१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने दाबी गरेका छन् । राजीनामा अस्वीकृत भएपछि मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापति थापाले आफ्नो जवाफदेहिता ठानेर राजीनामा दिएको बताएका हुन् ।
‘जसले मत माग्नुभएन, वा भोट हाल्न जानुभएन उहाँहरुलाई थाहा हुने कुरा भएन,’ सभापत थापाले भने, ‘जो साथी लाग्नुभयो उहाँहरुको सुझाव मेरो लागि शिरोधार्य हुने नै भयो ।’ जो निर्वाचनमा खटिएर लागे उनीहरूको सुझावका आधारमा जिम्मेवारीमा फर्किएको उनले बताए ।
आफूले राजीनामा स्वीकृत होस् नै भन्ने चाहेको पनि उनले बताए । उनले भने, ‘मैले गरेको निर्णय र निर्णयपछिको अर्को निर्णयले यो अध्याय सकियो ।’
आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले आफू रोकिएको सभापति थापाले बताए ।
‘विशेष महाधिवेशनपछि सभापतिको निर्णयको आधारमा निर्वाचनका प्रक्रिया पूरा गर्ने मेरो कर्तव्यभित्रको कुरा थियो । ३ गते मैले सबै काम टुंग्याएर राजीनामा दिएको थिएँ,’ सभापति थापाले भने ।
प्रतिक्रिया 4