+
एसिया कप :

एसिया कप क्रिकेट : भारत र पाकिस्तान ऐतिहासिक फाइनलमा भिड्दै

२०८२ असोज  १२ गते ११:०४ २०८२ असोज १२ गते ११:०४

एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् ।

एसिया कप क्रिकेट : भारत र पाकिस्तान ऐतिहासिक फाइनलमा भिड्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा पहिलोपटक भारत र पाकिस्तान भिड्दैछन्।
  • भारतले समूह चरण र सुपर फोरमा पाकिस्तानलाई दुई पटक पराजित गर्दै अपराजित फाइनलमा पुगेको छ।
  • फाइनल खेलमा दुवै टोलीलाई राजनीतिक र भावनात्मक दबाब रहेको छ।

१२ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् ।

फाइनल खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखि फाइनल खेल सुरु हुनेछ । यस खेललाई क्रिकेट विश्वकै सबैभन्दा प्रतिक्षित प्रतिस्पर्धा मानिएको छ।

यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक आमनेसामने हुँदा दुवैपटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । यद्यपी यसपटक फाइनल भिडन्त हुने भएकाले वातावरण निकै चर्किएको छ।

यस संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरण र सुपर फोरमा पाकिस्तानलाई सजिलै हराएको भारतलाई अब उपाधि बचाउन निकै आत्मविश्वास छ।

ओपनर अभिषेक शर्माले ३०९ रनसहित प्रतियोगिताको ब्याटिङ चार्टमा शीर्षस्थानमा छन् भने बलिङमा पनि भारतकै कुलदीप यादव १३ विकेटसहित शीर्षमा छन्। जसप्रीत बुम्राहले पनि पावरप्लेमा निरन्तर नियन्त्रण गर्दै आएका छन्।

अर्कोतर्फ, पाकिस्तानले समूह चरणमा उतारचढाव देखाए पनि बंगलादेशविरुद्धको निर्णायक जितपछि फाइनल प्रवेश पक्का गरेको थियो । कप्तान सलमान आघाले तेस्रो भेटमा भारतलाई हराएर उपाधि जित्न टोली तयार रहेको बताएका छन्।

तर यो भिडन्त केवल क्रिकेटमै भने सीमित छैन। यसै वर्ष भारत–पाकिस्तानबीचको सैनिक तनावले खेलमै असर पारेको छ। खेलाडीहरूले एकआपसमा हात नमिलाउने, मैदानमा तिक्त बोली र उत्तेजक हाउभाउ प्रदर्शन गर्ने जस्ता घटनाले विवाद बढाएको थियो।

यसै कारण आइतबारको फाइनलमा राजनीतिक र भावनात्मक दुवै दबाब जोडिएको छ। कप्तान सूर्यकुमार यादवले भने आफ्नो टोलीले डर नभई योजनामा ध्यान दिने कुरामा जोड दिएका छन्।

सम्भावित टिम र खेलाडीहरूको नजर

भारतका लागि सुपर फोरको अन्तिम खेल नखेलेका जसप्रित बुमराह र शिवम दुबे फाइनलमा फर्किने सम्भावना छ। हार्दिक पाण्ड्या र अभिषेक शर्मालाई हल्का समस्या देखिए पनि फिट हुने अपेक्षा गरिएको छ। पाकिस्तानतर्फ टिममा ठूलो परिवर्तन हुने देखिँदैन।

भारत (सम्भावित ११): अभिषेक शर्मा, शुभमन गिल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, सन्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रित बुमराह।

पाकिस्तान (सम्भावित ११): शाहिबजादा फरहान, फखर जमन, सायम अयुब, हुसैन तलत, मोहम्मद नवाज, सलमान आघा (कप्तान), फहीम अशरफ, मोहम्मद हारिस (विकेटकिपर), शाहिन शाह अफ्रिदी, हारिस राउफ, अबरार अहमद।

मैदान र वातावरण

फाइनल खेल दुबईको सेन्ट्रल पिचमा खेलिनेछ । जहाँ पाँच वर्षमा औसत पहिलो इनिङ स्कोर १५६ रन रहेको छ। यहाँ स्पीन बलरहरूको भूमिका फेरि निर्णायक बन्न सक्ने अनुमान गरिएको छ। ३६ डिग्रीको गर्मीसँगै डियू पनि आउने सम्भावना भएकाले टस महत्त्वपूर्ण हुने देखिन्छ।

एशियन क्रिकेट काउन्सिलले स्टेडियम फुल हाउस हुने अपेक्षा गरेको छ। यसै कारण यो खेल केवल उपाधिका लागि मात्र नभई, क्रिकेटमै लामो समयदेखि प्रतीक्षित भारत–पाकिस्तान फाइनलका रूपमा इतिहासमा अंकित हुने निश्चित छ।

एसिया कप क्रिकेट भारत पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय