
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले कोटेश्वर पेरिसडाँडामा नयाँ र भव्य पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ।
- प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’
- पार्टी कार्यालय अनुगमनपछि बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको प्रचण्डले बताए।
३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।
जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।
आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘क्षति त पुर्याइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बनाउने भनेर उनले खुलाएनन् ।
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।
जेनजी आन्दोलन प्रचण्ड सार्वजनिक भएको आज पहिलोपटक हो । उनलाई सेनाले सुरक्षा दिएर राखेको थियो । केही दिनअघि मात्रै सेनाको ब्यारेकबाट बाहिर आएका उनी आफन्तको घरमा बस्दै आएका छन् ।
जेनजी प्रदर्शनको क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासमा पनि आगजनी भएको छ । उनका छोरीहरु गंगा र रेनुसहित पार्टीका अरु नेताहरुको घरमा पनि आगजनी र तोडफोड भएको छ ।
आज पार्टी कार्यालय पुगेर प्रचण्डले सरसफाइमा सहभागी कार्यकर्ताहरुलाई केहीबेर साथ दिएका थिए । त्यसपछि शहीद स्तम्भमा माल्यार्पण गरेका थिए ।
प्रतिक्रिया 4