+

दशैंमा पनि व्यस्त नेपाली खेलकुद

२०८२ असोज  ११ गते २१:१४ २०८२ असोज ११ गते २१:१४

क्रिकेटसहित पौडी खेलाडी, अल्ट्रा ट्रेल रनिङका खेलाडी र मोटर स्पोर्ट्सका खेलाडीहरु अहिले नेपालको झण्डा लिएर विदेशमा आफ्नो उपस्थिति जनाइरहेका छन् ।

दशैंमा पनि व्यस्त नेपाली खेलकुद

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पुरुष क्रिकेट टोली युएईको शारजाहमा वेष्ट इन्डिजसँग ऐतिहासिक टी२० सिरिज खेल्दै छ।
  • महिला क्रिकेट टोली मलेसियामा खेलिरहेको छ ।
  • नेपाली खेलाडीहरू दशैंको बेला विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा क्रिकेट, पौडी, ट्रेल रनिङ, मोटर स्पोर्ट्स र फुटबलमा देशको प्रतिनिधित्व गर्दैछन्।

११ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको माहोल चलिरहेको बेला नेपाली खेलकुद भने अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहेको छ ।

यतिबेला एक मात्र नभएर चार फरक खेलका नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि विदेशमा छन् ।

विशेषगरी अहिले नेपालको क्रिकेट टोली सबैभन्दा व्यस्त छ । एक होइन महिला र पुरुष दुवै राष्ट्रिय क्रिकेट टिम अहिले विदेशमा छ ।

क्रिकेटसहित पौडी खेलाडी, अल्ट्रा ट्रेल रनिङका खेलाडी र मोटर स्पोर्ट्सका खेलाडीहरु अहिले नेपालको झण्डा लिएर विदेशमा आफ्नो उपस्थिति जनाइरहेका छन् ।

दशैंका बेला रमझम र रमाइलोको बेला भएपनि नेपाली खेलकुदका लागि भने फरक अनुभव हुनेछ । खेलकुदको सिजन पनि दशैंका बेला हुने भएकोले नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा दशैं छाडेर देशका लागि मैदानमा उत्रनुपर्ने हुन्छ ।

खेलाडीहरुको लागि राष्ट्रको झण्डा अंकित जर्सी लगाएर प्रतिस्पर्धा उत्रनु नै दशैंभन्दा ठूलो कुरा हुनेछ । त्यसमा जित हात पार्न सके खेलाडीहरुले नेपाली जनतालाई दशैंमा दिने उपहार जस्तै हुन्छ ।

यस पटक क्रिकेट टोलीका लागि भने संयोग नै बन्यो पुरुष र महिला दुवै टोली अहिले देश बाहिर छन् । उनीहरुका लागि परिवार साथीभाईसँग बसेर रमाइलो गर्ने भन्दा पनि देशका लागि झण्डा बोलेर विपक्षीसँग मैदानमा प्रतिस्पर्धा गर्नु रमाइलो माहोल हुनेछ ।

नेपाली पुरुष क्रिकेट टोली हाल युएईको शारजाहमा छ । जहाँ नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेष्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक टी२० सिरिज खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) कै आयोजनामा हुन लागेको यो सिरिज टीयू मैदान पुनर्निमार्णको अवसथ्मा रहेकोले युएईमा हुन लागेको हो ।

त्यसको पहिलो खेल आज शनिवार हुँदैछ । नेपाल र वेष्ट इन्डिजबीच दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार हुनेछ । अर्थात नेपालले दशैंको फुलपाती र अष्टमीको दिन पनि क्रिकेट खेल्नेछ ।

त्यसपछि करिब एक साताको ब्रेक हुनेछ अनि नेपाली टोली उतैबाट आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ । जहाँ नेपालसहित ९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा छनोट हुनेछ ।

वेष्ट इन्डिज विरुद्धको ऐतिहासिक सिरिज जित्दै टी२० विश्वकप छनोटका लागि तयारी गर्ने र तेस्रो पटक टी२० विश्वकपमा छनोट भएर फर्कने लक्ष्यमा नेपाली टोली छ ।

यो सिरिज नेपालीहरूलाई खुसी बनाउने अवसर समेत रहेको कप्तान रोहित पौडेलले बताएका छन् । ‘हाम्रो लागि ऐतिहासिक अवसर त छ नै, नेपालीहरूलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने अवसर पनि रहेको छ’ उनले भनेका छन् ।

कप्तान रोहितले टी२० विश्वकपमा छनोट भएर नेपाल फर्कने बताएका छन् । ‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सक्यौं भने त्यसले एकदम राम्रो छाप छोड्छ विश्व क्रिकेटमा, सिरिज जितेपछि विश्वकपमा पनि छनोट हुनेछौं’ रोहितले भने ।

यस्तै महिला क्रिकेट टोली हाल मलेसियामा छ । नेपाली टोलीका १४ खेलाडी नै अहिले मलेसियान सुपर वुमन्स सिरिजमा विभिन्न ५ फरक टिममा रहेर खेलिरहेका छन् ।

उक्त सिरिज सकिएपछि नेपाल र मलेसियाको महिला टोलीबीच पाँच खेलको टी२०आई सिरिज हुनेछ ।

नेपाल र मलेसियाबीचको सिरिज असोज १६ देखि २२ गतेसम्म हुनेछ । असोज १६ गते दशैंको मुख्य दिन अर्थात टिकाको दिन हो । यही दिन नेपाली महिला टोली भने नेपालको झण्डा अंकित जर्सी लगाएर मैदान उत्रँदैछ ।

महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले अनलाइनखबरसँगको कुराकानीमा क्रिकेट आफ्नो कर्तव्यका रूपमा रहेकाले चाडपर्वभन्दा पनि खेलहरू महत्वपूर्ण हुने बताएकी थिइन् । उनले चाडपर्वमा सहभागि हुन नपाउनु दु:खद कुरा भएपनि क्रिकेट नै आफूहरुको काम भएकोले खेल महत्वपूर्ण हुने बताइन् ।

यसैगरी नेपालको पौडी टोली यतिबेला ११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतको अहमदावादमा छ ।

सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट कुल १६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा ११ पुरुष र ५ महिला खेलाडी छन् ।

च्याम्पियनसिप दशैंको मध्यतिर सुरु भइ दशैंपछि सम्म सञ्चालन हुँदा नेपाली खेलाडीहरुले भारतमा दशैं मनाउनेछन् ।

यस्तै स्पेनमा भइरहेको तेस्रो वर्ल्ड माउण्नटेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालमा चार खेलाडी सहभागी छन् । उनीहरुले दशैंको समयमै प्रतिस्पर्धा गरिरहेका छन् । नेपालबाट सुनमाया बुढा, सुमन कुलङ राई, मन कुमार मगर र साङ्गे शेर्पा चारै खेलाडीले ८२ किमी लङ ट्रेलमा प्रतिस्पर्धा गरिरहेका छन् । उक्त इभेन्ट आजै सञ्चालन भइरहेको छ ।

यस्तै नेपालको मोटोरस्पोर्ट खेलाडीहरु अहिले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न श्रीलंकामा छ । सेप्टेम्बर २६ देखि २८ सम्म हुने च्याम्पियनसिपमा नेपालबाट विभिन्न विधामा ६ खेलाडी सहभागि छन् । आजसम्म प्रारम्भिक चरणको खेल हुनेछ भने सेप्टेम्बर २८ आइतबार अन्तिम चरणका खेलहरु हुनेछ । त्यसपछि उनीहरु नेपाल फर्कनेछन् ।

नेपाली खेलाडीहरुले अटो जिमखाना, क्रस कार, अटोक्रस तथा ई–स्पोर्ट्स विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनुवार र रोशन अधिकारीले प्रतिस्पर्धा गर्दै छन् ।

यसबाहेक अहिले नेपालको भलिबल खेलाडीहरु भने आसन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षणमा व्यस्त छन् । नेपालको पुरुष टिम काभा मेन्स भलिबल च्याम्पियन्सिको तयारीमा छ भने यू१९ महिला टिम काभा यू१९ महिला प्रतियोगिताको लागि तयारीमा व्यस्त छ ।

यसैगरी महिला भलिबल टिमसहित विभिन्न खेलाका खेलाडीहरु अहिले २०औं एसियन गेम्सको लागि मिसन २०२६ मा प्रशिक्षणमा छन् ।

यस्तै फुटबलतर्फ नेपालको सिनियर पुरुष खेलाडीहरु बंगलादेशी प्रिमियर लिग खेल्न बंगलादेशमा छन् । पुरुष टिमका कप्तान किरण चेम्जोङसहित संयुक्त रुपमा सर्वाधिक गोलकर्ता अन्जन विष्ट अनी अनन्त तामाङ, आयुष घलान,  एरिक विष्ट, अभिषेक लिम्बु, योगेश गुरुङ, सनिश श्रेष्ठ बंगलादेशको विभिन्न चार क्लबबाट लिग खेल्दैछन् ।

यसैगरी नेपाली गोलमेसिन महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी पनि विदेशमा छिन् । उनी न्युजिल्याण्डको क्लब वेलिङटन फोनिक्समा अनुबन्ध भएकी छिन् र यो टोलीले अष्ट्रेलियाको शीर्ष श्रेणीको महिला फुटबल खेल्नेछ । यसैगरी प्रीति राई (जोर्डन) र पुजा राना (भुटान) पनि व्यावसायिक फुटबल विदेशमा छन् ।

नेपाली महिला यू१७ टिम एएफसी यू१७ महिला एसियन कप छनोटको तयारीमा छ । आउने अक्टोबर १३ देखि थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोटका लागि अहिले नेपाल जुनियर फुटबलरहरु तयारीमा व्यस्त छन् । यू१७ महिला फुटबल टोली पनि घोषणा भइसकेको छ ।

नेपालको सिनियर पुरुष र महिला फुटबल टिमले पनि छिटै अन्तर्राष्ट्रिय खेल खेल्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत भियतनाम विरुद्ध अक्टोबरमा हुने दुई खेलका लागि नेपाली पुरुष टोली पनि बन्द प्रशिक्षणमा छ । बंगलादेशमा लिग खेल्न गएका बाहेक खेलाडी प्रशिक्षणमा छन् । एसियन कप छनोटमा नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग होम र अवे दुवै म्याच भियतनामकै मैदानमा खेल्नेछ ।

यसैगरी महिला राष्ट्रिय फुटबल टिमले एक महिनापछि अर्थात अक्टोबर २६ मा भारतसँग सिक्किममा मैत्रीपूर्ण खेल खेल्नैछ । त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षकमा नविन न्यौपानेलाई नियुक्त गर्दै कोचिङ स्टाफ समेत चयन गरिसकेको छ । न्यौपानेले प्रशिक्षणका लागि ३३ खेलाडी घोषणा गरिसकेको र प्रशिक्षक दशैं लगत्तै सुरु हुने एन्फाले जनाएको छ ।

दशैँ र खेलकुद
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय