आमा,
मलाई एकैछिन पनि बस्न मन छैन शहरमा,
शहर अब, शहर जस्तो रहेन ।
शहर भित्रका रहरहरु, धेरै निमोठिएका छन् ।
सपना र बाध्यताका ती मनहरु सबैसबै
शहर भित्र छियाछिया भएर छताछुल्ल हुदैछ ।
त्यसैले, आमा !
मलाई एकैछिन पनि बस्न मन छैन शहरमा ।
हिजो अवसर र जीवन जीउने यो शहर,
आँखै अगाडि भाइ–बहिनीको चित्कारमा पनि,
आफ्नै सन्तानको पीडा र कोलाहलमा पनि,
कसरी मन्त्रमुग्ध भएर बसिरहन सक्छु र ?
चित्कार रोदन र छटपटाहटमा मुकदर्शक भएर बस्न बाध्य छु म !
त्यसैले, आमा !
मलाई एकछिन पनि बस्न मन छैन शहरमा ।
जित कस्को थियो ? तिम्रो या मेरो ? या त कसैको ?
तिमी भाइ, म दाजु, मेरै सन्तान तिमी,
मेरै भाइ, भतिजा र छोरी, चेली,
यतिसम्म कठोर र क्रुर पनि कसरी हुन सक्छु र !
आफ्नै आफन्तको मलामी कहाँ बन्न सक्छु र !
अपमानित, कलंकित र हत्याराको पगरी गुथेर
बस्न म सक्दिनँ आमा ।
त्यसैले,
आमा एकैछिन पनि बस्न मन छैन शहरमा,
माथिल्लो घरे दाजु पनि शहीद हुनु भो रे !
तल्ला घरे बहिनीको पनि सिन्दुर पुछियो रे !
दशैं, तिहार, छठ सबै–सबै खल्लो लाग्ने भो रे !
गुन्यू चोली र सारी ल्यादिने आफन्त घटे रे !
छोरीको खेलौना घट्यो, छोराको जिम्मेवार बढ्यो,
क्षणभरमा नै टुहुरो शब्द जीवनमा जोडियो रे !
त्यसैले,
आमा एकैछिन पनि बस्न मन छैन शहरमा ।
हाम्रो शान सिहदरबार भवन,
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका
जलेर सबै खरानी हुँदा पनि
जलिरहेको मन लिएर, पोलिएको मुटु लिएर पनि
दुखेको घाउमा मल्हमपट्टी गर्ने कोही छैन यहाँ
त्यसैले, आमा
मलाई एकछिन पनि बस्न मन छैन शहरमा ।
रहर अनि बाध्यताको यो सुन्दर शहरमा
आँसुका डोबहरु सुक्न नपाउँदै
शरीरको पसिना ओभाउन नपाउदै फेरी
बदनामीको संज्ञा पाएर पनि उठ्दै छु म ।
समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्दै छु ।
कोसिसमा छु, पीडामा छु, ढलेर उठ्दैछु, तंग्रिँदै छु
त्यसैले आमा
मलाई एकछिन पनि बस्न मन छैन शहरमा ।
हिलोमा कमल फुल्छ रे, नयाँ बिहानी आउँछ रे
नौलो र सुनौलो ताजगीपूर्ण सपना बोकेर
एक झिल्को बिच पनि ठूला इच्छा शक्ति छन्
अङ्कुराएका नयाँ चाहना र आशाहरु लिएर
एक चोटी हेरौँ जस्तो लाग्छ,
फेरी उस्तै त हुने हैन !
फेरि सोच्छु डरलाग्छ
त्यसैले आमा
मलाई एकै छिन पनि बस्न मन छैन शहरमा
एक रति बस्न मन छैन शहरमा
– सगरमाथा आरोही र गीतकारसमेत रहेका नेपाली नेपाल प्रहरीमा कार्यरत छन् ।
प्रतिक्रिया 4