+
+
Shares

स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका वालहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते २१:०६

४ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा नेपाल इन्जिनियर्स एसोसिएसनसहितका प्रतिनिधिहरुले गरेको प्रारम्भिक अध्ययनबाट स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष निकालिएको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका वालहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको भवन अध्ययन गर्दा लोडबियरिङमा, वालहरुमा त्यति धेरै क्षति नभए पनि स्ल्याबहरु टोटली क्षति भएको अवस्था छ । जसले गर्दा हाललाई यसलाई प्रयोग गर्न अत्यन्त जोखिम छ ।’

नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को हिसाबले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनलाई विश्वकै नमूना मानिन्छ । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनाइएको यो भवनमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल रहेको प्राविधिकहरु बताउँछन् ।

कुनै समय विदेशबाट समेत विद्यार्थीहरु अध्ययन अवलोकन गर्न आउने स्वास्थ्य मन्त्रालयको यो भवनमा जेनजी युवा आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको थियो ।

आगजनीबाट क्षतिग्रस्त संरचनाहरुको शहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनयर्स सोसाइटी, मेकानिकल इन्जिनियर्स सोसाइटीलगायतका प्रतिनिधिहरु सम्मिलित टोलीले अध्ययन गरिरहेको छ ।

सोही अध्ययनको क्रममा यसअघि सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, नेपाल बार एसोसिएसन र नेपाल गुणस्तर तथा नापतौल विभागका भवनहरू तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको थियो । प्रयोग अयोग्य ठहर गरिएका भवनहरुमा खतराको संकेत स्वरुप रातो स्टिकर टाँसिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो अध्ययन देशभर भइरहेको जानकारी दिए । अध्ययनको निष्कर्ष सरकारलाई बुझाइने उनले बताए ।

आगलागीबाट भएका भवनहरुमध्ये कुनै भवनको एकातिरको भागमा धेरै र अर्कोतिरको भागमा थोरै क्षति पुगेको पाइएको उनले बताए ।

उदाहरणका लागि सर्वोच्च अदालत भवनको उत्तरतर्फको भागमा धेरै क्षति र दक्षिणतिरको भागमा कम क्षति पुगेको उनले बताए ।

आगजनी भएका सिंहदरबारभित्रका भवनहरुमा पनि धेरैजसो प्रयोग गर्न मिल्ने र केही मात्र पुन: प्रयोग गर्न नमिल्ने खालको पाइएको उनले बताए ।

एसोसिएसनले प्राविधिक परीक्षण पश्चात मात्र संरचना प्रयोग गर्न सरोकारवालालाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?