
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली समाजमा चाकरी संस्कारले राजनीति, प्रशासन र सामाजिक जीवनलाई प्रभावित पार्दै सम्बन्ध र अवसरवादलाई प्राथमिकता दिएको छ।
- डोरबहादुर बिष्टले चाकरी संस्कारलाई धर्मसँग जोडेर यसको राजनीतिक र सामाजिक प्रभावलाई विश्लेषण गरेका छन्।
- चाकरी संस्कार डिजिटल माध्यमबाट अझ व्यापक बनेको छ र यसले सुशासन र विकासमा बाधा पुर्याएको छ।
गम्भीर कुराको सुरुवात ठट्टै-ठट्टामा हुनसक्छ! नेपाली समाजले भर्खरै यो कुरा सावित नै गरिसक्यो। सामाजिक सञ्जालका मिम र ठट्टा जस्ता छोटा पोस्टहरू यथार्थमा आगो बनेर सल्केला भन्ने सत्ताको उन्मादले बुझेनन्। सच्चिने चेष्टा नै गरेनन्। नतिजा हामीसामु छ।
मानव समाज र जीवनका कैयौं गम्भीर कुराको अभूतपूर्व बयान गर्ने दार्शनिक ओशोले सुनाएको एउटा ठट्टा यसबेला झन् सान्दर्भिक बनेको छ। ओशोको अनेक सन्देशहरूमा जबर्जस्त ठट्टा भेटिन्छन् जसले अत्यन्त गम्भीर कुरातर्फ इंगित गर्छन्। ओशो सुनाउँछन् :
एक नवाब थिए। एकदिन उनको दरबारमा भिन्डीको तरकारी पकाइयो। सम्राटले खाँदै भने – “वाह् ! कस्तो मीठो!”
यो सुनेर नसरुद्दीनले भन्यो- “वाह् ! वनस्पतिशास्त्रले पनि भन्छ भिन्डी त अमृत हो। जसले भिन्डी खान्छ, ऊ हजार वर्ष बाँच्छ।”
यो कुरा भान्सेले पनि सुन्यो। नवाबलाई यति मन पर्यो ल अबदेखि भिन्डी नै पकाउनुपर्छ भन्ने सोच्यो। उसले दोस्रो दिन पनि भिन्डी पकायो, तेस्रो दिन पनि, अनि सात दिन लगातार भिन्डी मात्र।
सातौं दिन नवाब रिसाए। उनले थाली फ्याँक्दै भने- “भिन्डी, भिन्डी, भिन्डी ! अब त मार्ने भो!”
त्यसैबेला नसरुद्दीनले आफ्नो थाली अझ ठूलो आवाज गर्दै फ्याँके र भान्सेलाई गाली गर्यो – “तँ मालिकलाई मार्न चाहन्छस्!”
नवाबले आश्चर्य माने। उनले भने – “तर नसरुद्दीन, सात दिनअघि त तिमी नै भन्थ्यौ भिन्डी अमृत हो भनेर! आज किन विष भन्दैछौ?”
नसरुद्दीन मुस्कुराए र उत्तर दिए – “मालिक, तपाईं बिल्कुल ठीक भन्नुहुन्थ्यो त्यतिबेला पनि, आज पनि। किनकि म तपाईंको दास हुँ, भिन्डीको दास होइन।”
गहिरिएर हेर्ने हो भने हाम्रो समाजमा नवाब र भिन्डीको कथा यत्र-तत्र देखिन्छ- हिजो कुनै नेताको नीति वा निर्णयलाई ‘अमृत’ भन्दै प्रशंसा गर्नेहरू, अर्को दिनै त्यो नेता वा नीति कमजोर भएपछि ‘विष’ भन्दै गाली गर्न थाल्छन्।
हिजो हावादारी गफ, अकर्मन्यता र नचाहिने उखान टुक्कामा परर्र ताली पिट्ने जमातले, रातारात जलिरहेको सम्पदाहरू, नेताका घर लगायत जलेका फोटा सञ्जालमा राखेर वाह् जेन-जी वाह् भन्नुको पछाडि एउटा सामाजिक समृद्धि नै छ।
यसको पछाडि नेपालको सामाजिक जीवनको त्यो अदृश्य तर सर्वविदित शक्तिशाली संस्कृति छ। जसले राजनीति, प्रशासन, शैक्षिक संस्था, व्यवसाय र आजको डिजिटल संसारसम्मलाई गाँजेको छ।
यो अरू केही नभएर हामी नेपालीको मानसिकतामा गडेर बसेको उही संस्कार हो जसलाई समाजशास्त्री डोरबहादुर बिष्टले आफ्नो चर्चित पुस्तक ‘भाग्यवाद र विकास: नेपालमा आधुनिकीकरणको संघर्ष (१९९१)’ मा चाकरीको संस्कारको रूप र इतिहासबारे संक्षिप्त प्रकाश पारेका छन्।
बिष्टका अनुसार, चाकरी केवल व्यक्तिगत व्यवहार होइन, सम्पूर्ण सामाजिक संरचनालाई प्रभावित गर्ने संस्कार हो; जसले श्रम, दक्षता र योग्यता भन्दा सम्बन्ध, निर्भरता र चाकरीलाई प्राथमिकता दिन्छ।
आज, तीन दशकअघि बिष्टले उठाएको चाकरीको समस्या अझै सामयिक छ। फरक यत्ति हो- चाकरी अब केवल दरबार वा कार्यालयमा सीमित छैन, यो सामाजिक सञ्जालमार्फत डिजिटल रूपमै समाजमा बाढी झैं फैलिएको छ।
वास्तविक अर्थ वा सत्यभन्दा नेताको मनस्थिति, पहुँच र शक्तिसँग नजिक हुनुलाई नै प्राथमिकता दिने यो संस्कृतिले योग्यता र इमानदार श्रमजीवीलाई किनारमा पुर्याएर सम्बन्ध र अवसरवादलाई अग्रस्थानमा ल्याएको छ, जसकारण सरकार बदलिंदा पनि केवल अनुहार र नाराहरू मात्र फेरिन्छन्, तर चाकरी संस्कृति निरन्तर पुनर्गठित हुँदै अझै सबल बन्ने गर्छ।
डोरबहादुर बिष्टले चाकरीको जरोलाई धर्मतिर देखाएका थिए जुन फैलिएर राजनीतिमा संगीन रूपमा फैलिएको देखिन्छ। बिष्टका अनुसार चाकरीको मूल धार्मिक अनुष्ठानमा छ। हिन्दू परम्परामा देवता वा शक्तिशाली तत्वलाई प्रशन्न पार्ने उद्देश्यले गरिने वन्दना, पूजा वा अर्पणलाई नै बिष्टले चाकरीको प्रारम्भिक रूप मानेका छन्। उनी भन्छन्- जब व्यक्ति मन्दिरमा गएर भोग चढाउँछ वा प्रार्थना गर्छ, त्यो पनि एककिसिमको चाकरी हो। राणाकालमा यसलाई राजनीतिक नियन्त्रणको औजारका रूपमा प्रयोग गरियो।
सम्भावित प्रतिस्पर्धी वा विपक्षीहरूलाई विद्रोह वा षड्यन्त्रबाट टाढा राख्न दरबारले उनीहरूलाई निश्चित समयमा उपस्थित हुन बाध्य बनायो। दिउँसो तोकिएका ‘चाकरी घण्टा’ मा दरबारमा उपस्थित रहनुपर्ने यो अभ्यास समयक्रममा नोकरीको स्थायित्व, बढुवा र अवसर प्राप्तिको अनिवार्य शर्त नै बन्यो।
यसरी, दक्षता र कर्तव्यपालनभन्दा पनि दरबारमा नियमित उपस्थित भई निष्ठावान् देखिनु करिअर निर्माणको आधार बन्यो। राणाकालमा जो चाकरी गर्थे उनीहरूलाई विश्वासिलो मानिन्थ्यो, जबकि आलोचक वा स्वतन्त्र विचार राख्नेहरूलाई शंकास्पद ठानिन्थ्यो।
समयक्रममा समाजले चाकरीलाई उन्नति र अवसर प्राप्तिको साधन बनायो र यो नेपाली समाजमा सहजै पाच्य हुनपुग्यो। यसले योग्यता र उत्पादनशीलतालाई किनारामा धकेलेर निर्भरता, भाग्यवाद र अवसरवादलाई समाजको मूल प्रवृत्तिमा परिणत गर्यो।
आज चाकरीको स्वरूप रूपान्तरण भएको छ। कार्यालय वा दरबारको आँगनमा उपस्थित भएर हैन, सामाजिक सञ्जालमै डिजिटल चाकरीको बाढी आएको छ। भौतिक उपस्थिति आवश्यक नपर्ने, डिजिटल माध्यमले चाकरी संस्कृतिलाई अझ व्यापक र गहिरो बनाइदिएको छ।
झट्ट हेर्दा, खराब केही देखिंदैन तर हरेक नियुक्ति हुनासाथ डिजिटल मसाजको यो हानाथापले हाम्रो समाजको उही संस्कार बयान गर्छ जुन फैलिएर आजको राजनीति र देशलाई यो विषम परिस्थितिमा पुर्यायो। नेताको हरेक निर्णय वा वक्तव्यबारे समालोचना नगरी प्रशंसा गर्ने चलनले हालै बनाएको खरानी हो, विभूत नसम्झिनु भन्नुपर्ने बेला आएको छ। स्तुतिगान मात्र सुन्न अभ्यस्त, जनताबाट टाढिएका दलहरू राजनीतिमा ओशोको कथाका भिन्डी जस्तै प्रतीत भएका छन् |
चाकरी संस्कृतिको प्रत्यक्ष प्रभाव नेतृत्वमा देखिनु नै हाम्रो समाजको यो रोग निको नहुनु हो। जब वास्तविकता बुझ्नु भन्दा आसे-पासेहरूले गर्ने चाकरीबाटै सत्यको मापन हुन थाल्छ आलोचना र आत्म-समीक्षाको संस्कृति हराउँछ।
दलहरूको निर्णय क्षमता गुम्दै जानु र गलत नीति र कामलाई दोहोर्याउने प्रवृत्ति बढ्दै जानुमा मौजुदा समाजको चाकरी गर्ने संस्कार धेरै हदसम्म जिम्मेवार छ। नयाँमा यो रोग कति सल्किनेछ समयले बताउला।
बिष्टको भनाइमा- नेपालले साँचो प्रगति गर्न चाहन्छ भने नयाँ सीप मात्र सिक्नु पर्याप्त छैन, यो चाकरी संस्कार जस्तो हानिकारक अभ्यासलाई बिर्सनु र बदल्नु अपरिहार्य छ।
जेन-जीका नयाँ मान्छेहरूमा यो रोग कति सल्किनेछ समयले बताउला। तर नेपालको कर्मचारीतन्त्रलाई गाँजेर बसेको चाकरीको यो रोगले अब आउने जोकोही संक्रमित हुने सम्भावना छ।
सरुवा-बढुवा, राजनीतिक नियुक्ति, तालिम-भत्ता यान-त्यानमा धेरैजसो पहुँच चाकरीवालालाई मात्र उपलब्ध हुनु, भ्रष्टाचार ढाकछोप गर्ने सुरक्षाकवच पाउन चाकरी काम गर्नु, आफ्नो मान्छेलाई सुरक्षा र सुविधा दिलाउनु सर्वमान्य जस्तो भएको छ। आलोचना गर्नेलाई शत्रु ठान्ने राजनीतिक संस्कारको अन्तर्यमा यही कुसंस्कार छ।
कर्मचारीलाई योग्यता र इमानदार कामको आधारमा मूल्यांकन नगर्नाले र मनोबल गिराउनाले नै नेताको चाकरी गरिरहेका हुनसक्छन्। सुशासनको बाधक यो संस्कारलाई नहटाएसम्म नेपालको शासन-प्रशासन विकास र पारदर्शिताभन्दा सम्बन्ध, निर्भरता र अवसरवादबाटै निर्देशित हुन्छ।
यसरी यी यावत् राज्य संयन्त्र र यिनका कार्यशैली हेर्दा आज पनि बिष्टले औंल्याए झैं परनिर्भरता र भाग्यवादलाई मजबुत बनाउने संरचनागत कारणहरूले चाकरीको संस्कारलाई अझ गहिरो बनाएको बुझ्न सकिन्छ।
नेपालमा हरेक नयाँ सरकार र नयाँ मन्त्री बनेसँगै परिवर्तनको आशा पलाउँछ, तर वास्तविकता के हो भने- हिजोका दलहरूको चमक हराउँदै जाँदा पनि चाकरी संस्कृति भने पुनर्गठित भएर नयाँ शक्तिको वरिपरि झुम्मिन्छ। हिजो नेताको जयजयकार गर्नेहरू आजका नयाँ मन्त्रीका आँगनमा पुगेका हुन्छन्।
यसरी सरकार बदलिन्छ, अनुहार बदलिन्छन्, तर चाकरीको जरा भने झन् गहिरिंदै जान्छ, जसले देखाउँछ कि नेपालमा राजनीति भन्दा पनि चाकरी संस्कृति नै सबैभन्दा स्थायी शक्ति हो।
अचेल, ज्ञान र दक्षता भन्दा बढी ‘नेटवर्किङ’ मा विश्वास गर्ने संस्कार पलाउँदै गएको देखिन्छ। पद, पहुँच र अवसर हासिल गर्ने साधन अब इमानदार श्रम वा योग्यता होइन, बरु नेतासँग नजिकिनु, ‘आफ्नो मान्छे’ समूहमा पस्नु र निरन्तर चाकरी गर्नु बनेको छ।
यसले केवल पुरानो राजनीतिक संस्कृतिलाई पुनरुत्पादन गरेको छैन, नयाँ पुस्तामा पनि भाग्यवाद र चाकरी संस्कृतिको बीउ रोप्दै जाने त होइन? आज स्वास्थ्य सेवाका क्षेत्र, जनस्वास्थ्य, पर्यटन, कृषि, उद्योग-व्यापार आदि-त्यादि सबमा समस्या देखिनुको सामाजिक-राजनीतिक कारणहरू खोतल्न जरूरी छ। सुशासनको जगमा प्रहार गर्ने चाकरीको संस्कारलाई जेन-जीले बदल्न खोजेका छन्।
अब भान्सामा भिन्डीको साटो अरू केही पाक्ला, नवाबको अनुहार फेरिएला तर चाकरहरूको संस्कार फेरिन अझै कति पुस्ता लाग्छ यसै भन्न गाह्रो छ। डिजिटल चाकरहरूको बिगबिगी देख्दा आशा गर्न गाह्रो छ। तर इतिहास छिटो-छिटो बदलिने जमानामा आशावादी हुनैपर्छ।
प्रतिक्रिया 4