अस्पतालमै छिन् ।

यसरी बेडमा सुतिरहेका घाइते भेट्न भने शनिबार चार बजे प्रधानमन्त्री सुशीला कार्की सिभिल अस्पताल पुगिन् । भर्खरै सत्तामा आएकी कार्कीले सुवासको स्वास्थ्य अवस्था बुझिन् र डाक्टरहरूसँग कुरा गरिन् ।

‘म मात्र हैन । देशभरका सबै छोराछोरी तपाईंका हुन्, सोहीअनुसार काम गर्नुहोला । सबैले न्याय पाउनुपर्छ । अब देश कता जाने तपाईंकै हातमा छ,’ छोरो सुवासले प्रधानमन्त्रीलाई भनेको कुरा आमा भवानीले अनलाइनखबरलाई भनिन् । जसमा प्रधानमन्त्रीको जवाफ थियो – म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु ।

प्रधानमन्त्रीको यस्तो आश्वासनले सुवास र भवानीमा केही आशा जागेको छ । हतारमा भेटेकी प्रधानमन्त्रीले आफ्नो भावनाको प्रतिनिधित्व गर्ने विश्वास पनि उनीहरुमा छ ।

‘उहाँलाई हतार थियो, धेरै कुरा गर्न भ्याउनुभएन । हाम्रो अवस्था हेर्न यहाँको डाक्टरसँगै आउनुभएको थियो,’ भवानीले भनिन् ।

सुवासले काठमाडौं युनिभर्सिटी हाइस्कूलबाट प्लस टु सकेर एक वर्षको ग्याप लिएका छन् । यसरी घरमा रहेका उनलाई जेनजी आन्दोलनमा आउने जोस चढ्यो । परिवर्तनका लागि म सडकमा जान्छु भन्दा घरका अरु सदस्यले पनि नाइ भनेनन् । आमासँगै खर्च मागेर आन्दोलनमा होमिन हिंडे ।

आन्दोलनमा छोरा घाइते भएकामा कसैलाई पछुतो छैन । परिवर्तनको लागि छोराको रगत बगेको छ भन्नेमा गर्व गर्छिन्, भवानी । त्यसैले उनले शुक्रबार राती देशले नयाँ प्रधानमन्त्री पाउनासाथ छोरालाई सुनाइन् । सुरुमा त उनी झस्किए । तर, विस्तारै चित्त बुझाउँदै लगे ।

‘भरसक युवाले नै लिड गरोस् भन्ने मेरो चाहना थियो । तैपनि उहाँ राम्रो लिडर हुनुहुन्छ जस्तो लाग्छ । मलाई पनि १८ घण्टा नसुती खट्छु भन्नुभएको छ । राम्रो गर्नुभयो भने हामी साँच्चै खुसी हुन्छौँ,’ उनी आशावादी सुनिए, ‘अब ६ महिनापछि चुनाव भएपछि युवा नै आउलान् नि !’

सुवासको अपेक्षा भने ठूलो छ, जुन कुरा उनले शनिबार प्रधानमन्त्रीसँग पनि राखे । भ्रष्टाचार रोक्ने, विदेशमा राखिएका पुराना नेताको पैसा फिर्ता ल्याउने र देशलाई समृद्ध बनाउने । तर, प्रतिकूल परिस्थितिमा बनेको चुनावी सरकारले उनका अपेक्षामा कति काम गर्नसक्ला समयले बताउँछ ।

०००

४२ वर्षीय रमेश परियार पनि सिभिल अस्पतालको बेडमा छन् । दुवै खुट्टा र एक हातमा तीनवटा गोली लागेका छन् । चितवनका बासिन्दा उनी ‘जेनजी आन्दोलन’को दोस्रो दिन सांसद भवन अगाडिको झडपमा घाइते भए । ‘राज्यले पहिलो दिन दमन गर्यो । आफ्नै भाइबहिनी मारे । खप्न सकिनँ, देशका लागि लड्छु भनेर आन्दोलनमा गएँ,’ उनले भने ।

आन्दोलनमा गोली लागेपछि उनी बानेश्वरकै सिभिल अस्पताल ल्याइए । पहिलो शल्यक्रिया भइसकेको छ । अहिले उनी त्यहीँ डाक्टरको निगरानीमा आराम गरिरहेका छन् । शनिबार बेलुका ४ बजे प्रधानमन्त्री सुशीला कार्कीले रमेशको मुखबाट उनको पीडा सबै सुनिन् । आन्दोलनमा कसरी दमन भयो भनेर बुझिन् । डाक्टरहरूसँग उनको स्वास्थ्य अवस्थाबारे कुरा गरिन् ।

रमेशले भने, ‘उहाँसँग राम्रो कुराकानी भयो । ‘यो देशका लागि केही गर्नुपर्छ, तपाईंहरू जस्ता युवाले गरेको बलिदानको कदर गर्छु’ भन्नुभयो ।’ कार्कीले पनि अरु घाइतेलाई जस्तै आफूले सक्दो काम गर्ने र १८ घण्टा खट्ने प्रतिबद्धता जनाइन् । ‘म तपाईंहरुको भवना बुझ्छु । सोहीअनुसार काम गरेरै छोड्छु,’ कार्कीको आश्वासन थियो ।

भेटघाट थोरै समय भएपनि प्रधानमन्त्रीमा देशको लागि केही गर्ने हुटहुटी आफूले देखेको रमेशले बताए । भोलिका लागि केही गर्छु भन्ने सोच प्रधानमन्त्रीमा पाएको उनको भनाई छ ।

सुवासको जस्तै उनको पनि अपेक्षा ठूलो छ । नयाँ प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य, लुटिएको सम्पत्ति फिर्ता र देशको समृद्धिजस्ता कुरामा ध्यान दिएर काम गर्ने आशा उनमा छ । ‘उहाँको कुरा सुन्दा साँचो मनले काम गर्नुहुन्छ जस्तो लाग्छ । जेहोस्, हामीले गोली खाएको खेर गएन । अब राम्रै हुन्छ होला,’ उनले अनलाइनखबरसँग भने ।

०००

सिन्धुपाल्चोकका मदन कार्की पनि सिभिल अस्पतालमा छन् । शनिबार त्यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले उनीसँग पनि भेट गरिन् । प्रधानमन्त्रीको अगाडि मदन भावुक सुनिए । ‘यहाँ के पढ्दै ?,’ प्रधानमन्त्रीको प्रश्नमा उनले जवाफ दिए, ‘पढ्ने भन्दा पनि काम गर्ने हो । अब अहिले देशको लागि लडियो भनौँ । केही राम्रो भईहाल्छ कि भनेर… ।’

मदनले आफ्ना कुरा राखिरहे । भावुक देखिएकी कार्कीले सुनिरहिन् । उनले प्रधानमन्त्रीलाई आमा सम्बोधन गरे । ‘आमाले अब बाटो देखाउने हो नि त,’ प्रधानमन्त्री कार्कीलाई उनले भने ।

यही मौकामा मदनले आफ्ना माग पनि राखिहाले- कार्यकारी राष्ट्रप्रमुख हुनुपर्‍यो, ४८ सालपछिका सरकारी कर्मचारी र नेताको सम्पत्ति छानबिन हुनुपर्‍यो । यी हाम्रा माग हजुरले पुरा गर्नुहुन्छ भन्ने आशा छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?