६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आइतबार दिउँसो बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विशेष महाधिवेशनबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले मंसिरमा विशेष महाधिवशेन गर्नेगरी केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गरेका थिए । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार, नेतृत्वको हस्तान्तरणबारे विचार, विधि, प्रक्रियाका बारेमा आजको बैठकमा प्रारम्भिक छलफल समेत भएको छ ।
‘मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको छ,’ सापकोटाले भने ।
त्यसका लागि यही असोज ८ गते स्थायी र ९ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको उनले जानकारी दिए ।
‘स्थायी समिति असोज ८ र केन्द्रीय समितिको बैठक असोजको ९ गते बस्नेछ,’ उनले भने ।
यी दुवै बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव पेश गर्नेछन् ।
‘अहिले तत्कालै वर्तमान परिस्थिति जुन छ, यो सबै विषयमा आधिकारिक संस्थाबाट धारणा बनाउनुपर्ने भयो । महाधिवेशनमा जानका लागि केन्द्रीय कमिटी विघटन गरेर अध्यक्षको संयोजकत्वमा आयोजक कमिटी बनाउने निर्णय भएको हो,’ सापकोटाले भने ।
प्रतिक्रिया 4