
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा मागेका छन्।
- शर्माले जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको भन्दै नयाँ नेतृत्व आवश्यक भएको बताएका छन्।
- शर्माले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मागसमेत उठाएका छन्।
३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् ।
जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनको धारणा छ ।
यस विषयमा उनले पार्टी पंक्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् ।
छलफलमा सहभागी एक कार्यकर्ताले नेता शर्मासँगको भनाइ उद्धृत गर्दै भने, ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माको भनाइ छ ।
भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाएर भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेका थिए ।
माइतीघरतर्फबाट नयाँबानेश्वरतर्फ प्रस्थान गरेको युवाहरुको जुलुश नयाँबानेश्वरको प्रहरी घेरा तोड्दै संसद् भवन पुगेपछि हिंसात्मक बनेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
जताततै आगजनी र झडप भएपछि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसहित, प्रधानमन्त्री केपी शर्मा ओली र सबैजसो राजनीतिक दलका शीर्ष नेता तथा मन्त्रीहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरेको थियो ।
जेनजी आन्दोलनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।
पार्टी शीर्ष नेताहरुको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आएका जनार्दनले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको जनाएका छन् ।
त्यसैले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरिसकेको छ ।
जनार्दनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने जनाएका छन् ।
उनले जेनजी आन्दोलनबारे गरेको संश्लेषण र विगतदेखि पार्टीमा उठाउँदै आएका मागबारे पुनः पार्टी पंक्तिमा छलफल थालेका छन् । उनले गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डमाथि प्रश्न उठाएका थिए । तर त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रचण्ड पक्षकाले भने जनार्दनमाथि पार्टीमा अराजकता मच्चाइएको आरोप लगाउने गरेका छन् ।
जेनजी आन्दोलनबारे जनार्दनको संश्लेषण र आगामी बाटो यस्तो छ–
१. जेन जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, सँस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्छ ।
२. यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको छ ।
३. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्छ ।
४. पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ ।
५. २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्छ ।
६. पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।
७. नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ ।
८. कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।
९. वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्छ ।
१०. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ ।
११. पार्टी भित्रका दलित महिलाका समस्याहरु समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्छ ।
१२. साँस्कृतिक बिचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्नुपर्छ ।
१३. शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षण सम्बन्धी नीति तय गर्नुपर्छ ।
१४. श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ ।
१५. राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।
१६. उपर्युक्त लक्ष्य पुरा गर्न सो अनुसारको संगठन बनाउनुपर्छ ।
प्रतिक्रिया 4