
९ असोज, काठमाडौं । अवकाशमा जान एक महिना बाँकी रहँदा ४५ जना करारमा भर्ना गरेका नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्ने अन्तिम तयारी थालेका छन् ।
नेवानिका विभिन्न अन्तर्राष्ट्रिय कार्यालयमा कन्ट्री म्यानेजर तथा एकाउन्ट म्यानेजर लगायत पदमा सरुवाका लागि अधिकारीले अहिले धमाधम अन्तर्वार्ता लिइरहेका छन् ।
विदेशमा राम्रो कमाइ हुने भएकाले ती स्टेसनमा सरुवा हुन चाहनेसँग आर्थिक लाभ लिएर मात्रै अधिकारीले सरुवा गर्ने गरेको नेवानिकै एक अधिकारीले बताए । नेवानिले देश बाहिरका विभिन्न कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्दैछ ।
नेवानिले दुबई, मुम्बई र ग्वान्जाओमा आठौं तहका एक–एक जना कर्मचारीलाई कन्ट्री म्यानेजरका रूपमा सरुवा गर्दैछ । त्यसरी सरुवा भएर जान चाहने कर्मचारीसँग कार्यकारी अध्यक्ष अधिकारीले मंगलबाार अन्तर्वार्ता लिएका छन् ।
त्यस्तै नयाँदिल्ली र बैंककमा सातौं तहका एक–एक कर्मचारीलाई एयरपोर्ट/स्टेसन म्यानेजरमा नेवानिले पठाउँदै छ । त्यका लागि पनि उनले मंगलबार नै अन्तर्वार्ता लिएर भ्याएका छन् ।
त्यस्तै दिल्ली, मुम्बई र ग्वान्जाओमा सातौं तहका एक–एक जना लेखा प्रबन्धक पठाउने तयारी उनले गरेका छन्, जसका लागि बुधबार अन्तर्वार्ता लिइएको छ ।
दिल्ली, बैंकक र ग्वान्जाओमा छैटौं तहका तीन जना एसरपोर्ट/स्टेसन म्यानेजर पठाउने तयारी उनले गरेका छन् । त्यसका लागि बुधबार नै अधिकारीले अन्तर्वार्ता लिएका छन् । बैंकक र दोहामा एक–एक जना छैटौं तहका लेखा प्रबन्धक सरुवा गर्ने तयारी उनको छ । यो पदमा जान इच्छुकसँग उनले बिहीबार अन्तर्वार्ता लिएका छन् ।
यसअघि १ साउनमा नै नेवानिले सूचना प्रकाशित गरी यी स्थानमा जान चाहनेसँग आवेदन माग गरेको थियो । त्यसरी आवेदन दिनेसँग अन्तर्वार्ता भइरहेको छ ।
तर, देखाउनका लागि मात्रै प्रक्रिया पूरा गरे पनि यथार्थमा आर्थिक लाभका आधारमा सरुवा हुने गरेको नेवानिकै कर्मचारीहरू बताउँछन् । आफ्नो कार्यकाल एक महिना मात्रै बाँकी भएको अवस्थामा कर्मचारी सरुवाका लागि भरमग्दुर प्रयास गर्नुले यसको पुष्टि हुने सम्बद्ध स्रोतले बतायो ।
‘यसरी देश बाहिरका विभिन्न स्टेसनमा पोस्टिङ लिन चाहनेसँग आर्थिक लाभ लिने र भनेको ठाउँमा सरुवा गरिदिने संस्कृति नै अध्यक्षले बनाएका छन्,’ नेवानि स्रोतले भन्यो, ‘भारतका स्टेसनमा सरुवा हुनेसँग ५ लाखसम्म र तेस्रो मुलुकमा जानेसँग ८ देखि १० लाख रुपैयाँको डिल हुने गरेको छ ।’
नेवानिले कर्मचारी भर्ना गर्न लागेका देशमध्ये कतिपयमा त नियमित उडान हुने कि नहुने भन्ने टुंगो छैन । नेवानिले बिहीबारदेखि चीनको ग्वान्जाओमा पहिलो उडान गर्दैछ । तर, त्यहाँका लागि अहिलेसम्म नियमित उडान तालिका नै बनेको छैन । तर, अधिकारीले त्यहाँका लागि पनि कर्मचारी पठाउने अन्तिम तयारी थालेका हुन् ।
यसअघि आफ्नो कार्यकाल सकिन लाग्दा अधिकारीले कानुन विपरीत अन्तर्वार्ता मात्रै लिएर करारमा ४५ कर्मचारी भर्ती गरेका थिए । तेस्रो, चौथो र पाँचौं तहमा गरेर उनले ४५ जनालाई छनोट गरेका थिए ।
लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी व्यवस्था सामान्यतया संगठित संस्थाले अस्थायी वा करारमा नियुक्ति गर्न पाइँदैन ।
संगठनलाई आवश्यक पर्ने कार्यालय सहयोगी र श्रेणीविहीन पदमा कर्मचारी नियुक्ति गर्नुपरे मात्रै करार वा दैनिक ज्यालादारीमा राख्न पाइने व्यवस्था छ । त्यसरी अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था छ ।
तर, कार्यकारी अध्यक्ष अधिकारीले कानुन विपरीत तेस्रो, चौथो र पाँचौं तहमा अत्यधिक मात्रामा कर्मचारी भर्ना गरेका हुन् । आफ्नो चार वर्षे कार्यकालमा विभिन्न पार्टीका २ सयभन्दा बढी कार्यकर्तालाई अधिकारीले दैनिक ज्यालादारी तथा करारमा नियुक्त गरेको स्रोत बताउँछ ।
प्रतिक्रिया 4