+

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ? ९ मिथक र सत्य जानौं

२०८२ असोज  १० गते १३:३० २०८२ असोज १० गते १३:३०

धेरैले अझै पनि रेबिज खोप नाइटोमा लगाइन्छ भन्ने ठान्छन्, तर यो गलत हो ।

Shares
के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ?  ९ मिथक र सत्य जानौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेबिज भाइरस जनावरको टोकाइ वा उनीहरूको र्‍यालबाट मानिसमा सर्छ, समयमै खोप नलगाएको यो प्राणधातक हुन्छ ।
  • रेबिज कुकुर मात्र नभई बिरालो, बाँदर, चमेरो र स्यालबाट पनि सर्न सक्छ।
  • रेबिजबाट बच्न जवनावरको टोकाइपछि तुरुन्त खोप लगाउनु आवश्यक छ ।

रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको र्‍यालमा रहन्छ । जब जनावरले मानिसलाई टोक्छ, भाइरस मानिसमा सर्छ । रेबिज एक गम्भीर र प्राणघातक रोग हो, जसलाई लिएर समाजमा धेरै मिथक र भ्रमहरू छन् ।

मिथक १ : रेबिज केवल टोकाइबाट मात्र सर्छ ।

सत्य : रेबिज सामान्यतया जनावरको टोकाइबाट सर्छ, तर यदि कुनै संक्रमित जनावरको र्‍याल अन्य हुनै तरिकाले शरीरमा प्रवेश गर्दा पनि यो रोग मानिसमा सर्छ । जस्तो काटेको, चिथोरिएको ठाउँ वा आँखा, नाक वा मुखको झिल्लीमा पुग्यो भने पनि यो रोग सर्न सक्छ ।

मिथक २ : रेबिज कुकुरको टोकाइबाट मात्रै हुन्छ ।

सत्य : धेरैमा रेबिज कुकुरबाट मात्र सर्छ भन्ने गलत धारणा छ । तर, यो सत्य होइन । रेबिज बिरालो, बाँदर, चमेरो र स्याल जस्ता अन्य जनावरबाट पनि सर्न सक्छ । साथै, कुनै पनि रेबिज–संक्रमित जनावरले यो रोग फैलाउन सक्छ ।

मिथक ३ : घरपालुवा जनावर रेबिजबाट सुरक्षित हुन्छन् ।

सत्य : घरपालुवा जनावर स्वत: रेबिजबाट सुरक्षित हुँदैनन् । उनीहरू लाई समयमै खोप लगाउनु आवश्यक हुन्छ । यदि खोप नलगाइएको खण्डमा उनीहरू पनि यो रोगको जोखिममा पर्न सक्छन् । त्यसैले आफ्ना घरपालुवा कुकुर वा बिरालोलाई नियमित रूपमा रेबिज खोप लगाउनु जरुरी हुन्छ । यसका लागि पशु चिकित्सकको सल्लाह लिनुपर्छ।

मिथक ४ : खोप लगाएको कुकुरले टोक्दा रेबिज खोप आवश्यक पर्दैन ।

सत्य : यदि कुनै घरपालुवा कुकुर वा बिरालोलाई खोप लगाइएको छ र उसले टोके वा चिथोर्यो भने, तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । कहिलेकाहीँ खोप छुट्न सक्छ वा रोग प्रतिरोधी क्षमता पूर्णरूपमा नबनेको कारण रेबिजको जोखिम रहन सक्छ । त्यसैले डाक्टरको सल्लाह लिएर पोस्ट–बाइट खोप लगाउनुपर्छ ।

मिथक ५ : रेबिज खोप नाइटोमा लगाइन्छ ।

सत्य : ‘धेरैले अझै पनि रेबिज खोप नाइटोमा लगाइन्छ भन्ने ठान्छन्, तर यो गलत हो । आधुनिक चिकित्सा विज्ञानले प्रगति गरिसकेको छ । अब रेबिज खोप नाइटोमा नभईपाखुरामा वा कहिलेकाहीँ छालामुनि लगाइन्छ । यो आधुनिक खोप निकै प्रभावकारी र सुरक्षित हुन्छ ।

मिथक ६ : टोकेको ठाउँमा बेसार, खुर्सानी वा तेल लगाउँदा रेबिजबाट बचिन्छ ।

सत्य : कुकुर वा बिरालोले टोकेको ठाउँमा बेसार, खुर्सानी जस्ता घरेलु उपचार गर्नु पूर्णरूपमा गलत हो । यस्ता उपायले बिरामीलाई झन् गम्भीर हानि हुन सक्छ । जनावरले टोकेको ठाउँलाई तुरुन्तै सफा पानी र साबुनले धुनुपर्छ र तुरुन्तै डाक्टरकहाँ गएर रेबिज खोप लगाउनुपर्छ ।

मिथक ७ : रेबिज खोप जुनसुकै बेला लगाए पनि हुन्छ ।

सत्य : धेरैले रेबिज खोप जुनसुकै बेला लगाए पनि हुन्छ भन्ने ठान्छन्, तर यो धारणा निकै खतरनाक छ । रेबिज खोप टोकाइ वा चिथोरिएको तुरुन्तै लगाउनुपर्छ । ढिलाइ गर्दा खोपको प्रभाव कम हुन्छ । यदि लक्षणहरू देखिन थाले भने यो रोगको उपचार सम्भव छैन । यो रोग प्राणघातक हुन्छ ।

मिथक ८ : टिटानसको खोपले रेबिजबाट बचाउँछ ।

सत्य : धेरै मानिसहरू टिटानसको खोप लगाएपछि बढी ढुक्क भएको देखिन्छ र कति त यही खोप लगाएपछि रेबिज खोप लगाउन समेत नआहेको देखिन्छ । नतिजा, रेबिज लागेको जनावरले टोकेको रहेछ भने रेबिजको कारणले उनीहरूको मृत्यु समेत भएको अनुभव हामीसँग छन् । तसर्थ रेबिज खोप अनिवार्य हुन्छ ।

मिथक ९ : कुकुरले टोकेको २४ घण्टाभित्र खोप लगाइसक्नुपर्छ ।

सत्य : कुकुरले टोकेको २४ घण्टाभित्र नै खोप लगाइहाल्नुपर्छ भन्ने छैन । कुकुर वा जनावरले टोकेपछि जतिसक्यो छिटो खोप लगायो त्यति छिटो काम गर्ने हुँदा तुरुन्त लगाउनु उचित हुन्छ । तर कुनै कारणवश ढिला हुँदा पनि थाहा पाउनेबित्तिकै वा खोपको उपलब्धता हुनेबित्तिकै लगाउनुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

रेबिजबाट बच्ने एक मात्र उपाय रोकथाम हो, जुन खोपमार्फत सम्भव छ । यदि पाल्तु जनावर छ भने उनीहरूलाई समयमै खोप लगाउनुपर्छ । जनावरले टोकेमा तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ र घाउमा कुनै पनि घरेलु उपाय अपनाउनु हुँदैन । यदि रेबिजको लक्षण देखिन थाले भने यो रोग प्राणघातक हुन सक्छ । त्यसैले रेबिजसँग सम्बन्धित कुनै पनि मिथकमा विश्वास गर्नुहुँदैन र डाक्टरको सल्लाहलाई मात्र पालना गर्नुपर्छ ।

रेबिज
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ?  ९ मिथक र सत्य जानौं

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ? ९ मिथक र सत्य जानौं

वायु प्रदूषणको असर : समयभन्दा छिटो बुढो हुँदै मुटुका रक्तनली

वायु प्रदूषणको असर : समयभन्दा छिटो बुढो हुँदै मुटुका रक्तनली

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

आन्दोलनका घाइतेको उपचारका लागि फरच्युना हेल्थकेयरले दियो नि:शुल्क सिरिन्ज

समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?

समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

भ्रामक खबरले पार्छ मानसिक स्वास्थ्यमा ठूलो असर, बच्ने उपाय के ?

फ्याटी लिभर : कलेजोमा बोसो जम्मा हुने रोग, कसरी बच्ने ?

फ्याटी लिभर : कलेजोमा बोसो जम्मा हुने रोग, कसरी बच्ने ?