
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी भित्रैबाट नेतृत्व छाड्न दबाब पर्न थालेको छ।
- प्रचण्डले नेतृत्व छाड्नुपर्ने दबाबलाई सम्बोधन गर्दै जिम्मेवारीबाट पन्छिने वा पलायन हुने कुरा आफ्नो दिमागमा छैन भने।
- प्रचण्डले नेतृत्व हस्तान्तरण निश्चित विधि र प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।
१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नेतृत्व छाड्ने दबाब पार्टी भित्रैबाट पर्न थालेको छ । सानै स्वरमा भएपनि केन्द्रीय समितिको बैठकमा यो विषय उठेको छ ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सुरुमै मौखिक सम्बोधन गरेका प्रचण्डले दुई वटा विषयमा चर्चा भइराखेको भनेर नेतृत्वबारे प्रश्नहरू आफैँ स्मरण गरे ।
प्रचण्डकै शब्दमा ‘एउटा– ठूला भनिएका हिजोका पार्टीहरुको प्रमुख नेताहरुले छोड्नु पर्छ, राजनीतिबाट या पदबाट भन्ने निकै ठूलो मार्केटमा चर्चा र मिडियामा चर्चा भइराखेको छ ।’
अर्को प्रचण्डले नै छोड्नुपर्छ भन्ने आवाज पार्टीभित्रै छ । उनले स्मरण गरेका छन्, ‘हाम्रै पार्टीको बारेमा र मेरो बारेमा त ३५/३६ वर्षदेखि कति गरेको भन्ने कुरापनि विगतदेखि हुँदै गरेका हुन् । अहिले पनि भइराखेकै छ ।’
केन्द्रीय समितिकै बैठकमा वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले प्रचण्डले नेतृत्व छाड्नुपर्छ र आफूलाई कार्यवहाक दिनुपर्छ भन्दा प्रचण्डकै शैलीमा दुई वटा तर्क गरेका छन् ।
पहिलो : तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ ।
दोस्रो : जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको छापको परिप्रेक्ष्य ।
जुन पृष्ठभूमि र आधार देखाएर नेतृत्व छाड्न दबाब परेको छ त्यही पृष्ठभूमि केलाउँदै प्रचण्डले भनेका छन्, ‘म कमरेडहरुलाई व्याख्या नगरिकन भन्न चाहन्छु– ‘अहिले पनि कम्युनिस्ट आन्दोलनको निम्ति, देशको निम्ति अझ राष्ट्रिय स्वाधीनताको निम्ति या वैचारिक विमर्श बहस र संघर्षको निम्ति म आफ्नो जिम्मेवारीबाट पन्छिने, पलायन हुने कुरा मेरो दिमागमा बिल्कुलै छैन ।’
प्रचण्डले दोहोर्याएका छन्, ‘जिम्मेवारीबाट पन्छिने पलायन हुने अब चाहिँ पुग्यो भन्ने पक्षमा म छैन । अन्तिम समय सम्म पनि म लडि राख्नुपर्छ भन्ने संकल्प म भित्र छ ।’
यहाँनेर प्रचण्डको रहस्यमयी अभिव्यक्ति छ–देशको निम्ति, राष्ट्रिय स्वाधीनताको निम्ति, वैचारिक विमर्श बहस र संघर्षको निम्ति पदमै बसिरहनुपर्छ भन्ने छैन । नेतृत्व भनेको पार्टीको अध्यक्ष मात्रै नरहेको प्रचण्डको जवाफ छ ।
‘नेतृत्व सँधै अध्यक्ष भइराखे मात्रै नेतृत्व हुने, अध्यक्ष पद नभएपछि नेतृत्व नहुने भन्ने चाहिँ हुँदैन । हामीले एउटा निश्चित विधि र यस्ता निश्चित प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ, त्यसको तयारी गर्नुपर्छ’ उनले भनेका छन् ।
यसको थप व्याख्या प्रचण्डले गरेका छैनन् । बरु नेतृत्व छाड्न दबाब दिनेलाई जवाफ दिएका छन् । ‘यो (नेतृत्व) कसैलाई टिको लगाएर हुने कुरा होइन । वैचारिक, राजनीतिक, संगठनात्मक प्रक्रियाबाट गुज्रेर नेतृत्व निर्माण गर्ने कुरा हो, नेतृत्व हस्तान्तरण गर्ने कुरा हो । यसलाई माक्र्सवादले इतिहासले घटनाक्रमले पुष्टि गरेको छ ।’
तथापि, नेतृत्व हस्तान्तरणबारे छलफल गरिरहन प्रचण्डको आग्रह छ । उनीहरू भन्छन्, ‘हामीले नेतृत्व हस्तान्तरण बारे पक्कै पनि अब सोच्नु पर्छ, छलफल गर्नुपर्छ भन्ने कुरा पनि भनिएको छ ।’
यसअघि पनि प्रचण्डले यस्तै अभिव्यक्ति दिएका थिए ।
एउटा भिडियो सन्देशमा उनले निश्चित विधि प्रक्रियाबाट पार्टी नेतृत्व हस्तान्तरण तिर अगाडि बढिराखेको बताएका थिए । अर्को संविधान दिवसको उपलक्ष्यमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘नेतृत्व हस्तान्तरणको छलफल चलेको छ र यसबारे निश्चित विधि प्रक्रियाबाट हामी एउटा टुंगोमा पुग्छौं ।’
तेस्रोपटक बिहीबार केन्द्रीय समितिको बैठकमा पनि प्रचण्डले उस्तै अभिव्यक्ति दिए, ‘नेतृत्व निर्माण नेतृत्व हस्तान्तरणको सबभन्दा वैज्ञानिक वस्तुवादी र परिस्थिति ले माग के गरेको छ भन्ने कुरालाई हामी सबैले सोच्नै पर्छ ।’
मैले पार्टीको नेतृत्व बल गरेर लिएको होइन’
आफूले कसरी नेतृत्व लिएको हो त्यसको पृष्ठभूमि र इतिहास ख्याल गरेर बोल्न र अर्को नयाँ नेतृत्व निर्माणमा लाग्न प्रचण्डको नेताहरूलाई प्रष्ट सन्देश छ । आफ्नो इतिहासलाई प्रचण्डले न्यूनतम बुझाई भनेका छन् ।
‘कमसेकम पनि यो बारेमा न्यूनतम हाम्रो बुझाईमा एकरुपता हुन जरुरी छ’ प्रचण्डले भनेका छन्, ‘मैले पार्टीको नेतृत्व बल गरेर, अनेक गरेर लिएको होइन ।’
२०४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि एउटा विशेष परिस्थितिमा तीन वर्षसम्म आफूलाई नेतृत्व गर् भन्दा हुदैँन भनेर रोक्दा रोक्दै अन्तिममा नेतृत्व लिनैपर्ने परिस्थिति आइपरेको र नेतृत्व लिएको प्रचण्डको भनाइ छ ।
यसो भनिरहँदा उनले महासचिव देव गुरुङलाई साक्षी राखे ।
‘गुरुङजी यहाँ हुनुहुन्छ’ प्रचण्डले भनेका छन्, ‘हामी सँगै थियौं । कस्तो परिस्थितिमा म पार्टीको ४६ सालको ऐतिहासिक जनआन्दोलन अगाडि पार्टीको महामन्त्री बन्न पुगेँ ।’
आफू महामन्त्री बनिसकेपछि एकता केन्द्र बन्ने, जनयुद्ध हुने सबै सबै कुराहरुका कथाहरु सबैलाई स्मरणमा रहेको भन्दै उनले दुई बुँदामा उही कुरा दोहोर्याएका छन् ।
प्रचण्डकै शब्दमा ‘पहिलो कुरा– जिम्मेवारीबाट पन्छिने आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन, मेरो नेचर पनि होइन ।’
‘दोस्रो कुरा : पद लोभता मेरो नेचर होइन । मलाई पद नभए नहुने भन्या जस्तो गरि प्रतिक्रियावादी र अवसरवादीहरुले जसरी प्रचार गरेका छन्, त्यो सत्य होइन । म नेतृत्वमा आएको पनि बल गरेर मलाई बनाउनै पर्यो भन्ने ढंगले होइन । जबरजस्ती मेरो काधमा जिम्मेवारी आइपर्यो र मैले बोकेको हो ।’
आफू नेतृत्वमा आएपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको र आफूहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन गरेको प्रचण्डको भनाइ छ ।
प्रचण्डका अनुसार एकता केन्द्र बन्यो, एकता महाधिवेशन भयो । माओवादी बन्यो, जनयुद्ध भयो । जनआन्दोलन भयो, शान्ति सम्झौता भयो, संविधान सभा भयो, संघीय गणतन्त्र मुलुकमा आयो । यो सबैमा पार्टीले र जनताले आफूलाई भरोसा गरेर विश्वास गरेर जे जिम्मेवारी दियो त्यसमा आफू लागेको उनले भनेका छन्, ‘आज पनि पार्टीले मलाई जिम्मेवारी दियो, मैले सकेको कुरा गर्ने कोशिश गरिराख्ने छु ।’
अहिले जुन बिन्दुमा पार्टी रहेको छ, जुन किसिमका देशी विदेशी प्रतिक्रियावादी चलखेल, षडयन्त्र तीव्रतामा भएका छन्, यस्तो परिस्थितिमा नेतृत्वको विषय उज्यालिएको भनेर प्रचण्डले असन्तुष्टि समेत जनाए । अर्थात, मुलुकको परिस्थिति ठीक नरहेको र यस्तो बेला नेतृत्वलाई कमजोर बनाउने प्रयास भएको भनेर उनले त्रास देखाउन खोजे ।
अर्कोतर्फ माओवादीमा अन्य नेताहरूमाथि समेत प्रश्न रहेको भनेर प्रचण्डले त्यसतर्फ ख्याल गर्न आग्रह गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘नेता सबै यहाँ, एउटा मात्रै नेताको कुरा होइन । हामी सबै नेतृत्वमा हुने कमरेडहरुको बारेमा पनि धेरै किसिमले कुरा उठेको छ । नेताहरुको कार्यकर्ताहरुको जीवन शैली, कार्य शैली, सांस्कृतिक आचरणका बारेमा विभिन्न रुपमा कुरा उठेका छन् ।
प्रतिक्रिया 4